Skip to content
Prabhu

१५ दिन नबित्दै उप्कियो मन्थली–खिम्ती सडकको कालोपत्र

रामेछाप । मन्थली–खिम्ति सडकअन्तर्गत हालै गरिएको कालोपत्र उप्किन थालेको छ । मन्थली बजारस्थित देवकोटा चोकमा १५ दिनअघि मात्र गरिएको कालोपत्र उत्किसकेको छ । विद्यालय र कार्यालय समयमा दैनिक भीडभाड हुने यस चोकमा भित्ता काटेर सडक विस्तार तथा कालोपत्र गरिएको १५ दिनमा नै कालोपत्र उप्किएको हो ।

त्यहाँ गोलन्जोर कन्स्ट्रक्सनले काम गरेको थियो । असारको समयमा चाँडै काम सकेर भुक्तानी लिन हतार गर्दा समस्या भएको स्थानीय एवं निवर्तमान वडाअध्यक्ष नारायणदास श्रेष्ठले बताए । ‘चाँडै काम सकेर भुक्तानी लिने बहानामा गुणस्तरलाई ध्यान दिइएन छ, त्यसै कारण समस्या भयो । मुख्य चोक (देवकोटा चोक) मै यति धेरै कमसल काम भएपछि अन्य ठाउँको अवस्था के होला ?’, उनले प्रश्न गरे ।

सडकका अन्य ठाउँमा पनि कालोपत्र उप्किएको छ । स्थानीय लालप्रसाद पोखरेलले लिखुतामाकोशी गाउँपालिका–६ को खिम्ती (तल्लो) बजारमा गरिएको कालोपत्रमा पनि उप्किन लागेको जानकारी दिए । त्यहाँ १० मिटरभन्दा बढी सडकको कालोपत्र उप्किसकेको उनले बताए ।
वडाका वडाअध्यक्ष शिवप्रसाद न्यौपानेले आवश्यक मापदण्ड पूरा नगरी हिलो माटोमाथि नै कालोपत्र गरिएकाले चाँडै नै भत्किएको बताए ।

निर्माण कम्पनीलाई भत्किएका ठाउँमा फेरि कालोपत्र गर्न लगाइएको उनले जानकारी दिए । ‘निर्माण व्यवसायीले सडक मर्मतमा गुणस्तरीय काम गर्न गरेन, हिलो माटोमाथि नै कालोपत्र गरिएपछि यस्तो समस्या भयो । काम गरिरहेकै बेला हामीले ध्यानाकर्षण गराएकै थियौँ, अटेर गरेपछि अहिले त्यसको परिणाम देखियो । १५ दिनमै कालोपत्र उप्किनुले चरम लापरवाही प्रष्ट भएको छ,’ उनले भने ।

सडक डिभिजन कार्यालय सिन्धुलीका इन्जिनियर सन्देशराज ढुङ्गेलले निर्माण व्यवसायीले गुणस्तरहीन काम गरेकाले समस्या भएको र आवश्यक परीक्षण गरी चाँडै मर्मतको काम गर्न लगाइने बताए । ‘कालोपत्रको काम गुणस्तरीय र मापदण्डअनुसार नभएकाले यस्तो समस्या आयो, अब चाँडै नै आवश्यक कारबाही अगाडि बढाउँछौँ । व्यवसायीलाई पुनः आवश्यक मापदण्डसहित कालोपत्र गर्न लगाउने तयारी भइरहेको छ’, इन्जिनियर ढुङ्गेलले भने ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal