Skip to content
Prabhu

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा दुई बस खसेको घटनाप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकको सिमलतालको पहिरोमा दुईवटा यात्रीवाहक बस परेका खबरले आफू मर्माहत भएको बताएका छन् । सभापति देउवाले आज एक विज्ञप्ति निकालेर त्रिशूली नदीमा आज बिहान दुवै बस खस्दा करिब ६५ जना यात्रीको अवस्था अज्ञात रहेको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरो र डुबानमा परी भएको जनधनको क्षति भएकोप्रति पूर्वप्रधानमन्त्री देउवाले गहिरो दुःख व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले युद्धस्तरमा उद्धार, हराएकाहरूको खोजी, नागरिकलाई सुरक्षितस्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतका कार्यमा सक्रियता साथ लाग्न आग्रह गरेका छन् ।

बाढीपहिरोको जोखिम बढ्नसक्ने अवस्थालाई दृष्टिगत गरेर देशभर सबैलाई सजग भएर त्यसको सामना गर्न आग्रह गर्दै तीनवटै तहका सरकारलाई समन्वय र व्यवस्थित योजना साथ आवश्यक सम्पूर्ण तयारीको कार्य गर्न सभापति देउवाले अनुरोध पनि गरेका छन् ।

स्थानीय पार्टीपङ्क्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन दिँदै सभापति देउवाले पार्टीका साथीहरूलाई व्यवस्थित ढङ्गले प्रभावकारी रूपमा काम गर्न आग्रह गरेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal