Skip to content
Prabhu

३६२ प्रतिशतले बढ्यो मेरो माइक्रोफाइनान्सको नाफा

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा ३६२ प्रतिशतले नाफा वृद्धि गरेको छ । संस्थाले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ३६२.५९ प्रतिशतले दुख नाफा बढेको हो ।

गत आवमा लघुवित्तले २१ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ७४ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको कमाएको थियो । खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १४.०६ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ३०.८८ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी १५.८४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३५२.७४ प्रतिशत बढेको छ ।

लघुवित्तको खराब कर्जा समीक्षा अवधिमा ५.८४ प्रतिशतबाट बढेर ७.६८ प्रतिशत पुगेको छ । यद्यपि, लघुवित्तको इम्पेरमेन्ट चार्ज भने १२ करोड ५४ लाख रुपैयाँबाट घटेर १ करोड ९४ लाख रुपैयाँमा झरेको छ । जसका कारण लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १३ रुपैयाँ ४ पैसा बढेर १६ रुपैयाँ ६३ पैसा पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ५३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.०८ गुणा रहेको छ । लघुवित्तले सो अवधिसम्ममा १९ करोड ६२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ । त्यस्तै, लघुवित्तको वितरणयोग्य प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८७ पैसा रहेको छ ।

१ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ७९ करोड ८९ लाख रुपैयाँ सञ्चित छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal