Skip to content

महँगी सरकारको नियन्त्रणभन्दा बाहिर, घ्यू तथा तेल उपसमूहको वार्षिक मूल्यवृद्धि १६.४४ प्रतिशत पुग्याे

nabil
global ime
काठमाडौं । महँगीले सरकारी लक्ष्यको सीमा नाघेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा मुद्रास्फीति दर ६ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्ये राखेको थियो ।
तर, चालु आर्थिक वर्षको असोज मसान्तसम्म आउँदा मूल्य वृद्धि सरकारको नियन्त्रण गर्ने लक्ष्येभन्दा माथि पुगेको हो । चालु आर्थिक वर्षको असोज मसान्तसम्म आउँदा मुद्रास्फीति दर ६.६७ प्रतिशत बिन्दुमा पुगेको छ । यसले सरकार महँगी नियन्त्रणमा असफल भएको देखिएको हो ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनले २०८३ असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत रहेको देखाएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.४७ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०४ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.४६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशतले ऋणात्मक रहेको थियो भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८० प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८३/८४ को तीन महिनाको औसत मुद्रास्फीति ६.२२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति १.६७ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १६.४४ प्रतिशत, फलफूलको १५.४६ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको ११.८४ प्रतिशत, माछा तथा मासुको ८.९१ प्रतिशत, मरमसलाको ७.७१ प्रतिशत र तरकारीको ७.२८ प्रतिशतले बढेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२.९७ प्रतिशत, मदिराजन्य पेय पदार्थको ८.८३ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ७.०६ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणको ६.०१ प्रतिशत र सुर्तीजन्य पदार्थको ५.४५ प्रतिशतले बढेको छ ।
समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ६.६३ प्रतिशत र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ६.२८ प्रतिशतले बढेको छ । काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति भने ५.९२ प्रतिशत, तराईको ६.८८ प्रतिशत, पहाडको ६.१४ प्रतिशत र हिमालको ५.५७ प्रतिशत रहेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T