Skip to content
Prabhu

मोहर्रममा नेपालगञ्ज ताजियाले झिलीमिली

राँझा । मोहर्रम पर्वका अवसरमा नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी चाँदबाबु राहीले करिब ६५ फिट उचाइको ताजिया स्थापना गरेका छन् । यो वर्ष राहीले करिब १ लाख रुपैयाँमा भारतको आलीनगरबाट ताजिया खरिद गरेर ल्याएका हुन् । नेपालगञ्जसम्म ल्याउन ढुवानी र जडान गर्दा करिब ६० हजार रुपैयाँ थप खर्च भएको उनले बताए ।

नेपालगञ्जको गणेशपुर चोकमा पनि विगत सात वर्षदेखि बच्चा राहीको नेतृत्वमा अग्लो ताजिया राख्ने गरिएको छ । यो वर्ष पनि ६० देखि ७० फिटसम्म अग्लो ताजिया राखिएको राहीले बताए। ‘यो हाम्रो परम्परा बनेको छ, सात–आठजनाले पैसा लगाउँछौँ, टोलका सबैजसोले सहयोग गर्नुहुन्छ’, राहीले भने, ‘अग्लो ताजिया ‘फिट’ भएपछि मनमा शान्ति र खुसीयाली हुने गरेको छ ।’

राहीले जस्तै बाँकेका अन्य मुसलमान समुदायका व्यक्तिले पनि आफ्नो गच्छेअनुसारको ताजिया घरमा स्थापना गरेका छन् । चाँदबाबुले केही वर्षयता बाँके जिल्लामै सबैभन्दा अग्लो ताजिया राख्ने होडबाजी गर्दै आएका छन् । राहीले चन्दा अथवा दानबाट नभई आफ्नो निजी रकम खर्च गरेर अग्लो ताजिया राख्ने गरेको बताए ।

बाँकेमा मात्रै रु एक करोडभन्दा बढीका ताजिया राखिएको अनुमान गरिएको छ । मुस्लिम समुदायले घरघरमा स्थापना गरेका ताजिया सामूहिक रूपमा आज घर नजिकै रहेका कर्बलामा विसर्जन गर्छन् । नेपालगञ्जमा मुस्लिम, हिन्दू तथा अन्य जातिले पनि आ–आफ्नो घर अगाडि ताजिया राखेर पूजाआजा गर्ने गर्छन् । मोहर्रमको अन्तिम दिन घरघरमा राखिएका ताजिया बोकेर स्थानीय कर्बलामा पुगी ताजिया सेलाएपछि मोहर्रम सकिन्छ ।

आफ्नो आर्थिक हैसियतअनुसार ताजिया स्थापना गरिने परम्परा भए पनि पछिल्ला केही वर्ष ठूलो ताजिया राख्ने अस्वस्थ प्रतिस्पर्धा देखिएको मौलाना अब्दुल जब्बार मञ्जरीले बताए । उनले सानो–ठूलो जस्तो ताजिया राखे पनि विसर्जन गरिने भएकाले ठूलै राख्नुपर्ने कुनै जरुरी नरहेको बताए।

हिन्दूलगायत अन्य धर्म समुदायले समेत मनाउन थालेपछि मोहर्रम पर्व धार्मिक सद्भावको रूपमा विकसित हुँदै गएको छ । भाकल गरी घरमा स्थापना गरिएको ताजियालाई पूजाअर्चना गर्नाले पारिवारिक सुख, समृृद्धि तथा मनोइच्छा पूरा हुने विश्वास रहेको उनले बताए।

पैगम्बर हजरत मोहम्मदका नातिहरू हजरत इमाम हुुसैन र हजरत इमाम हसनको सम्झनामा मुस्लिम धर्मावलम्बीले १० दिनसम्म विविध कार्यक्रम गरी मोहर्रम मनाउँदै आएका छन् । बाँकेमा बसोबास गर्ने विभिन्न धर्म समुदायले मिलेर धार्मिक सद्भाव र सामाजिक एकताका रूपमा मोहर्रम पर्वलाई मनाइरहेको मोहर्रम तथा कर्बला संरक्षण समिति नेपालगञ्जका महासचिव मोहम्मद हारुन हलवाईले जानकारी दिए । यो पर्व सबैले मिलेर मनाउने तथा सबैले ताजिया ९इमाम हसन र हुसैनको समाधिको प्रतीक० राख्ने हुँदा यसलाई सद्भाव र एकताको पर्व मानिन्छ ।

गए राति घरघरमा राखिएको ताजिया आज जुलुससहित सेलाउने कार्यक्रम रहेको मोहर्रम तथा कर्बला संरक्षण समितिका महासचिव हलवाईले जानकारी दिए । हजरत हुसैन र हसनको सहादतको सम्झनामा अरबी क्यालेण्डरअनुसार मोहर्रम महिनाको पहिलो १० दिन विविध कार्यक्रम गरेर मनाइने यो पर्वमा उहाँहरूकै सम्झनामा कागज र काठबाट बनाइएका ताजिया राख्ने परम्परा छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal