Skip to content
Prabhu

मन्त्री अधिकारीद्वारा कृषि दशकमा लगानी जुटाउनेसम्बन्धी निर्णयमा हस्ताक्षर

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले घोषणा गरेको कृषि दशकमा लगानी जुटाउनेसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा पदवहालीपछि उनले कृषि दशक सफल बनाउन आवश्यक लगानी जुटाउनेसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका हुन् ।

त्यस अवसरमा मन्त्री अधिकारीले कृषि क्षेत्रको विकास भएमा मात्र मुलुकको विकासमा ठूलो सहयोग पुग्ने भएकाले सोहीअनुसार क्रियाशील हुन सम्बद्ध कर्मचारीलाई निर्देशन दिएका छन् । गाउँमात्र नभई खेतीयोग्य तराईका फाँटसमेत बाँझो भएकाले त्यहाँ उत्पादन गराउन मन्त्रालय लागिपर्ने उनको भनाइ छ । ‘सांसद हुनुअघिसम्म आफूले खाने अन्न आफैँ उत्पादन गर्थेँ, गोलभेँडा, धान, मकै, कोदो उत्पादन गर्ने तरिका मलाई पनि थाहा छ । अब हरेक नेपालीलाई आफ्नो खेतीयोग्य जमिनको उपयोग गर्न अभिप्रेरित गर्नुपर्नेछ । यसकार्यमा मन्त्रालयले आवश्यक सहजीकरण गर्नुपर्ने खाँचो छ । हामी सबै मिलेर यसमा काम गर्नुपर्छ’, मन्त्री अधिकारीले भने ।

पदभार ग्रहणका लागि मन्त्रालय जानुअघि उनलाई धर्नामा बसेका कृषि प्राविधिकले आफ्ना समस्याका बारेमा जानकारी गराएका थिए । कर्मचारीका समस्या सुनेपछि मन्त्री अधिकारीले यस विषयमा अध्ययन गरी उपयुक्त निर्णय लिने प्रतिबद्धता व्यक्त गरे। पदभार ग्रहणका क्रममा आयोजित कार्यक्रममा मन्त्रालयका सचिवद्वय डा दीपक खराल र डा राजेन्द्रप्रसाद मिश्रले भए गरेका गतिविधिबारेमा मन्त्री अधिकारीलाई जानकारी गराएका थिए।

प्रजातान्त्रिक आन्दोलनमा लाग्दा पटकपटक जेल परेका अधिकारी नेपाली कांग्रेस धादिङको सभापतिसमेत हुन् । उहाँ विसं २०७९ को संसदीय निर्वाचनमा धादिङ निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको हो । धादिङको सुनौलाबजार नेवारपानीमा विसं २०१८ भदौ १८ गते जन्मिएका अधिकारी २०३६ सालको जनमत सङ्ग्रह, २०४२ को सत्याग्रहमा कांग्रेसका तर्फबाट सक्रिय रूपमा सहभागी भएका थिए। पञ्चायतविरुद्धको आन्दोलन गर्दा उहाँ विसं २०४५ वैशाख ६ गते गिरफ्तार भएका थिए । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि राजनीतिमा थप सक्रिय हुनुभएका उनी आठौँ महाधिवेशनमा पार्टीको जिल्ला सहसचिव निर्वाचित भए।

मन्त्री अधिकारी विसं २०५३ को नवौँ महाधिवेशनमा जिल्ला सभापतिको प्रत्यासी भएका थिए। पछि सभापतिमा निर्वाचित दामन पाख्रिनको विसं २०५४ कात्तिक २६ गते निधन भएपछि अधिकारीलाई नै बाँकी अवधिका लागि जिम्मेवारी दिइएको थियो । पहिलोपटक विसं २०५६ को आमनिर्वाचनमा धादिङ क्षेत्र नं २ बाट सांसद निर्वाचित उहाँ धादिङ कांग्रेसको २०५५, २०५७, २०६२, २०६७ र २०७८ सालमा गरी पाँचपटक सभापति निर्वाचित हुनुभयो । विसं २०६४ र २०७० सालमा भएको संविधानसभा निर्वाचनमा पराजित हुनुभएका अधिकारी २०७९ मङ्सिरको संसदीय निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का खेमप्रसाद लोहनीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal