काठमाडौं । औद्योगिक क्षेत्रहरूमा आपूर्ति हुने विद्युत्को गुणस्तरमा सुधार नआएपछि उद्योगीहरूले भरपर्दो विकल्पका रूपमा सौर्य ऊर्जा (सोलार) को प्रयोग बढाउन थालेका छन् ।
अघोषित लोडसेडिङ, बारम्बार हुने ट्रिपिङ र भोल्टेजको उतारचढाव (लो–भोल्टेज) का कारण उत्पादन लागत बढ्नुका साथै महँगा मेसिनमा क्षति पुग्न थालेपछि उद्योगीहरूले उद्योग परिसरहरूमा सौर्य ऊर्जा जडान गर्न थालेका हुन् ।
वीरगन्ज–पथलैया, भैरहवा–बुटवल र विराटनगर–इटहरीजस्ता प्रमुख औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगहरूले सौर्य ऊर्जालाई विद्युत्को भरपर्दो विकल्पका रूपमा हेर्न थालेका छन् । सिमेन्ट, स्टिल, प्लास्टिक, टेक्सटाइल, खाद्य प्रशोधनलगायतका उद्योगमा विद्युत् आपूर्तिको अनियमितताले उत्पादन लागत बढाउनुका साथै उद्योग सञ्चालनमै चुनौती थपेको छ ।
उद्योगमा विद्युत् केही समयका लागि अवरुद्ध हुँदा उत्पादन प्रक्रिया प्रभावित हुन्छ । मेसिन बन्द भएपछि पुनः सञ्चालन गर्न समय लाग्ने, उत्पादनका क्रममा प्रयोग भइरहेका कच्चा पदार्थ खेर जाने र निर्धारित समयमा वस्तु उत्पादन गर्न नसकिने समस्या उद्योगीहरूले भोगिरहेका छन् । विद्युत् अभावको विकल्पमा डिजेल जेनेरेटर प्रयोग गर्दा उत्पादन लागत झन् बढ्ने गरेको छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यका अनुसार सरकारले मुलुकमा विद्युत् पर्याप्त रहेको बताउँदै आएपनि सुख्खायाममा उद्योगहरूले आवश्यकताअनुसार विद्युत् पाउन सकेका छैनन् । चैतदेखि असारसम्म औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति अनिश्चित हुने गरेको उनको भनाइ छ ।
‘सरकारले बिजुली फालाफाल छ भनिरहेको हुन्छ । तर, चैतदेखि असारसम्म उद्योगहरूले पर्याप्त मात्रामा विद्युत् नै पाउँदैनन् । यो समयमा कुन बेला विद्युत् कटौती हुन्छ र कुन बेला आउँछ भन्ने थाहा हुँदैन,’ आचार्य भन्छन् ।
उनका अनुसार विद्युत् अभावको समयमा सरकारले घरायसी उपभोक्तालाई प्राथमिकतामा राख्दै उद्योगहरूलाई समय तोकेर विद्युत् उपयोग गर्न निर्देशन दिने गरेको छ । यसले उद्योगको नियमित उत्पादनमा प्रत्यक्ष असर पारिरहेको छ । यही समस्याबाट बच्न भैरहवा–बुटवल, लुम्बिनीलगायतका औद्योगिक क्षेत्रमा ठुला उद्योगहरूले समेत सौर्य ऊर्जा प्रणाली जडान गर्न थालेको उनले बताए ।
आचार्यका अनुसार चालु आर्थिक वर्षमा भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण जलविद्युत् आयोजनाहरूमा क्षति पुगेकाले आगामी सुख्खायाममा विद्युत् आपूर्तिको समस्या थप जटिल हुन सक्ने आशङ्का छ । ‘यो पटकको सुख्खायाममा नेपालमा फेरि घोषित रूपमै लोडसेडिङ हुने हो कि भन्ने चिन्ता छ,’ उनी भन्छन् ।
नेपालको विद्युत् उत्पादन प्रणालीमा नदी प्रवाही जलविद्युत् आयोजनाको हिस्सा ठुलो रहेकाले सुख्खायाममा नदीको बहाव घटेसँगै विद्युत् उत्पादन पनि घट्ने गर्छ । यस्तो अवस्थामा माग धान्न भारतबाट विद्युत् आयात गर्नुपर्ने हुन्छ । आयातमा निर्भर रहनुपर्ने अवस्थाले औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति थप अनिश्चित बनाउने गरेको उद्योगीहरूको भनाइ छ ।
त्यसमाथि उद्योगहरूलाई आवश्यक पर्ने विद्युत् निश्चित परिमाणमा नियमित उपलब्ध गराउने स्थायी व्यवस्था नहुँदा उद्योगीहरू आफैँले वैकल्पिक ऊर्जा प्रणालीमा लगानी गर्नुपर्ने अवस्थामा पुगेका छन् । विद्युतको अनियमितताले उत्पादनमा पार्ने असर कम गर्न र दीर्घकालीन सञ्चालन खर्च घटाउन उद्योगीहरूले सौर्य ऊर्जालाई प्राथमिकता दिन थालेको आचार्यको भनाइ छ ।
‘विद्युतभन्दा सोलारको लागत कम आउँछ र यसबाट उत्पादन हुने वस्तुको लागतसमेत घटाउन सकिन्छ भन्ने हिसाबले उद्योगीहरूले सोलार जडान गरिरहनुभएको छ,’ आचार्य भन्छन् ।
सौर्य ऊर्जाप्रतिको आकर्षण विद्युत् आपूर्तिको अनिश्चिततामा मात्र सीमित छैन । डिजेल जेनेरेटरको तुलनामा वातावरणमैत्री हुनु र सञ्चालन खर्च कम हुनु पनि यसको प्रयोग बढ्नुको मुख्य कारण हो ।
घराना फुड्सका सञ्चालक विकास गोयन्काले पनि आफ्नो उद्योगमा सौर्य ऊर्जा प्रणाली जडान गरेका छन् । उनका अनुसार विद्युत् आपूर्ति अवरुद्ध हुँदा जेनेरेटर चलाउनुपर्ने बाध्यता हुन्छ । तर, डिजेलको मूल्य र खपतका कारण जेनेरेटरबाट उत्पादित विद्युत् महँगो पर्छ । यसले उद्योगको समग्र उत्पादन लागत बढाउँछ ।
‘जेनेरेटरमा डिजेलको प्रयोग बढी हुन्छ । यसले वातावरणमा प्रदूषण पनि गर्छ । त्यसैले सरकारको स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने नीतिलाई प्राथमिकता दिन पनि हामीले सौर्य ऊर्जामा लगानी गरेका हौँ,’ गोयन्का भन्छन् । उनका अनुसार सौर्य ऊर्जाबाट आफैँ विद्युत् उत्पादन गर्दा परम्परागत विद्युत्को तुलनामा लागत कम पर्न सक्छ । साथै, डिजेल जेनेरेटरको प्रयोग घटाउन सकिने भएकाले वातावरणीय दृष्टिकोणले पनि यो उपयुक्त हुन्छ ।
‘विद्युतको दरभन्दा सस्तोमा सोलारबाट आफैँ विद्युत् उत्पादन गर्न सकिन्छ । यसले लागत पनि कम भयो । जेनेरेटरभन्दा वातावरणका लागि पनि राम्रो भयो,’ उनी भन्छन्, ‘क्लिन इनर्जीका लागि उद्योगमा सोलार उपयुक्त लाग्यो ।’
वीरगन्ज क्षेत्रका उद्योगहरूमा पनि सौर्य ऊर्जाको प्रयोग र लगानी बढ्दै गएको छ । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमका अनुसार घाम लागेको समयमा सौर्य ऊर्जाबाट विद्युत् उत्पादन गर्न सकिने भएकाले उद्योगीहरू यसतर्फ आकर्षित भएका हुन् ।
‘घाम लागेको समयमा विद्युतभन्दा सोलार उपयुक्त हुन्छ । त्यसैले यस क्षेत्रमा उद्योगीहरूको चासो बढ्नुका साथै लगानी पनि विस्तार भइरहेको छ,’ गौतम भन्छन् । उनका अनुसार वीरगन्ज क्षेत्रमा उत्पादनमूलक उद्योगहरूले सौर्य ऊर्जाको प्रयोग बढी गर्न थालेका छन् । औषधि उद्योग, दाना उत्पादन उद्योग, चामल उद्योग, रड तथा पेन्ट उद्योगलगायतका क्षेत्रमा सौर्य ऊर्जा प्रणाली जडान गर्ने क्रम बढेको छ । उद्योगको प्रकृति र विद्युत् खपतको आवश्यकताअनुसार लगानीकर्ताले सौर्य ऊर्जा प्रणाली विस्तार गरिरहेका छन् ।
मोरङ उद्योग व्यापार संघका अध्यक्षका अनुसार उक्त क्षेत्रका उद्योगमा पनि सौर्य ऊर्जा जोड्नेको सङ्ख्या बढ्दो छ । नेपाल सौर्य विद्युत् उत्पादक संघका अध्यक्ष भरतकुमार मल्ल पनि पछिल्लो समय बजारमा सौर्य ऊर्जाको माग बढिरहेको बताउँछन् । विद्युतको तुलनामा सौर्य ऊर्जाबाट उत्पादन हुने विद्युतको लागत कम पर्ने र दीर्घकालीन रूपमा लगानीको प्रतिफल प्राप्त गर्न सकिने भएकाले उद्योगीहरू यसतर्फ आकर्षित भएको उनको भनाइ छ ।
मल्लका अनुसार सौर्य ऊर्जा प्रणाली जडान गरेको पाँचदेखि छ वर्षभित्र लगानीको प्रतिफल प्राप्त गर्न सकिन्छ । त्यसपछि लामो समयसम्म प्रणाली सञ्चालन गर्न सकिने भएकाले उद्योगीहरूका लागि यो आर्थिक रूपमा पनि आकर्षक विकल्प बनेको छ । ‘सौर्य ऊर्जामा लगानी गर्दा पाँचदेखि छ वर्षभित्र पेब्याक रिटर्न आउँछ । सौर्य ऊर्जा प्रणाली जडान गरेपछि करिब ३० वर्षसम्म चलाउन सकिन्छ । त्यसैले यसमा लगानी बढिरहेको छ,’ मल्ल भन्छन् ।
सौर्य ऊर्जाको अर्को विशेषता आवश्यकताअनुसार ब्याट्री ब्याकअप प्रणालीमार्फत विद्युत् सञ्चित गरेर राख्न सकिने सुविधा हो । सामान्य सौर्य प्रणालीले घाम लागेको समयमा विद्युत् उत्पादन गर्छ । तर, ब्याट्री जडान गरिएको अवस्थामा उत्पादन भएको अतिरिक्त ऊर्जा सञ्चित गरेर आवश्यक परेको समयमा प्रयोग गर्न सकिने मल्ल बताउँछन् ।
यसले विद्युत् आपूर्ति अवरुद्ध हुँदा पनि उद्योग सञ्चालनमा केही सहजता ल्याउन सक्छ। यद्यपि, ब्याट्री प्रणाली जडान गर्दा प्रारम्भिक लगानी भने थप बढ्ने मल्ल बताउँछन् । ‘ब्याट्री ब्याकअप प्रणालीमार्फत सौर्य ऊर्जालाई सञ्चित गरेर राख्न सकिन्छ । तर, त्यसका लागि लगानीकर्ताले थप खर्च गर्नुपर्ने हुन्छ,’ उनी भन्छन् ।
नेपाल विद्युत् प्राधिकरणले पनि ब्याट्री ब्याकअप प्रणालीमार्फत विद्युत् सञ्चित गर्ने योजनालाई अगाडि बढाइरहेको मल्लको भनाइ छ । यससम्बन्धी योजना सरकारले छिट्टै घोषणा गर्ने तयारी गरेको उनले बताएका छन् ।
उनका अनुसार अहिले विद्युत् जडानका लागि ३० लाखदेखि ६० लाख रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था रहेका उद्योग तथा कम्पनीहरूले समेत सौर्य ऊर्जालाई प्राथमिकतामा राख्न थालेका छन् । उद्योगबाहेक अस्पताल, होटल, स्टिल उद्योगलगायतका क्षेत्रमा पनि यसको प्रयोग विस्तार भइरहेको छ ।
वैकल्पिक ऊर्जा तथा ग्रामीण विद्युतीकरणका लागि चालु आर्थिक वर्ष २०८३/८४ मा सरकारले २ अर्ब २३ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । सरकारले स्वच्छ ऊर्जा प्रवर्द्धन र ग्रामीण विद्युतीकरणका लागि सौर्य पम्प, मिनी ग्रिड र बायोग्यास जस्ता कार्यक्रमको लागि उक्त रकम छुट्टाएको छ ।
प्रतिक्रिया दिनुहोस्