काठमाडौं । गत आर्थिक वर्षमा बैंकहरुको ब्याजदर २.३७ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकबाट प्रवाह भएको कर्जाको औसत ब्याजदर २.३७ बिन्दुले कम भएको हो ।
केन्द्रीय बैंकले आइतबार प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार वाणिज्य बैंकहरुले प्रवाह गरेको कर्जाको ब्याजदर एक वर्षमा १२.३० बाट घटेर ९.९३ प्रतिशत कायम भएको हो ।
यसैगरी विकास बैंकबाट प्रवाह भएका कर्जाको औसत ब्याजदर १४.१ प्रतिशतबाट ११.३४ प्रतिशत र वित्त कम्पनीबाट प्रवाह भएका कर्जाको औसत ब्याजदर १४.८२ प्रतिशतबाट १२.५५ प्रतिशत कायम भएको छ ।
एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.०३ प्रतिशतबाट घटेर ८ प्रतिशत कायम भएको छ । यसैगरी २०८० असारमा विकास बैंकहरुको औसत आधार दर १२.१५ प्रतिशत र वित्त कम्पनीहरुको १३.४१ प्रतिशत रहेकोमा २०८१ असारमा उनीहरुको औसत आधार दर क्रमशः ९.७१ प्रतिशत र ११.२१ प्रतिशत कायम भएको छ ।
कर्जाको ब्याजदर घट्दा निक्षेपको ब्याजदरमा पनि भारी गिरावट आएको छ । २०८० असारमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.८६ प्रतिशत, विकास बैंकहरुको ९.१४ प्रतिशत र वित्त कम्पनीहरुको ९.७९ प्रतिशत रहेकोमा २०८१ असारमा निक्षेपको भारित औसत ब्याजदर क्रमशः ५.७७ प्रतिशत, ६.६३ प्रतिशत र ७.९३ प्रतिशत कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्