Skip to content

रसुवामा नयाँ धार्मिक तथा पर्यटकीय गन्तव्य बन्दै ‘बिजिली जोङ्ग’

nabil
global ime
फाइलःफाेटाे

काठमाडौं । धार्मिक महत्त्वको प्राकृतिक सौन्दर्यले भरिपूर्ण रसुवाको नौकुण्ड गाउँपालिका–१ लाङ्बुमा अवस्थित विजिली जोङ्ग (बिजुली ढुङ्गाा) क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा विकसित भइरहेको छ ।

पासाङल्हामु राजमार्गको स्याउबारी–गुम्बुडाँडा–कालिका स्थान हुँदै सहजै पुग्न सकिने उक्त स्थल मौलिक किम्वदन्ती र मनमोहक प्राकृतिक बनोटका कारण चर्चामा आएको हो । उच्च पहाडी तथा हिमाली हावापानी रहेको उक्त क्षेत्रबाट रमणीय लाच्च्र्याङटार लगायत आसपासका दृश्यावलोकन गर्न सकिने छ ।

स्थानीय नौकुण्ड गाउँपालिकाका उपाध्यक्ष चन्द्रबहादुर गलानका अनुसार बिजिली जोङ्ग क्षेत्रको ऐतिहासिक र धार्मिक महत्त्वलाई उजागर गर्दै प्रमुख पर्यटकीय केन्द्रका रूपमा विकास गर्न स्थानीय सरकारले योजनाबद्ध प्रयास गरिरहेको छ । त्यस्ता प्राकृतिक र सांस्कृतिक सम्पदाहरूको संरक्षण र प्रवर्द्धन गर्न सके गाउँपालिकाको आर्थिक विकास र स्थानीय रोजगार सिर्जनामा ठूलो टेवा पुग्ने उपाध्यक्ष गलानले बताए ।

स्थानीय बासिन्दा हीरा लामाले विजिली जोङ्ग केवल ढुङ्गाको ढिस्को मात्र नभई परापूर्व कालदेखि चल्दै आएको आदिवासी संस्कृति, संस्कार र सभ्यताको धरोहर भएको बताए । त्यस क्षेत्रको महिमा र ऐतिहासिक लोककथा तथा धार्मिक मान्यताको संरक्षण गरी उचित प्रचारप्रसार गर्न सके त्यस क्षेत्र देशकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने लामाको भनाइ छ ।

अर्का स्थानीय विनोद लामाका अनुसार पर्यटकीय सम्भावना उच्च भएता पनि त्यस क्षेत्रसम्म पुग्ने पदमार्ग, खानेपानी र अन्य आवश्यक पर्यटकीय पूर्वाधारको अझै अभाव छ । बिजिली जोङ्ग क्षेत्रको विकासका लागि सरकारी निकाय तथा सरोकारवाला पक्षले तत्काल पूर्वाधार निर्माणमा जोड दिनुपर्ने लामाले औँल्याए ।

मार्मिक पौराणिक प्रेमकथा र उत्पत्ति

बिजिली जोङ्गको उत्पत्तिबारे स्थानीयस्तरमा एक मार्मिक जनश्रुति प्रचलित छ । पुर्खौँदेखि सुनिँदै आएको धार्मिक कथनअनुसार प्राचीन समयमा सरमथलीको निर्कुभूमेमा एक सुन्दरी युवती थिइन् । उनको रूपबाट मोहित भई ’जुरेडुङ्गा’ ले विवाहको प्रस्ताव राखेका थिए । ती युवतीले ‘सिप्पुड’ लाई मन पराएकी भएता पनि आमाको आग्रहमा अन्ततः जुरेडुङ्गासँग विवाह गर्न राजी भइन् ।

बाजागाजासहित भव्य रूपमा विवाह सम्पन्न भई दुलही भित्र्याउने क्रममा आकाशबाट ‘बिजिली’ नामक चरा आएर दुलहीको सुनको डोरी चुँडालिदिएको र सोही पल आकाशबाट खसेर दुलही र सम्पूर्ण जन्ती टोली ढुङ्गामा परिणत भएको विश्वास गरिँदै आएको छ । हाल त्यस क्षेत्रमा देखिने बिजिली जोङ्ग र वरपरका अनौठा चट्टान तिनै दुलही र जन्तीका स्वरूप हुन् भन्ने धार्मिक मान्यता रहिआएको छ ।

रहस्यमय प्राकृतिक आकृति र आकर्षण

त्यस पर्यटकीय गन्तव्यको आसपासमा अन्य थुप्रै चाखलाग्दा प्राकृतिक संरचना रहेका छन् । तवु थुडबा (घोडा ढुङ्गा)ः बिजिली जोङ्गको नजिकै रहेको र उक्त ढुङ्गा दुस्तै घोडाको आकारमा रहेको पाइन्छ । लामाङ ढुङ्गा ९देवताको बारी० ः पूर्वतर्फ अवस्थित उक्त स्थानलाई परापूर्व कालमा स्वर्गको बगैँचा मानिन्थ्यो ।

त्यस क्षेत्रको पूर्व दिशामा करिब ६० मिटर गहिरो सुरुङ अहिलेसम्म पूर्ण रूपमा नखोलिएको एउटा लामो र गहिरो रहस्यमय अवस्थामा छ । त्यसले साहसी खोजकर्तालाई आकर्षित गरिरहेको छ । त्यस्तै यहाँ नागको स्वरूप भएको ढुङ्गासमेत छ, जसको वरपर धार्मिक पर्वहरूमा जीवित नाग देखिने जनविश्वास छ । प्राचीन सत्य युगमा देवताले स्थानीय बासिन्दालाई विवाह र व्रतबन्ध जस्ता शुभकार्यका लागि आवश्यक भाँडाकुँडा उपलब्ध गराउने गरेकामा पछि मानिसले समयमै फिर्ता नगरेका कारण उक्त सेवा बन्द भएको किम्वदन्ती समेत जीवन्त छ ।

धार्मिक मान्यता, परम्परा र वार्षिक मेला

बिजिली जोङ्ग क्षेत्रलाई स्थानीय संस्कृतिमा अत्यन्तै पवित्र र संवेदनशीलस्थल मानिन्छ । परम्परागत शुद्धता जोगाउन ढुङ्गामाथि महिला चढ्न निषेध गरिएको छ । वरपर फोहोर गर्न, मासु पोल्न तथा लसुन, सिस्नु र मदिराजन्य पदार्थ लैजान पूर्ण रूपमा बन्देज लगाइएको छ ।

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन यहाँ भव्य परम्परागत मेला लाग्दै आएको छ । औँसी र पूर्णिमाका दिन गाईको दूध चढाएर झाँक्री तथा लामाद्वारा विशेष पूजापाठ गरिन्छ । मेलामा लाङ्बु, आरुखर्क, थाइन्दोर, सिम्बन्दी, यार्सा, लाच्च्र्याङ, सस्र्यु, घिर्मु र बासभञ्ज्याङ लगायतका क्षेत्रबाट स्थानीय बासिन्दा सांस्कृतिक झाँक्री र परम्परागत नृत्यसहित सहभागी हुने अभ्यास छ । गाउँको रक्षा, मनोकाङ्षा पूर्ति तथा रोगव्याधि र बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिबाट बच्नका लागि यहाँ सामूहिक रूपमा देवताको आराधना गरिने स्थानीय बासिन्दा रमेश घले बताउँछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T