Skip to content
Prabhu

भेटिएनन् त्रिशूलीमा बेपत्ता बस, आजका लागि उद्धार स्थगित

चितवन । भरतपुर महानगरपालिका– २९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूलीमा बेपत्ता दुईवटा बसको खोजी आजका लागि स्थगित भएको छ ।

बिहानैबाट त्रिशूलीमा खसेका बस खोजिए पनि साँझसम्म नभेटिएकाले आजलाई स्थगित गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार अब भोलि बिहानबाट मात्रै बेपत्ता बस र यात्रु खोज्न सुरु गरिनेछ ।

“नदीमा पानीको प्रवाह घटेको छैन । रात परेकाले जोखिम हुने भयो, घटनास्थलबाट तीनरचार किलोमिटर तलसम्म खोज्दा पनि भेटिएन”, उनले भने ।

त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एक गरी पाँचवटा मोटरबोट, गोताखोर टोलीलगायत प्रयोग गरिएको थियो ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिराले त्रिशूलीमा बगाएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal