Skip to content
Prabhu

बाढीले जलविद्युत् आयोजनामा क्षति, ४० हजार घरमा सेवा अवरुद्ध

स्याङ्जा । अविरल वर्षासँगै आँधीखोलामा आएको बाढीका कारण आँधीखोला जलविद्युत् आयोजनामा क्षति हुँदा ४० हजार घरमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

जिल्लाको गल्याङस्थित बुटवल पावर कम्पनी (बिपिसी) को आँधीखोला जलविद्युत आयोजनाको बाँधस्थलमा बाढीले क्षति पुर्याएपछि आज बिहानदेखि विद्युत् सेवा अवरुद्ध भएको हो ।

आँधीखोलाको माथिल्लो भेगमा भारी वर्षा भएसँगै आँधीखोलामा पानीको सतह बढ्न गई पानी सङ्कलन पोखरीमा ढुङ्गा, गिटी, बालुवा भरिएको बिपिसीका प्रमुख डोल खरेलले बताए । ‘खोलामा जल सतह बढिरहेकाले अहिले पानी सङ्कलन गरिएको पोखरी सफा गर्न सक्ने अवस्था छैन’, उनले भने, ‘खोलामा पानीको सतह घटेपछि पोखरी सफा गरेर मात्रै टनेलमा पानी पठाउँछौँ र विद्युत् सेवा सञ्चालन हुनेछ ।’

गल्याङस्थित आँधीखोलाबाट उत्पादन भएको ९.४ मेगावाट विद्युत् स्याङ्जाको दक्षिणी भेग, पाल्पाको पूर्वी भेगका रामपुर नगरपालिका, रम्भा गाउँपालिका, गुल्मीको केही भेग र पर्वतको केही भेग गरी करिब ४० हजार घरमा विद्युत् सेवा अवरुद्ध भएको प्रमुख खरेलले जानकारी दिए ।

वालिङ–६ स्थित मिर्दी खोलामा आएको बाढीले मिर्दी बजारनजिकै रहेको वितरण लाइनको पोल बगाएको छ । खोला बढेकाले उपकरणसहित मर्मत गर्न जानसक्ने अवस्था नरहेको उनले बताए।

‘बाढी र पहिराका कारण कहाँ के कति क्षति भएको छ भनी खोजी गरिरहेका छौँ’, खरेलले भने, ‘कार्यालयलाई जानकारी आएका र थाहा पाइएका केही ठाउँमा मर्मत भइसकेका छन् भने केही मर्मत भइरहेका छन् । कतिपय ठाउँमा जलसतह बढी भएकाले मर्मतमा समस्या भइरहेको छ ।’

मर्मतका लागि प्राविधिक र उपकरण तयारी अवस्थामा भएपनि ठाउँठाउँमा सडक अवरुद्ध भएकाले कठिनाइ भइरहेको बिपिसीका प्रमुख खरेलले जानकारी दिए । विद्युत् सेवा अवरुद्ध हुँदा दैनिक काममा समस्या भइरहेको स्थानीय बताउँछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal