Skip to content

वर्षाले पहिरो जाँदा पुष्पलाल लोकमार्गमा क्षति

बागलुङ । वर्षाका कारण मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पर्ने बागलुङ खण्डको विभिन्न स्थानमा क्षति पुगेको छ । कालोपत्रे सम्पन्न भइसकेको गलकोट र बडिगाड खण्डमा पहिरो खसेको छ ।

बागलुङ बजारदेखि पातिहाल्नेसम्मको एक सय ४२ किलोमिटरमध्ये सबैभन्दा बढी क्षति गलकोट खण्डमा पुगेको छ । असार १५ गते परेको पानीले लोकमार्गको १२ ठाउँमा क्षति पुगेको थियो । उक्त स्थानमा निरन्तर पहिरोले क्षति पुर्‍याएको छ । उक्त सडक अहिले एकतर्फ खुलाइए पनि यात्रा जोखिमपूर्ण रहेको छ । ठाउँठाउँमा खसेको पहिरोले लोकमार्गको कालोपत्र सडक, ग्याविन, पर्खाल र नालीमा क्षति पुर्‍याएको हो ।

कतिपय स्थानमा सडकको कालोपत्रे बगाएको र पहिरोले सडक नै बगाएर क्षति पुर्याएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । आयोजना कार्यालय पर्वतका इञ्जिनियर उज्वल शर्माले गलकोट खण्डमा वर्षाले पहिरो, बाढी र गेग्रान ल्याउँदा ठूलो क्षति भएको जानकारी दिए। उनले क्षतिको विवरण सङ्कलन गर्न प्राविधिकको समूह परिचालन गरिसकेको बताए ।

हटिया बजारदेखि मनेवा पाटासम्मको १५ किमी सडकमा २० वटा साना पहिरो खसेको छ । गलकोट खण्डको गल्याङ, मनेवापाटा, भालुपाइले, बतासे डाँडा र बाँसखोला क्षेत्रमा पनि पहिरो खसेको छ । एकतर्फ सडक खुलाइए पनि उक्त सडकको कालोपत्रे पहिरोले पुरेको छ। काठेखोला गाउँपालिका–६ इनारपानी, बडिगाड गाउँपालिका–२ हाँडीखोलालगायतका स्थानमा पहिरो खसेर लोकमार्गमा क्षति पुर्याएको छ।

बर्षात्ले सडक हिलाम्मे हुँदा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डमा यात्रु सास्ती खेप्न बाध्य छन् । राष्ट्रिय गौरवको आयोजनामध्येको एक मध्यपहाडी लोकमार्ग आयोजनामा कालोपत्र हुन नसक्दा बर्खायाममा हिलाम्मे र सुक्खा याममा धुलाम्मे भएर हिँड्नुपर्ने बाध्यता भएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T