काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । अख्तियार उच्च स्रोतका अनुसार सञ्चार सचिव हुँदा उनले गरेको निर्णयले मुलुकको राज्यकोषमा हानिनोक्सानी पुगेको निचोडसहित मुद्दा दायर गर्ने निर्णय भएको हो ।
‘उहाँलगायत केही सार्वजनिक व्यक्तिहरूमाथि भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय भएको हो,’ अख्तियार स्रोतले भन्यो, ‘तर उच्चपदस्थ अधिकारीहरू जोडिएको र संवेदनशील विषय भएकाले अरू सबै विवरण हामीले गोप्य राखेका छौं ।’ अख्तियार स्रोतका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रकरण र सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्कको स्टिकर खरिद गर्ने निर्णयमा उनको संलग्नता पुष्टि भएको थियो ।
‘ती दुई फाइलको अनुसन्धान करिब–करिब टुंगिएको थियो,’ अख्तियार स्रोतले भन्यो, ‘त्यसैले मुद्दा दायर गर्ने निर्णय भएको हो । विशेष अदालतमा आरोप पत्र दायर हुनासाथ अरू थाहा हुन्छ ।’
प्रतिक्रिया दिनुहोस्