Skip to content
Prabhu

नारायणीको बाढी गैँडाकोट बस्तीमा पस्यो, १ सय घर डुबानमा

नवलपरासी । नारायणी नदीको बाढी बस्तीमा पसेको छ । अविरल वर्षापछि आएको बाढी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ को बस्तीमा पसेको हो ।

बाढीका कारण गैँडाकोट–२ बोटेटोलका करिब एक सय घर डुबानमा परेका वडाध्यक्ष प्रकाश सापकोटाले जानकारी दिए । यहाँका करिब चार सय जना प्रभावित भएपछि सुरक्षित स्थानमा सारिएको सापकोटाले बताए । “यहाँ बर्सेनि बाढी पसेर क्षति पुर्याउने गरेको छ’, उनले भने, ‘बाढीबाट प्रभावितहरू छिमेकीको घर तथा सामुदायिक भवनमा बस्नुभएको छ ।’

बाढी प्रभावितलाई खानाका लागि सामूहिक व्यवस्थापनको तयारी भएको सापकोटाले बताए । यसैबीच, नारायणी नदीले खतराको तह पार गरेको छ । नारायणी नदीको देवघाटस्थित जल मापन केन्द्रका अनुसार शनिबार साँझ ७ः३३ बजे नदीमा पानीको सतह १० दशमलव ४० मिटर पुगेको छ । नारायणी नदीको देवघाट मापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि खतरा मानिन्छ ।

नारायणी नदीले खतराको तह पार गरेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए। बाढीबाट गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिकामा प्रभाव पार्ने गरेको छ । विशेषगरी गैंडाकोट नगरपालिकाको वडा नं २, ६ तथा मध्यविन्दु नगरपालिकाको वडा नं २, ३ मा बाढीबाट बढी प्रभावित हुने गरेका प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal