Skip to content

५ लाख ५० हजार बाख्रामा लगाइयो पिपीआर खोप

nabil bank

मकवानपुर । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भेडाबाख्रामा लाग्ने पिपीआर रोग नियन्त्रण तथा रोकथामका लागि पिपीआर खोप अभियान सञ्चालन गरेको छ । उक्त अभियानअन्तर्गत करिब पाँच लाख बाख्रामा खोप लगाइएको छ । 

यही फागुन १६ गतेदेखि सुरु भएको सप्ताहव्यापी खोप अभियान कार्यक्रमको चौँथो दिन शनिबारसम्ममा पाँच लाख ४९ हजार ८१ बाख्रा जातमा खोप लगाइसकिएको मन्त्रालयका योजना तथा अनुगमन महाशाखाका प्रमुख एवं प्रवक्ता सुजन कँडेलले जानकारी दिए। प्रदेशका सबै जिल्लास्थित पशुसेवा कार्यालय र स्थानीय सरकारसँगको सहकार्यमा खोप केन्द्र सञ्चालन गरिनुका साथै भ्याक्सिनेटरद्वारा अभियान सञ्चालन गरिएको उनले बताए । 

पहिलो दिनको तुलनामा दोस्रो दिनदेखि हजारौं बाख्रामा खोप लगाइएको तथ्याङ्क रहेको छ । बुधबारदेखि सुरु भएको कार्यक्रमअन्तर्गत शनिबारसम्म करिब पाँच लाख बाख्रामा खोप लगाइएको भन्दै  हालसम्म भेडामा खोप नलगाइएको प्रवक्ता कँडेलले बताए । 

प्रदेशको काभ्रेमा ६४ हजार छ सय ८८, ललितपुरमा १२ हजार सात सय ४७, काठमाडौंमा १४ हजार दुई सय ९४, भक्तपुरमा तीन हजार एक सय ४३ बाख्रामा खोप लगाइएको मन्त्रालयले जनाएको छ । दोलखामा ५६ हजार नौ सय ४०, सिन्धुपाल्चोकमा ४३ हजार चार सय नौ, रामेछापमा ४४ हजार पाँच सय २७, सिन्धुलीमा ६४ हजार दुई सय ४२ खोप लगाइएको प्रवक्ता कँडेलले जानकारी दिए।  

उनका अनुसार मकवानपुरमा ७५ हजार छ सय २८, चितवनमा ४० हजार पाँच सय ६३, नुवाकोटमा ५४ हजार पाँच सय सात, रसुवामा सात हजार ३७ र धादिङमा ६३ हजार छ सय २५ बाख्रामा पिपीआर खोप लगाइएको छ ।

नेपालमा पछिल्लो समय पिपीआर रोगका कारण धेरै सङ्ख्यामा भेडाबाख्राको मृत्यु भएको छ । रोगका कारण किसानले ठूलो मात्रामा नोक्सानी व्याहोर्नु परेकाले विगतका वर्ष झैँ यसवर्ष पनि अभियान सञ्चालन गरी खोप लगाइएको कृषि, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशका निर्देशक डा गौरीमान श्रेष्ठले बताए । 

खोप अभियान फागुन २२ गतेसम्म सञ्चालन हुनेछ । ‘करिब १५ लाख भेडाबाख्रामा खोप लगाउने लक्ष्यका साथ काम गरिरहेका छौँ”, निर्देशक श्रेष्ठले भने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime