Skip to content
Prabhu

नेपाल राष्ट्र बैंकद्वारा क्रसबोर्डर पेमेन्ट अब ‘रिटेल पेमेन्ट स्विच’मार्फत

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल र भारतबीच अन्तरदेशीय भुक्तानी (क्रस बोर्डर पेमेन्ट) कारोबार ‘रिटेल पेमेन्ट स्वीच’ मार्फत गर्ने व्यवस्था गरेको छ । बिहीबार एकीकृत परिपत्र २०८० संशोधन गर्दै केन्द्रीय बैंकले नेपालबाट भारतमा र भारतबाट नेपालमा अनलाइन प्रयोग गरी विप्रेषण (रेमिट्यान्स) पठाउन र पर्यटकले क्युआर कोडमार्फत नेपालमा वस्तु तथा सेवाको भुक्तानी गर्न सक्ने व्यवस्था गरेको हो ।

गत चैतमा अन्तरदेशीय भुक्तानीका लागि राष्ट्र बैंकले निर्देशन जारी गर्दै नेसनल पेमेन्ट स्वीचको प्रयोग अनिवार्य गरेको थियो । उक्त निर्देशन संशोधन गर्दै केन्द्रीय बैंकले नेसनल पेमेन्ट स्वीच सञ्चालनमा नआएसम्मका लागि त्यसअन्तर्गतको रिटेल पेमेन्ट स्वीच प्रयोग गर्न सक्ने व्यवस्था गरेको हो । नेसनल पेमेन्ट स्विचमार्फत कार्ड र बिनाकार्ड दुवै कारोबार हुन्छ भने रिटेल पमेन्ट स्वीचबाट कार्डबिनाको कारोबार मात्र हुन्छ । सरकारको नेसनल पेमेन्ट स्वीच २०७८ मङ्सिरबाट शुरू भए पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।

यसमार्फत हाल वालेट कम्पनीहरूको कारोबार मात्र भइरहेको छ । निर्देशनअनुसार नेपालमा कार्यरत भारतीय नागरिकले ई–बैंकिङ, अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ र क्यूआर कोडबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको खातामा रकम जम्मा गर्न सक्नेछन् । यस्तो कारोबारका लागि प्रतिदिन १५ हजार र प्रतिमहीना १ लाख रुपैयाँको सीमा तोकिएको छ । यसैगरी भारतबाट पनि क्युआरकोडमार्फत नेपाली बैंक वित्तीय संस्थामा खोलिएको खातामा जम्मा हुने गरी विप्रेषण पठाउन सकिने व्यवस्था छ ।

गतवर्ष जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणका क्रममा नेपाल र भारतबीच क्रशबोर्डर भुक्तानी सेवा सुरु गर्ने सम्झौता भएको थियो । उक्त भ्रमणमा राष्ट्र बैंकको समेत लगानी रहेको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनआईपीएलबीच सम्झौता भएको थियो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal