काठमाडौं । सरकारले कम्पनी ऐन २०६३ मा संशोधन गर्दै श्रम सेयर जारी गर्ने व्यवस्था गर्न लागेको छ ।
सरकारले लगानी तथा पूर्वाधार सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ मार्फत यस्तो व्यवस्था गर्न लागेको हो ।
कम्पनी ऐन २०६३ को दफा ३१ क र ख पछि नयाँ व्यवस्था गर्न लागेको छ । जसमा श्रम सेयर रहेको छ । ३१क मा श्रम सेयरको व्यवस्था गरेको छ ।
३१ क को १ मा कम्पनीले साधारण सभाको विशेष प्रस्तावबाट स्वीकृत योजनाबमोजिम आफ्नो सञ्चालक, कर्मचारी वा परामर्शदाताले वास्तवमा उपलब्ध गराएको प्राविधिक ज्ञान, बौद्धिक सम्पत्ति सेवा वा श्रमबापत श्रम सेयर जारी गर्न सक्नेछ ।
लाभग्राहीको लिखित सहमति लिनुपर्नेछ र योगदान, प्रतिफल तथा बौद्धिक सम्पत्तिको हस्तान्तरण वा उपयोग अधिकार लिखित सम्झौतामा खुलाउनुपर्नेछ । भविष्यमा उपलब्ध गराउने सेवा वा श्रमको वचनबापत सेयर चुक्ता भएको मानिने छैन ।
त्यस्तो सेवाका लागि सर्त पूरा भएपछि सेयर जारी गर्ने वा दफा ३१ख बमोजिम विकल्प दिने व्यवस्था गर्न सकिनेछ । यस्तै २ मा योगदानको प्रकृतिअनुसार प्रचलित कानूनबमोजिम योग्यता भएको र कम्पनी, लाभग्राही वा सो कारोबारमा आर्थिक स्वार्थ नभएको स्वतन्त्र मूल्याङ्कनकर्ताबाट प्राप्त योगदान र जारी हुने सेयरको मूल्य निर्धारण गराउनुपर्नेछ ।
मूल्याङ्कनको आधार, मिति र प्रतिवेदन साधारण सभामा पेस गर्नुपर्नेछ । वास्तवमा प्राप्त योगदानको मूल्यसम्म र सेयरको अङ्कित मूल्यको हदसम्म मात्र चुक्ता पुँजी मानिनेछ । बढी रकम भए प्रचलित कानूनबमोजिम सेयर प्रिमियममा अभिलेख गर्नुपर्नेछ । कर्मचारीको न्यूनतम पारिश्रमिक वा अन्य अनिवार्य श्रमिक अधिकारलाई श्रम सेयरले प्रतिस्थापन गर्ने छैन ।
यस्तै ३ मा प्रत्येक निष्कासनपछि कायम हुने चुक्ता पुँजीको अङ्कित मूल्यलाई आधार मानी पब्लिक कम्पनीले चालु आर्थिक वर्षमा जारी गरेको श्रम सेयरको अङ्कित मूल्य १५ प्रतिशत र जारी भई कायम रहेको कुल श्रम सेयरको अङ्कित मूल्य २५ प्रतिशतभन्दा बढी हुने गरी निष्कासन गर्न पाउने छैनन् ।
प्राइभेट कम्पनीमा कुल सीमा २० प्रतिशत हुनेछ । प्रचलित कानूनबमोजिम स्टार्टअप उद्यमको मान्यता प्राप्त प्राइभेट कम्पनीमा ४० प्रतिशत हुनेछ ।
यस दफाबमोजिमका श्रम सेयरमा दफा १८ को उपदफा (३ङ) को सट्टा यस उपदफाको सीमा लागू हुनेछ । सो उपदफाबमोजिम जारी अन्य गैरनगद सेयरसमेत जोड्दा यहाँ तोकिएको कुल सीमा नाघ्न पाउने छैन । त्यस्ता अन्य सेयरको आफ्नै सीमा यथावत् रहनेछ। पहिले जारी भएका समान प्रकृतिका सेयरसमेत कुल सीमामा गणना गरिनेछ ।
सीमा नाघेको पुरानो वैध निष्कासन रद्द हुने छैन तर सीमाभित्र नआएसम्म थप निष्कासन गर्न पाइने छैन । बोनस, विभाजन वा एकीकरणको अवस्थामा अंश र आधार समान अनुपातमा समायोजन गर्नुपर्ने छ ।
यस्तै ४मा श्रम सेयर जारी भएको मितिले ३ वर्षसम्म बिक्री, हस्तान्तरण वा धितो राख्न पाइने छैन । मृत्युबाट हकवालामा नामसारी हुँदा बाँकी प्रतिबन्ध अवधि कायम रहनेछ । कानूनबमोजिम गाभिने वा पुनर्संरचना हुँदा प्राप्त प्रतिस्थापन सेयरमा बाँकी अवधि कायम रहने अध्यादेशको मस्यौदामा उल्लेख छ ।
विशेष प्रस्तावमा लाभग्राही योगदान, मूल्याङ्कन, सेयर सङ्ख्या, अङ्कित मूल्य प्रिमियम र कुल तथा वार्षिक सीमाको गणना खुलाउनुपर्नेछ । हित भएको सञ्चालक वा सदस्यले आफ्नो हित खुलाउनुपर्नेछ । आफ्नो प्रत्यक्ष लाभसम्बन्धी निर्णयमा मतदान गर्न पाउने छैन ।
दफा ३१ को उपदफा ४ बमोजिम योगदान प्राप्तिको प्रमाण, मूल्याङ्कन, चुक्ता रकम लाभग्राही र प्रतिबन्धको अभिलेख राख्नुपर्नेछ । झुट्टा विवरण वा बढी मूल्याङ्कनबाट भएको हानिको दायित्व प्रचलित कानूनबमोजिम हुनेछ र अन्य कार्यविधि तोकिएबमोजिम हुनेछ ।
यस्तै ३१ख मा कर्मचारी सेयर स्वामित्व योजना रहेको छ । जसमा कम्पनीले साधारण सभाको विशेष प्रस्तावबाट स्वीकृत स्वैच्छिक योजनाबमोजिम आफ्नो वा सहायक कम्पनीको कर्मचारी र नियमित रोजगारीमा रहेको सञ्चालकलाई तोकिएको मूल्यमा भविष्यमा आफ्नो सेयर खरिद गर्ने विकल्प प्रदान गर्न सक्नेछ ।
स्वतन्त्र वा गैरकार्यकारी सञ्चालक यस प्रयोजनका लागि योग्य हुने छैन । विकल्पको अभिलेखले मात्र सेयरधनीको मताधिकार वा लाभांशको अधिकार सिर्जना गर्ने छैन ।
यस्तै योजनामा योग्य कर्मचारी कुल सेयर सङ्ख्या र पुँजीमा पर्ने प्रभाव, अभ्यास मूल्य वा सो निर्धारणको विधि, सेवा वा कार्यसम्पादनका सर्त विकल्पमा हक स्थापित हुने मिति वा चरण, अभ्यास अवधि, सेवा समाप्ति, मृत्यु वा स्थायी अशक्ततामा हुने व्यवस्था तथा पुनर्संरचनामा समानुपातिक समायोजन खुलाउनुपर्नेछ ।
विकल्पधारीको लिखित सहमति र अधिकारको अभिलेख राख्नुपर्नेछ । स्वीकृत कुल सङ्ख्या बढाउन वा विकल्पधारीको स्थापित हकमा प्रतिकूल हुने परिवर्तन गर्न नयाँ विशेष प्रस्ताव र प्रभावित विकल्पधारीको लिखित सहमति आवश्यक हुनेछ ।
यस्तै विकल्प प्रदान गरेको मितिले कम्तीमा एक वर्ष पूरा नभई अभ्यास गर्न पाइने छैन । सेवा छाड्दा हक स्थापित नभएको विकल्प समाप्त हुनेछ ।
हक स्थापित विकल्प योजना वा सम्झौतामा तोकिएको अवधिभित्र अभ्यास गर्न सकिनेछ । यस्तो अवधि पहिले स्वीकृत अन्तिम अभ्यास मितिभन्दा पछि हुने छैन । मृत्यु वा प्रमाणित स्थायी अशक्ततामा समेत हक स्थापित विकल्प मात्र अभ्यास गर्न सकिनेछ र एक वर्षको न्यूनतम अवधि कायम रहनेछ ।
कम्पनीको पुनर्संरचनाले मूल प्रदान मिति वा स्थापित हक नष्ट गर्ने छैन । यस्तै विकल्प हस्तान्तरण गर्न वा धितो राख्न पाइने छैन । विकल्पधारीको मृत्यु भएमा प्रचलित कानूनबमोजिम हक प्रमाणित भएको हकवालाले उपदफा (३) को अधीनमा रही अभ्यास गर्न सक्नेछ ।
यस्तै संस्थापक वा कम्पनीको दश प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएको व्यक्तिलाई विकल्प प्रदान गर्न पाइने छैन । विकल्प प्रदान गर्ने र अभ्यास गर्ने दुवै मितिमा परीक्षण गरिनेछ । यस प्रयोजनका लागि आफ्नै नाममा वा अर्को व्यक्ति, संस्था वा नियन्त्रणमा रहेको निकायमार्फत वास्तविक हित रहेको प्रत्यक्ष तथा अप्रत्यक्ष स्वामित्व जोडिनेछ र एउटै हित दोहोरो गणना गरिने छैन । संस्थापकको निषेध सेयरधारणको प्रतिशत घटेको आधारमा हट्ने छैन ।
सूचीकृत कम्पनीले धितोपत्रसम्बन्धी प्रचलित कानूनको समेत पालना गर्नुपर्नेछ । विकल्प प्रयोगबाट सेयर जारी गर्दा यस ऐनबमोजिम लागू हुने वर्गगत अधिकार, पुँजी वृद्धि, अभिलेख तथा आवश्यक स्वीकृति पूरा गर्नुपर्नेछ । यस दफाले विदेशी लगानी, विदेशी विनिमय वा क्षेत्रगत नियमनबाट छुट दिने छैन र अन्य कार्यविधि तोकिएबमोजिम हुनेछ ।
सरकारले अध्यादेश मार्फत दफा ३४क थपिएको छ । ३४क मा विदेशी ऋणलाई सेयरमा रूपान्तरण गर्न सकिने उल्लेख छ ।
प्रचलित कानूनबमोजिम स्वीकृति प्राप्त वा अभिलेखीकृत विदेशी ऋणको भुक्तानी हुन बाँकी साँवा वा कानूनबमोजिम आर्जित तथा भुक्तानीयोग्य ब्याज वा दुवै रकमलाई विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी प्रचलित कानूनको अधीनमा रही सेयर पुँजीमा रूपान्तरण गर्न कम्पनीले आवश्यक निर्णय गरी सम्बन्धित ऋणदातालाई शेयर जारी गर्न सक्नेछ ।
ऋणलाई सेयरमा रूपान्तरण गर्दा सम्बन्धित कम्पनी र ऋणदाताबीच लिखित सम्झौता भएको र कम्पनीको प्रबन्धपत्र, नियमावली तथा यस ऐनबमोजिम आवश्यक निर्णय भएको हुनुपर्नेछ ।
यस्तै सेयर जारी गर्दा कम्पनीको अधिकृत तथा जारी पुँजी, विद्यमान सेयरधनीको अधिकार सेयरको वर्ग,निष्कासन बाँडफाँड तथा मूल्य निर्धारणसम्बन्धी यस ऐन र अन्य प्रचलित कानूनको व्यवस्था पालना गर्नुपर्नेछ ।
रूपान्तरणको मूल्याङ्कन र निर्णयमा सम्बन्धित पक्षको स्वार्थ विद्यमान सेयरधनीको हिस्सामा पर्ने असर तथा नयाँ सेयरको वर्गगत अधिकार निर्णयअघि सम्बन्धित सेयरधनीलाई खुलाउनुपर्नेछ । यस व्यवस्थाले कानूनबमोजिम आवश्यक वर्गगत सहमति वा अल्पमत सेयरधनीको उपलब्ध उपचार हटाउने छैन ।
ऋणलाई सेयरमा रूपान्तरण गर्नुअघि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण, विदेशी विनिमय, धितोपत्र वा सम्बन्धित क्षेत्रगत कानूनबमोजिम आवश्यक पर्ने स्वीकृति प्राप्त गर्नुपर्नेछ ।
ऋणलाई सेयरमा रूपान्तरण गर्दा रूपान्तरण गरिने साँवा तथा व्याज रकम प्रयोग हुने विनिमय दर, प्रतिशेयर मूल्य र जारी हुने शेयर सङ्ख्या सम्बन्धित ऋण सम्झौता, प्रचलित कानून तथा अधिकारप्राप्त निकायको स्वीकृतिबमोजिम निर्धारण गर्नुपर्नेछ ।
सेयरमा रूपान्तरण भएको ऋणको हदसम्म कम्पनीको सम्बन्धित ऋण दायित्व समाप्त हुनेछ । त्यसरी जारी गरिएको सेयरको मूल्य ऋण दायित्वको समायोजनबाट चुक्ता भएको मानिनेछ ।
सेयर बाँडफाँड भएको ३० दिनभित्र कम्पनीले ऋण रूपान्तरणसम्बन्धी सम्झौता, आवश्यक निर्णय स्वीकृति, समायोजन गरिएको ऋण तथा ब्याजको विवरण र जारी गरिएको सेयरको विवरण दफा ३१ बमोजिम कार्यालयमा पेश गरी अभिलेखीकरण गराउनुपर्नेछ।
ऋणलाई सेयरमा रूपान्तरण गरेको कारणले मात्र प्रचलित कानूनबमोजिम लाग्ने कर, स्वीकृति वा अभिलेखीकरण तथा अन्य कानुनी दायित्वबाट छुट प्राप्त भएको मानिने छैन ।
ऋणलाई सेयरमा रूपान्तरण गर्ने प्रक्रिया तथा आवश्यक कागजातसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ । अध्यादेश मार्फत दफा ३४क पछि ३४ख र ३४ग थप्ने प्रस्ताव गरिएको छ ।
३४ख मा कम्पनीले आफ्नो प्रबन्धपत्र नियमावली र यस ऐनबमोजिम आवश्यक निर्णय तथा स्वीकृति प्राप्त गरी यस ऐन र सम्बन्धित क्षेत्रगत कानूनको अधीनमा प्राथमिकता सेयरमा रूपान्तरण हुने वित्तीय उपकरण वा कर्मचारी सेयर विकल्प योजना जारी गर्न सक्नेछ ।
कर्मचारी सेयर विकल्प योजनाको हकमा दफा ३१ख बमोजिमको विशेष व्यवस्था लागू हुनेछ । त्यस्तो निष्कासन वा योजनामा मूल्य निर्धारणको आधार, रूपान्तरण वा अधिकार प्रयोग गर्ने अवस्था र अवधि, सेयरको वर्ग, मताधिकार, लाभांश तथा सम्पत्ति वितरणको प्राथमिकता, विद्यमान सेयरधनीको हिस्सामा पर्ने असर र सम्बन्धित पक्षको स्वार्थ निर्णयअघि सम्बन्धित सेयरधनी तथा सहभागीलाई खुलाउनुपर्नेछ ।
कर्मचारी सेयर विकल्प योजनामा अधिकार प्राप्त हुने अवधि, अधिकार प्रयोग गर्ने मूल्य तथा अवधि, सेवा अन्त्य हुँदा प्राप्त वा प्राप्त हुन बाँकी अधिकारको परिणाम र हस्तान्तरणका सर्त स्पष्ट उल्लेख गर्नुपर्नेछ ।
कानूनबमोजिम आवश्यक विशेष प्रस्ताव, वर्गगत सहमति, सार्वजनिक निष्कासनसम्बन्धी स्वीकृति वा अल्पमत सेयरधनीको उपचार हटाउने छैन ।
यस दफाबाट कर छुट वा विदेशी लगानी तथा विदेशी विनिमयसम्बन्धी स्वीकृति स्वतः प्राप्त भएको मानिने छैन । निष्कासन तथा योजनाको अभिलेख, सहभागीलाई सूचना, मूल्याङ्कनको प्रमाण र कार्यालयमा विवरण पेस गर्ने प्रक्रिया तोकिएबमोजिम हुनेछ ।
३४ग मा कम्पनी वा प्रचलित कानूनबमोजिम स्थापित तथा नियमन भएको लगानी कोषले आफ्नो स्वीकृत उद्देश्य र लागू लगानी सीमाभित्र रही होल्डिङ कम्पनी वा आयोजना कम्पनीमार्फत लगानी, सहलगानी तथा धप चरणको लगानी गर्न सक्नेछ।
संरचनामा वास्तविक धनी, नियन्त्रण, व्यवस्थापक वा सम्बन्धित पक्षको स्वार्थ, शुल्क र अन्तर्निहित आर्थिक जोखिम स्पष्ट खुलाउनुपर्नेछ ।
संरचना परिवर्तन वा बीचमा अर्को संस्था स्थापना गरेको कारणले मात्र लागू लगानी सीमा, सम्बन्धित पक्षको कारोबारसम्बन्धी नियन्त्रण वा नियमकीय दायित्व छल्न पाइने छैन । यस ऐनका सहायक कम्पनी तथा लगानीसम्बन्धी सीमा र प्रचलित क्षेत्रगत कानून पालना गर्नुपर्ने छ ।
यस्तै निक्षेप संकलन, सार्वजनिक रुपमा रकम उठाउने, अनुमतिबिना नियमन हुने व्यवसाय सञ्चालन गर्ने वा कर छुट पाउने अधिकार प्रदान गरेको मानिने छैन ।
यस्तै अध्यादेश मार्फत दफा ४२ मा संशोधन गरिने भएको छ । दफा ४२ को उपदफा २ पछि ३, ४ र ५ थपिएका छन् ।
उपदफा ३ मा ऐन तथा प्रचलित कानूनबमोजिम कुनै कम्पनीको सेयर हस्तान्तरण वा सेयर स्वामित्व परिवर्तन भएको कारणले मात्र त्यस्तो कम्पनीको नाममा रहेको सम्पत्ति, इजाजतपत्र, अनुमति, स्वीकृति, करार वा अन्य अधिकार तथा दायित्व सेयर प्राप्त गर्ने व्यक्ति वा निकायमा हस्तान्तरण भएको मानिने छैन ।
सेयर हस्तान्तरणका लागि स्वीकृति आवश्यक पर्ने विषय र सूचना वा अभिलेख अद्यावधिक मात्र गर्नुपर्ने विषय कार्यालयले प्रचलित कानूनअनुरूप स्पष्ट सार्वजनिक गर्नुपर्नेछ । सोही कारोबार र प्रयोजनका लागि सक्षम निकायबाट प्रमाणित भइसकेको विवरण आधिकारिक अभिलेखबाट प्राप्त गर्न सकिने भए पुनः पेस गर्न लगाइने छैन ।
तथ्य परिवर्तन भएको, विवरण बाझिएको वा कानूनबमोजिम थप परीक्षण आवश्यक भएको अवस्थामा कारण खुलाई प्रमाण माग्न सकिनेछ । उपदफा ३ बमोजिम सेयर हस्तान्तरण वा सेयर स्वामित्व परिवर्तन भएको कारणले मात्र सम्बन्धित कम्पनीको कानुनी व्यक्तित्व,निरन्तरता, सम्पत्तिमाथिको स्वामित्व तथा विद्यमान अधिकार र दायित्वमा कुनै परिवर्तन भएको मानिने छैन ।
यस्तै सेयर स्वामित्व वा नियन्त्रण परिवर्तनका सम्बन्धमा प्रचलित कानूनबमोजिम आवश्यक पर्ने स्वीकृति, सूचना, अभिलेख अद्यावधिक, करसम्बन्धी दायित्व, नियामकीय व्यवस्था वा कानूनबमोजिम मान्य करारका सर्तहरू पालना गर्नुपर्ने दायित्व यथावत् रहने मस्यौदामा उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्