Skip to content
Prabhu

१ वर्षमा साढे १४ अर्बको बीमा पोलिसी सरेन्डर, अघिल्लो वर्षभन्दा साढे ८ प्रतिशतले बढ्यो

काठमाडौं । नेपालमा गत आर्थिक वर्षमा साढे १४ अर्बभन्दा बढीको बीमा पोलिसी सरेन्डर भएको छ। बीमा प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा १४ अर्ब ५० करोड १२ लाख ७७ हजार रुपैयाँको बीमा पोलिसी सरेन्डर भएको हो ।

अघिल्लो आर्थिक वर्षमा १३ अर्ब ३४ करोड ३३ लाख ७१ हजार रुपैयाँको बीमा पोलिसी सरेन्डर भएको थियो । प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा साढे ८ प्रतिशतभन्दा बढी पोलिसी सरेन्डर भएका छन् । गत आर्थिक वर्षमा अघिल्लो आवको भन्दा ८.६७ प्रतिशतले पोलिसी सरेन्डर दरमा वृद्धि भएको हो ।

प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा रकम सरेन्डर ८.६७ प्रतिशतले बढ्दा सरेन्डर गर्नेको संख्यामा १७.५७ प्रतिशतको वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म ९६ हजार ९३८ बीमा पोलिसी सरेन्डर भएका थिए भने गत आर्थिक वर्षमा त्यो संख्या १ लाख १३ हजार ९७६ पुगेको छ । सरेन्डर गर्नेमा गत आर्थिक वर्षमा रकम र संख्या दुवैमा वृद्धि भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको तथ्यांकअनुसार गत आवमा १४ वटा बीमा कम्पनीमध्ये सबैभन्दा धेरै पोलिसी सरेन्डर नेपाल लाइफ इन्स्योरेन्सको भएको छ भने सबैभन्दा कम सन नेपाल लाइफको रहेको छ । गत आवमा नेपाल लाइफका बिमितले ४ अर्ब ४१ करोड ३९ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् । यो अवधिमा २८ हजार ६२७ वटा बीमालेख सरेन्डर भएका छन् । सोही अवधिमा सन नेपाल लाइफका बीमितले ६ करोड ६२ लाख रुपैयाँ बराबरका ६८२ वटा बीमालेख सरेन्डर गरेका छन् ।

प्राधिकरणको तथ्यांकअनुसार लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) का बिमितले पनि ४ अर्बभन्दा बढी रकमको पोलिसी सरेन्डर गरेका छन् । यो कम्पनीका ३० हजार ३०९ बीमा लेखबापत ४ अर्ब ३० करोड ३७ लाख रुपैयाँ बढीको पोलिसी सरेन्डर भएको छ । गत आर्थिक वर्षमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको १३ हजार ९४१ वटा बीमालेखबापत १ अर्ब १० करोड ४८ लाख ८२ हजार रुपैयाँको पोलिसी सरेन्डर भएको छ ।

बीमा प्राधिकरणको तथ्यांकअनुसार नेसनल लाइफ इन्स्योरेन्सको १ अर्ब १ करोड ८० रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ । यो कम्पनीको ७ हजार ५०० बीमालेख सरेन्डर भएका छन् । प्राधिकरणको तथ्यांकअनुसार गत आवको असार मसान्तसम्म हिमालयन लाइफ इन्स्योरेन्सको ७ हजार ८१० बीमा लेखमार्फत १ अर्ब २ करोड ९५ लाख रुपैयाँ सरेन्डर भएको छ । त्यस्तै एसियन लाइफ इन्स्योरेन्सको ७ हजार १७१ बीमालेख सरेन्डर हुँदा ५५ करोड ६३ लाख रुपैयाँ सरेन्डर भएको छ ।

त्यस्तै गत आवमा मेट लाइफको ४ हजार १०३ बीमालेखबापत ४३ करोड २८ लाख रुपैयाँ, आईएमई लाइफ इन्स्योरेन्सको १ हजार ४२५ बीमा लेखबापत १३ करोड ६६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको १ हजार ४७४ बीमा लेखबापत ९ करोड ४ लाख, सिटिजन लाइफको २ हजार ६५१ बीमा लेखबापत १७ करोड ३३ लाख रुपैयाँ र सूर्याज्योति लाइफको ५ हजार २७४ बीमा लेखबापत ७१ करोड ४१ लाख ३३ हजार रुपैयाँ सरेन्डर भएको छ ।

प्राधिकरणको तथ्यांकअनुसार सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १ हजार ७२८ बीमा लेखबापत २४ करोड ८६ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफको १ हजार २८१ बीमालेखबापत २१ करोड २६ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ ।

पछिल्लो समय बीमा पोलिसी सरेन्डर हुनुको मुख्य कारणका रुपमा आर्थिक संकट रहेको प्राधिकरणका कर्मचारीहरुको भनाइ छ । हाल प्राधिकरणद्वारा जारी निर्देशिका अनुसार बिमितले ३ वर्षसम्म पोलिसी सरेन्डर गर्न पाउँदैनन् । उक्त निर्देशिका जारी हुनुभन्दा अघि भने बीमितले बीमालेख खरिद गरेको १ वर्षपछि बीमालेख त्याग गर्न सक्ने व्यवस्था रहेको थियो ।

जीवन बीमा गरेर अवधि नपुग्दै बीचमै पोलिसी रोक्नु नै पोलिसी सरेन्डर हो । तोकिएको अवधिका लागि खरिद गरेको पोलिसी परिपक्व हुन नपाई पोलिसी बन्द गर्दा सरेन्डर हुने गर्छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal