Skip to content

हिमतालको जोखिमबाट जोगाउन ‘जिएलओएफ सञ्जीवनी परियोजना’ सञ्चालन गरिने, कति लाग्छ लागत  ? 

nabil
global ime
काठमाडौं । हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको संरक्षण गर्ने उद्देश्यले ४९.९४ मिलियन अमेरिकी डलरको ‘जिएलओएफ सञ्जीवनी परियोजना’ सञ्चालन गर्न लागिएको छ ।
यस परियोजनाका लागि हरित जलवायु कोषबाट ३६.१६ मिलियन अमेरिकी डलर अनुदान, नेपाल सरकारबाट ११.३२ मिलियन अमेरिकी डलर सह–वित्तीय योगदान, युएनडिपीबाट २.१४ मिलियन अमेरिकी डलर र निजी क्षेत्रका साझेदारहरूबाट ०.३२ मिलियन अमेरिकी डलरको योगदान प्राप्त हुनेछ ।
सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुने यस परियोजनाबाट प्रत्यक्ष रूपमा तीन लाख ८५ हजारभन्दा बढी मानिस लाभान्वित हुने परियोजनाले जनाएको छ । जसमध्ये ५५ प्रतिशत महिला छन् । साथै, तल्लो तटीय जलाधार क्षेत्रमा बसोबास गर्ने करिब २० लाख थप मानिसले अप्रत्यक्ष रूपमा सुरक्षा लाभ प्राप्त गर्ने बताइएको छ ।
परियोजनाको आज आयोजित उद्घाटन कार्यशालामा जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव नवीनराज सिंहले परियोजनाको समयमै र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न एकीकृत र सहकार्यमा आधारित दृष्टिकोणलाई प्राथमिकता दिइने बताए । “यस प्रयासअन्तर्गत हामी ‘जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र’लाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्नुका साथै जलविद्युत् विकासकर्ता, व्यापक निजी क्षेत्र र अन्य प्रमुख सरोकारवालासँगको सहकार्यलाई सुदृढ बनाउने लक्ष्य राख्छौँ, ताकि परियोजनाले दिगो र दीर्घकालीन प्रभाव दिन सकोस्,” उनले भने ।
हिमाली क्षेत्रमा तीव्र गतिमा तापक्रम वृद्धि भइरहेको छ, जसले हिमनदी पग्लिने क्रमलाई तीव्र बनाउनुका साथै उच्च हिमाली क्षेत्रमा रहेका तालहरूको विस्तार गरिरहेको छ । यस परिवर्तनले विपद् आएपछि मात्र प्रतिक्रिया जनाउने परम्परागत अभ्यासबाट अघि बढ्दै दीर्घकालीन जोखिम न्यूनीकरणका लागि सक्रिय पहल गर्नुपर्ने राष्ट्रिय आवश्यकतालाई उजागर गरेको छ ।
विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए तापनि नेपालले जलवायु परिवर्तनका गम्भीर असरहरू भोगिरहेको छ । यसको पछिल्लो उदाहरण रसुवा–भोटेकोशी क्षेत्रमा हालै आएका आकस्मिक बाढीहरू देखिएको अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालले बताए। ‘यस संयुक्त पहलमार्फत अर्थ मन्त्रालय ‘जिएलओएफ’ जोखिम न्यूनीकरणका प्रयासहरूलाई व्यापक राष्ट्रिय विकास प्राथमिकता तथा जवाफदेहिताका ढाँचासँग समन्वय गर्दै आफ्ना जिम्मेवारी पूरा गर्न प्रतिबद्ध छ,” उनले भने।
यसैगरी, नेपालका लागि युएनडिपीकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले दुई महिनाअघि रसुवा–भोटेकोशी र गण्डकी जलाधार क्षेत्रमा देखिएका विनाशकारी बाढीहरूले जलवायुसम्बन्धी चरम जोखिमहरू कति छिटो मानवीय र आर्थिक विपत्तिमा परिणत हुन सक्छन् भन्ने स्मरण गराएको उल्लेख गरे।
“यसले हामीलाई एउटा सरल तर महत्त्वपूर्ण सन्देश पनि दिएको छ: अर्को विपद्को प्रतीक्षा गरेर हामी बस्न सक्दैनौँ,” उनले भने, “परियोजनाको सबैभन्दा महत्त्वपूर्ण रणनीतिक मूल्य यही हो । यसले हामीलाई विपद्पछि प्रतिक्रिया जनाउने अवस्थाबाट जोखिमको पूर्वानुमान गर्ने, त्यसलाई न्यूनीकरण गर्ने र विपद् आउनुअघि नै विकासका लगानीहरूको संरक्षण गर्ने दिशामा अघि बढ्ने अवसर प्रदान गर्दछ ।”
हरित जलवायु कोष (जिसिएफ) सचिवालयका जलवायु लगानी प्रमुख बप्पोन फखरुद्दिनले यसलाई विस्तारयोग्य परियोजनाका रूपमा लिनुपर्ने र यसले सीमापार लचिलोपनसम्बन्धी विविध सहकार्यलाई सक्षम बनाउने धारणा व्यक्त गरेका छन् । साथै यसले राष्ट्रिय पारिस्थितिक प्रणालीभित्र जीविकोपार्जन, वित्त, व्यवसाय र साझेदारीका क्षेत्रमा थप व्यापक अवसरहरू सिर्जना गर्ने उनको भनाई थियो ।
परियोजनाको प्रमुख घटकका रूपमा उच्च हिमाली क्षेत्रमा रहेका चारवटा हिमतालको पानीको सतह घटाउने योजना रहेको छ । जसअनुसार डोना, लुम्दिङ छ्यो र तल्लो बरुण हिमतालहरूको पानीको सतह तीन÷तीन मिटर तथा हङ्गु ‘दुई’ हिमतालको पानीको सतह एक मिटरले घटाइनेछ ।
हिमतालको पानीको सतह घटाउने कार्यबाहेक परियोजनाले जलवायु जोखिमसम्बन्धी सूचना तथा योजनालाई सुदृढ बनाउने, जलविज्ञान तथा मौसमसम्बन्धी अनुगमन प्रणाली विस्तार गर्ने र पूर्वसूचना प्रणाली स्थापना तथा सुधार गर्नेछ । साथै, तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम न्यूनीकरण गर्न प्रकृतिमा आधारित समाधान तथा सुरक्षात्मक पूर्वाधारको विकास र कार्यान्वयन पनि गरिनेछ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी धर्मराज उप्रेतीले पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउनु भनेको विज्ञानमा आधारित सूचना जोखिममा रहेका समुदायसम्म पर्याप्त समय अगावै पुर्याउनु भएको बताए ।
“जसले गर्दा जोखिम विपद्मा परिणत हुनुअघि नै उनीहरूले समयमै आवश्यक कदम चाल्न सकुन् । उत्थानशीलता निर्माण गर्न सरकार, विकास साझेदार, निजी क्षेत्र र स्थानीय समुदायलाई एकै ठाउँमा ल्याउने समग्र समाजको दृष्टिकोण आवश्यक छ,” उनले भने, “सामूहिक रूपमा काम गरेर हामी जोखिमलाई उत्थानशीलतामा रूपान्तरण गर्न र सुरक्षित तथा जलवायु परिवर्तनप्रति थप उत्थानशील नेपाल निर्माण गर्न सक्छौँ” ।
जल तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बरालले हिमाली क्षेत्र तीव्र गतिमा परिवर्तन भइरहेका कारण हिमतालहरू ‘टिक टिक’ गरिरहेका टाइम बमजस्तै भएको बताए। “सानो बाँध फुट्दा पनि सयौँ अर्ब डलर बराबरको क्षति हुन सक्छ । त्यसैले उचित सुरक्षा सावधानी अपनाउँदै तथा वातावरणीय र सामाजिक सुरक्षाका मापदण्डहरूको पालना गर्दै हिमतालको पानीको सतह तत्काल घटाउन आवश्यक छ, ताकि यसको कार्यान्वयन अझ प्रभावकारी हुन सकोस्,” उनले भने ।
समुदायस्तरमा स्थानीय सरकार तथा परियोजनाका लागि छनोट गरिएका नगरपालिकाहरूले कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन् । उनीहरूले जोखिममा रहेका समुदायलाई पूर्वसूचनाका आधारमा आवश्यक प्रतिक्रिया जनाउन सहयोग गर्ने बताइएको छ ।
परियोजनाका लक्षित स्थानीय तहमध्ये एक नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले समुदायलाई थप सुरक्षित र उत्थानशील बनाउने महत्त्वपूर्ण अवसरका रूपमा परियोजनाको स्वागत गरे । “यसको कार्यान्वयनमा हाम्रो पूर्ण प्रतिबद्धता तथा योगदान रहनेछ । सूचित भू–उपयोग योजना, गहन अनुसन्धान र स्थानीय समुदायको सक्रिय सहभागितामार्फत यस परियोजनाले सुरक्षित बस्ती सुनिश्चित गर्न, जीविकोपार्जन सुधार गर्न तथा जलविद्युत् र पर्यटन विकासका नयाँ अवसरहरू सिर्जना गर्न सहयोग पु¥याउन सक्छ,” उनले भने।
‘जिएलओएफ सञ्जीवनी परियोजना’ जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत रहेको जल तथा जलस्रोत अनुसन्धान केन्द्रमार्फत कार्यान्वयन हुनेछ । यसमा चुरे तथा जलाधार संरक्षण विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहकार्य रहेको छ । साथै यसका प्रमुख साझेदारहरूमा अर्थ मन्त्रालय, नेपाल पर्यटन बोर्ड र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल पनि रहेका छन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T