Skip to content
Prabhu

काठमाडौंमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौं ।  काठमाडौंलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बागमती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा भइरहेको जानकारी दिइन् । 

काठमाडौंमा पछिल्लो एक घण्टादेखि विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौंको उत्तरी भेग आसपासमा पानी परिरहेको छ । महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा पाल्पाको अर्चलेमा चार दशमलव आठ मिलिमिटर वर्षा भएको छ ।

  मौसमविद कँडेलले भने, ‘अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । केही स्थानमा मात्रै हल्का वर्षा भइरहेको छ । आज राति पनि वर्षाको सम्भावना छ ।’

 भोलि शुक्रबारदेखि देशको पश्चिमभेगबाट मौसम क्रमिक रुपमा सुधार हुँदै जाने उनले उल्लेख गरे । ‘भारी वर्षा र हिमपात हुने सम्भावना छैन, तर, वर्षाले तापक्रम घटेर चिसो बढ्ने भएकाले सतर्कता अपनाउनुपर्ने हुन्छ’, मौसमविद् कँडेलले भने । 

पानी परेपछि एक भारतीय उडान लखनऊ ‘डाइभर्ट’

काठमाडौंको प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन् । आज अपराह्न्न भारतको मुम्बईबाट काठमाडौं आएको इण्डिगो एयरलाइन्सको जहाज काठमाडौँ अवतरण गर्न नसकेपछि भारतको लखनऊ ‘डाइभर्ट’ भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । 

उनका अनुसार आन्तरिकतर्फ भने हवाई उडान सामान्य अवरोध रहेको छ । प्रवक्ता झाले भने, ‘आन्तरिकतर्फ उडान केही ढिलो भए पनि सामान्य छ तर अहिले ‘इन्स्ट्रयुमेन्टल फ्लाइट रुल्स (आइएफआर)बाट  मात्रै उडान भइरहेको छ ।’

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal