Skip to content
Prabhu

सर्वोत्तमले अब उत्पादनमुलक कम्पनीलाई बुक बिल्डिङबाट आइपीओ ल्याउने बाटो खोल्योः विष्णु न्यौपाने


व्यवसायिक घराना शौरभ ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक विष्णु न्यौपानेले पहिलो पटक आफ्नो कम्पनी सर्वोत्तम सिमेन्टको सेयर बुक बिल्डिङबाट ल्याउन सफल भए । शौरभ ग्रुप अन्तर्गत निर्माण क्षेत्र र धागोसँग सम्बन्धित ठूला उद्योग सञ्चालनमा छन् । न्यौपानेसँग कम्पनीको योजना र नेपालको लगानीका विषयमा लगानीन्यूजका लागि आशीष ज्ञवालीले गरेको कुराकानीको सम्पादित अंश । 

बहुचर्चित मानिएको सर्वोत्तम सिमेन्टको आइपीओ बुक बिल्डिङ प्रणालीबाट आयो । अब सौरभ ग्रुपको रणनीति के हुन्छ ? अरु भेञ्चरहरुको योजना के छ ?

सर्वोत्तम सिमेन्टको जारी अहिलेको आइपीओबाट उठेको रकमले हाम्रो सम्पूर्ण ऋण चुक्ता भएर पनि हामीसँग पैसा बच्छ । बचेको पैसा झापामा ग्रान्डिङ युनिटमा जान्छ । साथै केही रकमबाट पश्चिममा पनि एउटा ग्रान्डिङ युनिट खरिद गर्ने योजना बनाएका छौँ । यी कम्पनी सर्वोत्तम सिमेन्ट अन्तर्गत कै कम्पनी हुनेछन् । हामीसँग क्लिङकर त जति पनि छ । त्यसैको उपयोग  गर्छौ । भारतमा पनि अल्ट्रा टेक सिमेन्टले पनि चुनढुंगा नजिकै क्लिङकर फ्याक्ट्री बनाउँछ भने बाँकी स्थानमा ग्रान्डिङ उद्योग स्थापना गरेको हुन्छ । त्यस्तै झैँ हामीले पनि विभिन्न स्थानमा ग्रान्डिङ युनिट स्थापना गर्ने योजना बनाएका छौँ । त्यसबाहेक थप क्लिङकर उत्पादनका लागि हामीले धादिङमा खानी लिएका थियौँ । धादिङमा भएको खानीबारे पनि अध्ययन भइरहेको छ ।

बुक बिल्डिङमार्फत आइपिओ जारी गर्ने पहिलो कम्पनी त बन्नुभयो । यो बुझाउनका लागि कति गाह्रो भयो ?

       बुक बिल्डिङबारे बुझाउन त गाह्रो भएको होइन । तर उहाँहरुले नीति नै बनाउनुभएन । त्यसको नियमावली नै राम्रोसँग बनेन वा तयार नै भएन । जसले  बनायो उसले काम गर्न पाएन र नयाँ आएका पनि परम्परागतरुपमै जान खोजेको देखियो । यो त विश्वमा आएको सबैभन्दा राम्रो विधि पो हो त । यही राम्रो विधि भएकै कारणले हाम्रो १० लाख कित्ता शेयर बिक्री भएको हो । फेरि यसको लकिङ पिरियड पनि छैन भने १० प्रतिशत कम मूल्यमा पनि पाएको हुनाले पनि यसलाई सहज भएको हो ।

आइपीओमा बीचमा विवाद पनि देखियो । कसरी सहज रुपमा ल्याउन सफल हुनुभयो ? 

विवादका कारणले प्रक्रिया रोकिएको होइन । मेरो कम्पनीमा आएको विवादका कारणले ढिला पाएको हो भने त हामीभन्दा पहिले रियालन्स स्पिनिङ मिलले सुरुमा पाउनु पर्ने हो नि ।  तर उहाँहरुले धेरै पछि पाउनु भयो । हामीले त सँगै आवेदन दिएको हो ।

सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिलले बुक बिल्डिङ विधिमार्फत आइपीओ जारी गरिसकेपछि पुँजी बजारमा के परिवर्तन ल्याउँछ  भन्ने लाग्छ ?

       अहिले त लक्ष्मी स्टील्स र  जगदम्बा स्पिनिङको आइपीओ बुक बिल्डिङ विधिमार्फत नै ल्याउँछौँ । अब आम लगानीकर्तालाई पनि यो विधिमाथि विश्वास बढेको छ । संस्थागत लगानीकर्तालाई पनि अब आत्मविश्वास बढेको छ । हामीले पुँजी बजारका सम्बन्धमा प्रिमियमभन्दा बुक बिल्डिङ विधि राम्रो हो भनेर बुझाउन सकेका थिएनौँ । अब त्यो समस्या छैन । हामीलाई सहज भएको छ । यसले जनता पनि ठगिने अवस्था हुँदैन । किनभने यसका लागि विभिन्न मापदण्डहरु छन् । जसले गर्दा सबैलाई बुझ्न पनि सजिलो हुन्छ ।

तपाईंहरुको जुन प्रक्षेपित ब्यालेन्स त्यो आगामी दिन सोहीअनुसार आउँछ कि कस्तो आउँछ ?

आजका दिनमा भन्दा राम्रो ब्यालेन्स सिट आउँछ । गत वर्ष हाम्रो पाँच अर्ब ५० करोड रुपैयाँको बिक्री थियो भने यो वर्ष कम्तीमा सात  अर्ब ५० करोड रुपैयाँको बिक्री हुन्छ भन्ने हो । झण्डै २५ प्रतिशत बराबरको बिक्री बढी छ । आजका दिनमा त निर्यात पनि सुरु भएको छ । दोस्रो विषय जनताले पनि विश्वास गरेको अवस्था छ । एउटा कम्पनीप्रतिको विश्वास र अर्को कुनै पनि कम्पनीको आइपीओ नआएकाले पनि धेरै आवेदन परेको हो भन्न सकिन्छ । जनताले बचत गरेको राखेको पैसा लगानी गर्ने मौका पनि पाएका हुन् । सुरुमा हामीले प्रतिकित्ता ७५० रुपैयाँ आउँछ भन्ने थियो तर अहिले तीन सय ६० रुपैयाँ ९० पैसा कायम भएको छ । तर हामीले योभन्दा धेरै राम्रो मूल्य पाउँछ भन्ने लागेको थियो । हामी मज्जाले यो वर्ष नाफामा जान्छौँ ।

पछिल्लो समय निर्माणसँग सम्बन्धित क्षेत्रमा माग कम छ किन त्यस्तो भएको हो ? 

       निर्माण क्षेत्रमा माग घट्नुको कारण ३० देखि ३५ प्रतिशत सिमेन्ट र डण्डीको खपत सरकारी, अर्धसरकारी, जलविद्युत्लगायतका प्रोजेक्टमा हुन्थ्यो । त्यो अहिले निकै कम भएको छ । सरकारले पनि काम गर्न सकेको छैन । निजी क्षेत्रको लगानी पनि कम भएको छ । स्रोत निश्चित भएका आयोजनामा मात्रै काम भएको छ भने अन्य काममा काम हुन सकेको छैन । त्यसबाहेक आम जनतामा पनि आयस्रोत कम भएको, विश्वास कम भएकाले पनि खर्च कम भएको देखिन्छ । सर्वोत्तम सिमेन्टको बिक्री बढ्नुमा निर्यात पनि हो भने झापाको उत्पादन बिक्री थपिएकाले पनि बिक्रीबाट हुने आम्दानी बढेको हो । त्यसबाहेक ब्राण्ड भ्यालु पनि बढेको छ । यसले पनि उपभोक्तामा विश्वास बढेकाले पनि हाम्रो सिमेन्टको आम्दानी बढेको हो । हाम्रो बढे पनि समग्रमा भने बिक्री घटेको छ । 

तपाईं देशको ठूलो औद्योगिक घरनामा पर्नुहुन्छ । अहिलेको अर्थतन्त्रको अवस्थाबाट सकारात्मकतर्फ जान के बढाउनुपर्छ जस्तो लाग्छ ?

       अर्थतन्त्रमा सकारात्मक पक्षहरु पनि छन् । आजका दिनमा एक बिलियन डलरभन्दा बढी रेमिट्यान्स आइरहेको छ । नेपाल राष्ट्र बैंकले नै कूल रेमिट्यान्सको ६० प्रतिशत उपभोग र ४० प्रतिशत बचतमा जान्छ भन्छ । त्यो भनेको करिब ५० अर्ब जति त अर्थतन्त्रमै जाने हो नि । यो आउने वित्तिकै ब्याजदर घट्न सुरु हुन्छ । ब्याजदर घट्ने वित्तिकै माग बढ्न थाल्छ । कर्जा प्रवाह पनि बढ्छ । अहिले ब्याजदरका कारण घर नबनाउने उपभोक्ताहरु सस्तो ब्याजदरमा कर्जा पाएपछि बनाउन थाल्छन् । अर्को विषय विद्युत् उत्पादन पनि बढेको छ भने खपत पनि बढ्न थालेको छ । अहिले गर्मीमा केही पुग्दैन तर अर्को वर्ष पनि विद्युत् आपूर्तिमा समस्या हुँदैन । त्यसबाहेक स्टील्स र सिमेन्ट निर्यात सुरुभइसकेको छ । भारतमा भन्दा हाम्रो कस्ट अफ प्रडक्सन घटिरहेको छ । त्यसको फाइदा नेपाली कम्पनीलाई हुन्छ । अहिले निर्यात सुरु गरेको एक वर्ष मात्रै भएको छ । अब बिस्तारै भारतीय बजारमा नेपाली सिमेन्टको माग बढ्न थाल्छ । अहिलो सर्वोत्तमले मासिक एक लाखदेखि एक लााख २५ हजार बोरासम्म सिमेन्ट भारतीय बजारमा बिक्री गरिरहेका छौ भने आगामी दिनमा मासिक चार लाख बोरा हुने वित्तिकै धेरे फरक पर्छ । सरकारले पनि केही काम गरिरहेको छ । सरकारले पनि निर्माण क्षेत्रमा लगानी गर्न सक्यो भने अर्थतन्त्रमा सकारात्मक  असर पर्छ भने माग बढ्न  सिर्जना हुन्छ । त्यसबाहेक भारत र बंगलादेशमा विद्युत् निर्यातका लागि सहमति भएसँगै लगानी पनि बढेको छ । यसले पनि अर्थतन्त्रका लागि राम्रो हुने देखिएको छ । जलविद्युत् आयोजना निर्माण हुन थालेपछि सिमेन्टको प्रयोग त ह्वात्तै बढ्ने नै भयो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal