काठमाडौं । नेपाल धितोपत्र बोर्डले आँखुखोला जलविद्युत कम्पनीका अध्यक्ष र सञ्चालकले कानून विपरित बिक्री गरेको ९२ हजार ८०० कित्ता सेयरमा अनुसन्धान सकेर कारबाहीको प्रकृया रोकेर राखेको छ ।
यही बिचमा कम्पनीको आन्तरिक विवाद बाहिरिएको छ । कम्पनीका सञ्चालकले पटक पटक गरेर ९२ हजार ८०० कित्ता सेयर बिक्री गरेका थिए ।
धितोपत्र ऐन, नियमावली तथा निर्देशिकामा भएको व्यवस्था विपरित सेयर बिक्री गर्नेलाई कानूनी दायरमा ल्याउनु पर्नेमा सेबोनले विगत २ वर्षदेखि अध्ययन भइरहेको भन्दै कम्पनीलाई कारबाही नगरी उन्मुक्ती दिन लागेको छ ।
कम्पनीका निवर्तमान अध्यक्ष राम श्रेष्ठ तथा सञ्चालक रामप्रसाद सापकोटा लगायतले बोर्डको कानून विपरीत ९२ हजार ८०० कित्ता सेयर विभिन्न मितिमा बिक्री गरेका छन् । लामो समयसम्म बोर्ड भने अध्ययन भन्दै कानून बिपरीत कारोबार गर्नेका लागि संरक्षण गर्न लागेको हो ।
कम्पनीका सन्चालकलाई सेबोनले जोगाउन लागिरहेको समयमा कम्पनी भित्रको विवाद बाहिर आएको हो । कम्पनीका सन्चालकले लगानी र सुशासनमाथि गम्भिर प्रश्न उठाएका छन् । उनले २ अर्ब रुपैयाँको हकप्रद सेयर जारी गर्ने निर्णय फिर्ता लिन माग गरेका छन् ।
धादिङको रिङ्नेमा रहेको आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको लगानी निर्णय, आर्थिक दायित्व र सञ्चालक समितिको कार्यशैलीलाई लिएर विवाद सार्वजनिक भएको छ ।
कम्पनीका सेयरधनी तथा निर्वाचित सञ्चालक रामप्रसाद सापकोटाले कम्पनीमा सुशासन, पारदर्शिता र सेयरधनीको लगानी संरक्षणको विषय उठाउँदै सञ्चालक समितिका केही निर्णयप्रति गम्भीर असहमति जनाएका हुन् ।
बिहीबार प्रेस वक्तव्य जारी गर्दै सापकोटाले माथिल्लो आँखुखोला जलविद्युत आयोजना (४४ मेगावाट) मा पर्याप्त अध्ययन र छलफलबिना २० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरिएको तथा आफ्नो सहमतिबिना ५ करोड रुपैयाँ भुक्तानी गरेको दाबी गरेका छन् ।
उनले कम्पनीको विद्यमान आर्थिक दायित्वलाई बेवास्ता गर्दै नयाँ आयोजनामा थप लगानी गर्ने निर्णय गर्नु वित्तीय अनुशासन र शेयरधनीको हितविपरीत हुन सक्ने भन्दै आपत्ति जनाए ।
सापकोटाका अनुसार कम्पनीले आँखुखोला–२ जलविद्युत आयोजना तथा गणेश हिमाल लिमिटेडसँगको सेयर खरिदसम्बन्धी सम्झौताअनुसार करिब ८० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । त्यस्तै, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १० देखि १२ करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने र आयोजना निर्माणका क्रममा सिर्जना भएको ४ देखि ५ करोड रुपैयाँसम्मको दायित्वसमेत बाँकी रहेको उनको भनाइ छ ।
यस्तो अवस्थामा नयाँ आयोजनामा थप लगानी गर्नु उचित नहुने उनको तर्क छ । कुनै पनि नयाँ आयोजनामा लगानी गर्नुअघि प्राविधिक, वित्तीय तथा कानुनी अध्ययन,जोखिम विश्लेषण र वित्तीय सम्भाव्यता मूल्याङ्कन गर्नुपर्ने उनको तर्क छ ।
सञ्चालक पदबाट हटाइएको निर्णयप्रति कानुनी प्रश्न:
सापकोटाले कम्पनीको २०८३ असोज ३० गते बसेको सञ्चालक समितिको बैठकबाट आफूलाई सञ्चालक पदबाट हटाइएको निर्णयप्रति समेत आपत्ति प्रकट गर्दै आफू कानुनी प्रक्रियामा जाने बताए ।
उनका अनुसार कम्पनीको २०८३ जेठ ३१ गते सम्पन्न १७औँ तथा १८औँ वार्षिक साधारणसभाबाट उनी ४ वर्षका लागि निर्विरोध सञ्चालक निर्वाचित भएका थिए । तर, आफूलाई बैठकमा सहभागी नगराई सञ्चालक पदबाट हटाउने निर्णय गरिएको भन्दै उनले त्यसको वैधानिकतामाथि प्रश्न उठाए ।
कम्पनी ऐन, २०६३ तथा कम्पनीको प्रबन्धपत्र र नियमावलीअनुसार सञ्चालक नियुक्ति, निर्वाचन र पदमुक्त गर्ने प्रक्रिया पूरा हुनुपर्ने उनको भनाइ छ । यस विषयमा कम्पनी रजिस्ट्रारको कार्यालयमा समेत उजुरी तथा असहमति प्रस्तुत गरिसकेको उनले जानकारी दिए ।
२ अर्बको हकप्रद सेयर जारी गर्ने निर्णय फिर्ता लिन माग
सापकोटाले कम्पनीको अर्को प्रस्तावित वित्तीय योजनामाथि पनि प्रश्न उठाए । एउटा आयोजनाको वित्तीय व्यवस्थापन तथा काम अघि बढाउने प्रक्रिया पूरा नभई अर्को कम्पनीमा लगानी गर्ने उद्देश्यले २ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने निर्णय गरिएको भन्दै उनले उक्त निर्णय फिर्ता लिन माग गरे । उनले पर्याप्त जानकारी र पारदर्शिताबिना सेयर जारी गर्ने निर्णयले आम नागरिक तथा लगानीकर्तालाई भ्रममा पार्न सक्ने भन्दै सेयरधनीलाई वास्तविक वित्तीय अवस्था बुझेर मात्र लगानी गर्न उनले आग्रह गरेका छन् ।
सेयरधनीको लगानी संरक्षण गर्न आग्रह
सापकोटाले कम्पनीका सम्पूर्ण निर्णय पारदर्शी, जवाफदेही र कानुनसम्मत हुनुपर्ने माग गरेका छन् । पर्याप्त प्राविधिक, वित्तीय तथा कानुनी अध्ययनबिना गरिएको भनिएको पाँच करोड रुपैयाँको भुक्तानी फिर्ता गर्नुपर्ने, आफूलाई बैठकमा सहभागी नगराई गरिएका निर्णय पुनरावलोकन तथा खारेज गर्नुपर्ने र २ अर्ब रुपैयाँको हकप्रद सेयर जारी गर्ने निर्णय फिर्ता लिनुपर्ने उनको माग छ ।
उनले यो विवाद व्यक्तिगत पद वा स्वार्थसँग सम्बन्धित नभई कम्पनीको सुशासन, आर्थिक अनुशासन र हजारौँ सेयरधनीको लगानी सुरक्षासँग जोडिएको विषय भएको बताए ।
कम्पनीको सम्पत्ति र सेयरधनीको लगानी संरक्षणका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाउने उल्लेख गर्दै उनले सेयरधनी, लगानीकर्ता, सरोकारवाला तथा स्थानीय सरकारलाई समेत कम्पनीको आर्थिक अवस्था र निर्णय प्रक्रियाबारे चासो राख्न आग्रह गरे ।










प्रतिक्रिया दिनुहोस्