Skip to content

प्रदेश सरकारद्वारा इर्खुवाखोला बाढीका मृतक परिवार राहत वितरण

nabil
global ime

भोजपुर । कोशी प्रदेश सरकारले इर्खुवाखोला बाढीबाट मृत्यु भएका मृतक परिवारलाई राहत वितरण गरेको छ । यही साउन १६ गते आएको बाढीले मृत्यु भएका दुई परिवार र बाढीपीडितलाई राहत वितरण गरेको हो ।

बाढीले बगाउँदा इर्खुवाखोला जलविद्युत आयोजनामा काम गर्ने मजदुर श्यामकुमार थारू र रमेश थारूको मृत्यु भएको थियो । प्रदेश सरकारको तर्फबाट तत्काललाई मृतक परिवारलाई रु. एक–एक लाख हस्तान्तरण गरिएको हो । त्यस्तै बाढीपीडित पाँच परिवारलाई चालम, दाल, तेल, नुन, कम्बल र त्रिपाल वितरण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी राज्यमन्त्री सिर्जना राईले जानकारी दिए। यहाँका षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका पीडित परिवारको पूर्ण विवरण आएपछि थप राहत वितरण गरिने उनको भनाइ छ । ‘प्रदेश सरकारको तर्फबाट घटनास्थलको स्थलगत रूपमा अनुगमन गरेर पीडितलाई राहत वितरण गरेका छौँ’, उनले भने, ‘बाढीका कारण मानवीयसँगै निकै ठूलो भौतिक क्षति भएको छ । तत्कालीन रूपमा मृतक परिवार र अन्य पाँच परिवारलाई राहत वितरण गरेका छौँ । थप क्षतिको विवरण आएपछि अन्य परिवारलाई पनि वितरण गछौँ ।’

आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लव अधिकारीसहितको टोलीले साल्पासिलिछो गाउँपालिकाको फेदी भन्ने स्थानसम्म पुगेर बाढीले पुर्याएको क्षतिको विषयमा जानकारी लिएको हो । कोशी प्रदेश सरकारले यथाशीघ्र क्षतिको पूर्ण विवरण मन्त्रालयमा पठाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

बाढीबाट क्षतिग्रस्थ झोलुङ्गे पुल र मोटरेबल पुल पुनःनिर्माण, मर्मत तथा संरक्षणका लागि तत्काल आवश्यक पक्रिया अघि बढाउने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए। प्रदेश सरकारले पीडित परिवारलाई सहज रूपमा घरदैलोमा पुगेर राहत वितरणका लागि मन्त्रिपरिषद्बाट निर्णय गरेर काम अघि बढाएको मुख्यमन्त्री कार्कीको भनाइ छ ।

बढीबाट क्षति पुगेका पुलहरूको पुनःनिर्माण तथा मर्मत गरी चाँडो जनतालाई सेवा प्रदान गर्न प्रदेश सरकार गम्भीर रहेको उहाँले बताउनुभयो । थुम्लुङखोलाबाट सुरु भएको इर्खुवाखोला बाढीले निर्माणाधीन नागदह पक्की पुल, निर्माणको अन्तिम चरणमा पुगेको तामुटार पक्की पुल, गौडेनी पक्की पुल, टावुटार झोलुङ्गे पुल, गोथेबजार झोलुङ्गे पुल, नागदह झोलुङ्गे पुल, दोभाने झोलुङ्गे पुल र वागवालुङ झोलुङ्गे पुलमा क्षति पुगेको साल्पासिलिछो गाउँपालिका अध्यक्ष दौलथ कुलुङले जानकारी दिए । त्यस्तै बाढीले इर्खुवाखोला जलविद्युत आयोजनामा पूर्ण क्षति पुगेको उनको भनाइ छ । त्योसँगै अन्य तीनवटा हाइड्रोपावर र खोला किनारका बस्तीमा क्षति पुगेको अध्यक्ष कुलुङले बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima