Skip to content
Prabhu

हवाई उडान सामान्य

काठमाडौँ ।  प्रतिकूल मौसमका कारण प्रभावित भएको मुलुकको हवाई उडान अहिले सामान्य रुपमा सञ्चालन भइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार वर्षा रोकिएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सञ्चालन भइरहेको हो । आज अपराह्न काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा हुनुका साथै देशभर आंशिकदेखि सामान्य बदली रहेकाले हवाई उडान केही समय प्रभावित भएको थियो ।

प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ चार र अन्तर्राष्ट्रियतर्फ एक जहाज ‘डाइभर्ट’ भएका प्रवक्ता झाले बताए । उनका अनुसार भारतको मुम्बइबाट काठमाडौँ आएको इण्डिगो एयरलाइन्सको जहाज काठमाडौँ अवतरण गर्न नसकेपछि भारतको लखनऊ डाइभर्ट गरिएको थियो । 

आन्तरिकमा ‘इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) बाट मात्र उडान भएको थियो । अहिले दुवै उडान सामान्य रुपमा सञ्चालन भइरहेका प्रवक्ता झाले जानकारी दिए । 

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँसहित देशका विभिन्न स्थानमा हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

विशेषगरी बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा वर्षा भएको छ । काठमाडौँमा साँझ करिब डेढ घण्टा हल्का वर्षा भएको थियो ।

महाशाखाको पछिल्लो विवरण अनुसार काठमाडौँमा तीन दशमलव छ मिलिमिटर वर्षा भएको छ । पोखरामा सात दशमलव पाँच, घोराहीमा पाँच दशमलव आठ, दीपायल र डडेलधुरामा समान तीन मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal