काठमाडौं । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो चार महिनामा नेपालको कुल वैदेशिक व्यापार ३३.३३ प्रतिशतले वृद्धि भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८२/०८३ को सोही अवधिको तुलनामा आयात र निर्यात दुवैमा उल्लेख्य वृद्धि भएको छ । तर, व्यापार घाटा भने थप चुलिएको छ ।
उपलब्ध तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा कुल वैदेशिक व्यापार ९ खर्ब ३७ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो व्यापार ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो ।
यस अवधिमा वस्तु आयात ३१.७७ प्रतिशतले बढेर ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।
त्यस्तै, निर्यातमा ४३.४८ प्रतिशतको वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म १ खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निर्यात ९३ अर्ब ४९ करोड रुपैयाँ रहेको थियो ।
निर्यातमा आयातको तुलनामा उच्च वृद्धि देखिए पनि व्यापार घाटा घट्न सकेको छैन । चार महिनामा व्यापार घाटा २९.६५ प्रतिशतले बढेर ६ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ थियो ।
यद्यपि, वैदेशिक व्यापारमा निर्यातको हिस्सा बढेको छ । कुल व्यापारमा निर्यातको हिस्सा १३.३० प्रतिशतबाट बढेर १४.३१ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ८६.७० प्रतिशतबाट घटेर ८५.६९ प्रतिशतमा झरेको छ ।
त्यसैगरी, आयात–निर्यात अनुपात ६.५२ बाट घटेर ५.९९ मा आएको छ । यसले कुल व्यापारमा निर्यातको हिस्सा केही सुधार भएको देखाए पनि नेपालको वैदेशिक व्यापार अझै आयातमुखी रहेको देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्