Skip to content

इलामका दुई सामुदायिक वन रेडपाण्डा संरक्षण क्षेत्र घोषणा

nabil bank

इलाम । दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) संरक्षणका लागि इलामको दुई वटा सामुदायिक वन क्षेत्रलाई रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरिएको छ । इलाम नगरपालिकाले वडा नं ३ पाटेनागीस्थित पुवामाई सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रभित्रको एक सय १६ दशमलव २१ हेक्टर वन क्षेत्रलाई ‘पुवामझुवा सामुदायिक रेडपाण्डा संरक्षण क्षेत्र’ घोषणा गरेको हो ।

अन्तर्राष्ट्रिय भूसंरक्षण दिवसको अवसरमा आज पाटेनागीमा घोषणा कार्यक्रम आयोजना गरी इलाम नगर प्रमुख केदार थापाले पुवामाई सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वनलाई सामुदायिक रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरेका हुन् । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, नेपाली सेनाको रणशार्दूल गण इलामका प्रमुख सेनानी प्रल्हाद घले, नेपाल प्रहरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकाल, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक प्रदीप खड्का, डिभिजन वन कार्यालय इलाम प्रमुख दानबहादुर श्रेष्ठसहित सामुदायिक वन, स्थानीय पर्यटन व्यवसायी र पत्रकारको उपस्थितिमा प्रमुख थापाले सामुदायिक रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख थापाले डिभिजन वन कार्यालय इलाम र रेडपाण्डा नेटवर्कसँगको सहकार्यमा स्थानीय सरकारद्वारा घोषणा गरिएको रेडपाण्डा संरक्षण क्षेत्र नेपालकै पहिलो संरक्षण क्षेत्र रहेको दाबी गरे । उनले वन ऐन, २०७८ बमोजिम पुवामझुवा सामुदायिक रेडपाण्डा संरक्षण तथा व्यवस्थापन कार्यविधी, २०८० तर्जुमा गरी रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरिएको बताए ।

दुर्लभ वन्यजन्तु रेडपाण्डाको वासस्थान विनाश र विखण्डन जस्ता खतराबाट जोगाउन तथा रेडपाण्डाको लागि सुरक्षित वासस्थान प्रदान गर्नका लागि संरक्षण क्षेत्र घोषणा गरिएको नगर प्रमुख थापाले बताए । ‘रेडपाण्डाको वासस्थान विनास र विखण्डनजस्ता खतराबाट जोगाउन निश्चित वन क्षेत्रलाई सामुदायिक रेडपाण्डा क्षेत्र घोषणा गरिएको छ’, प्रमुख थापाले भने, ‘यसले रेडपाण्डाको संरक्षण गरी पर्यापर्यटन गन्तव्य कायम गर्दै स्थानीय बासिन्दाको जीविकोपार्जनमा टेवा पु¥याउने विश्वास राखिएको छ ।’ उनले आगामी दिनमा इलाम नगरपालिकाले रेडपाण्डा संरक्षणका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

डिभिजन वन कार्यालय इलामका प्रमुख दानबहादुर श्रेष्ठले रेडपाण्डा संरक्षणले जैविक विविधतालाई संरक्षण गर्नुका साथै पर्यापर्यटनसँग जोडेर स्थानीय जनताहरुको जीविकोपार्जन तथा आर्थिक उपार्जनलाई मदत गर्ने विश्वास व्यक्त गरे । कार्यक्रमका वक्ताहरूले संरक्षण क्षेत्रले रेडपाण्डाका अतिरिक्त समग्र पारिस्थितिक प्रणालीको संरक्षण गर्ने कार्यमा सहयोग पु¥याउने विश्वास व्यक्त गरेका थिए । स्थानीय भाषामा हाब्रेको नामले चिनिने गरेको यो बिरालो जस्तै हुन्छ । तर रङ कालो, रातो र सेतो मिसिएको हुन्छ । पुच्छर ठूलो र लामो हुन्छ । पोथी रेडपाण्डाको तौल तीनदेखि चार किलोसम्म हुन्छ भने भाले रेडपाण्डाको तौल छ किलोसम्म हुने रेडपाण्डा नेटवर्कले जनाएको छ ।

समुन्द्री सतहको एक हजार छ सय मिटरदेखि दुई हजार चार सय मिटरसम्म यसको बासस्थान उपयुक्त मानिन्छ । रेडपाण्डा इलाम नगरपालिका–३ को पाटेनागीसहित सन्दकपुर गाउँपालिकाको माबु दोभाने, जमुना चोयाटार, माईजोगमाई गाउँपालिकाको प्याङ पातल सामुदायिक वन, जोगमाइ माथिल्लो सामुदायिक वनलगायतमा पाइने गरिएको छ ।

रेडपाण्डाको प्रमुख आहारा मालिङ्गो र भालुचिण्डे हो । माथिल्लो क्षेत्रमा मालिङ्गो र भालुचिण्डे पाइने भएकाले रेडपाण्डाको रोजाइमा त्यही क्षेत्र परेको छ । रेडपाण्डा संरक्षणका इलामको सन्दकपुर गाउँलिकामा रेडपाण्डा सम्बन्धी पढाइ नै हुँदै आएको छ । स्थानीय पाठ्यक्रम नै बनाएर सन्दकपुरका सामुदायिक र संस्थागत विद्यालयमा रेडपाण्डा पढाइ थालिएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi