Skip to content

झापाका ३ स्थानमा स्वचालित पूर्वसूचना प्रणाली जडान

nabil bank
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

झापा । बाढीको उच्च जोखिममा रहेका झापाका तीन स्थानलाई लक्ष्यित गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वचालित पूर्वसूचना प्रणाली (साइरन) जडान गरेको छ ।

कनकाई र विरिङ नदीमा पानीको बहाव बढेसँगै स्वचालित साइरनले जडान गरिएको स्थानबाट करिब दुई किलोमिटर क्षेत्र वरपरका सर्वसाधारणलाई सचेत गराउने प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बताए। उनका अनुसार जिल्लामा बाह्रदशी गाउँपालिका–१ को भागुडुब्बा, झापा गाउँपालिकाको सडकवारि र गौरीगञ्ज गाउँपालिकाको कुञ्जिवारीमा स्वचालित साइरन जडान गरिएको छ । उक्त साइरन स्कुलको छतमा जडान गरिएको छ ।

प्रवक्ता भट्टराईले बहुप्रकोपीय स्थानको अध्ययन अनुसन्धान गरेर रेडक्रस सोसाइटीको सहकार्यमा पूर्व सूचना प्रणाली देशभर जडान गरिएको बताए । बाढीको उच्च जोखिममा रहेका देशभरका ६० स्थानमा परीक्षणका लागि स्वचालित साइरन जडान गरिरहेको उनले बताए ।

‘झापाका धेरै पालिकाहरु बाढीको उच्च जोखिममा छन्’, प्रवक्ता भट्टराईले भने, ‘हामीले अहिले परीक्षणका लागि तीन स्थानमा जडान गरेका छौँ, प्रभावकारी भयो भने पालिका आफैँले खरिद गरेर पनि जडान गर्न सक्छन् ।’ उनले स्वचालित साइरन जडान गर्न करिब रु. सातदेखि आठ लाख खर्च हुने हुँदा पालिका आफैंले पनि खरिद गरेर जडान गर्न सक्ने बताए।

कनकाईमा रहेको वर्षा मापन यन्त्रले जलसतह तीन दशमलव आठ मिटरमाथि पुगेपछि एसएमएस पठाउने गरेको छ, यसैका आधारमा साइरनको आवाजले स्थानीयवासी सूचित हुनेछन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार जलसतह पाँच दशमलव दुई मिटरलाई सतर्कता तह मानिन्छ भने पाँच दशमलव छ मिटरलाई खतराको तह मानिन्छ ।

यसअघि जिल्लाको सबैभन्दा ठूलो नदी कनकाईको तटीय क्षेत्रका कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका गौरीगञ्ज र झापा गाउँपालिका गरी चार पालिकाका १२ वडाका १५ बस्तीमा बाढीको पूर्वसूचना दिन १० वर्षअघि नै मानव परिचालित साइरन जडान गरिएको नेपाल रेडक्रस सोसाइटीका विपद् व्यवस्थापन फोकल पर्सन हरिकृष्ण खड्काले बताए ।

झापा र इलामको सिमाना मैनाचुलीमा जलमापन केन्द्र र गैंडेमा बाढी मापन केन्द्र उपकरण जडान गरिएका छन् । ती केन्द्रले वर्षा र जलसतह मापन गरेर बाढी आउने पूर्व जानकारी मोकाइल र इन्टरनेटबाट स्थानीय समुदायलाई एसएमएसबाट पठाउने गरेका छन् । त्यही एसएमएसका आधारमा गाउँमा साइरन घन्काउने गरिएको उनले बताए ।

यसैगरी, दुई महिनाअघि मात्र निन्दा र विरिङ नदीका पुलमा समेत जल तथा मौसम विज्ञान विभागले बाढीमापन उपकरण जडान गरेको छ । दुवै नदीमा जडान गरिएका उपकरणका लागि वर्षामापन प्रणाली भने बनाउन बाँकी छ ।

यस वर्ष जिल्ला विपद् व्यवस्थापन समितिले करिब आठ हजार नौ सय १९ घरधुरी बाढीका कारण प्रभावित हुने आकलन गरेको छ । जिल्लामा बाढीबाट विस्थापित हुनसक्ने परिवारलाई राख्न सम्बन्धित स्थानका विद्यालय, सामुदायिक भवन, रेडक्रस, स्वास्थ्य चौकीलगायतका दुई सय ५० वटाभन्दा बढी स्थानलाई आकस्मिक आश्रयस्थल तोकिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime