धादिङ । यहाँको खनियावास गाउँपालिका–१ झार्लाङमा फौजी किराको प्रकोपले मकैबालीमा क्षति पुर्याएको छ । घोगा लाग्ने बेलाको मकैमा कीराले क्षति पुर्याएपछि किसान चिन्तित बनेका छन् ।
वैशाखको असिना पानीले नगदेबाली भित्र्याउन नपाए पनि मकै राम्रो फल्ने आशामा रहेका किसानलाई फौजी कीराको प्रकोपले थप चिन्तित बनाएको छ । अहिले उनीहरु निरास बनेका छन् । ‘वैशाखको असिना पानीले जौ, गहुँ, केराउ, आलुलगायत बाली नष्ट भयो । अहिले फेरि घोगा लाग्न थालेको मकै फौजी कीराले सखाप पार्दैछ’, झार्लाङका स्थानीय नासुन तामाङले भने, ‘महामारीको चक्रमा त फस्यौँ नै । बाली भित्र्याएर जीविका चलाउँला भन्ने आशा पनि रहेन ।’
खनियावासको उङ्गुल, नेक्सा, याङचेत, च्याङ्थली, फेङ्हुलगायतका करिब एक सय ५० रोपनी जग्गामा लगाएको मकैबालीमा फौजी कीरा लागेको हो । ‘दिनदिनै कीराको प्रकोप बढेको छ । औषधि प्रयोग गरे पनि कीरा नियन्त्रणमा आएको छैन । चिमोट्दै मार्दै गरेका छौँ । तर प्रकोप यसरी आयो कि हामीले नियन्त्रण गर्नै सकेनौँ’, तामाङले भने ।
आसपासका सबै किसानले एकै चोटी विषादी हाले मात्रै फौजी कीरा नियन्त्रण गर्न सकिने खनियावास गाउँपालिकाका कृषि शाखा प्रमुख सुस्मिता तिवारी बताउछिन् । ‘फौजी कीरा नियन्त्रणका लागि इमिडाक्लोरोपिड, इस्पिनोस्याड विषादी प्रयोग गर्न सकिन्छ’, उनले भनिन्, ‘केही दिन अगाडि किसानले हामीलाई जानकारी गराएपछि विषादी दिएर पठाएका थियौँ । थोरै मात्रै क्षति पुर्याएको थियो, सखापै पारेको भए सबै किसानलाई विषादी प्रयोग गर्न लगाउँछौँ ।’
प्रतिक्रिया दिनुहोस्