Skip to content
Prabhu

धान रोपाइँ करिब शतप्रतिशत सकियो, उत्पादन बढ्ने अपेक्षा

काठमाडौं । यसवर्षको धान रोपाइँ लगभग सकिएको छ । अब केही ठाउँमा मात्रै रोपाइँ बाँकी रहेको कृषि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यसवर्ष समयमै भएको वर्षा र रासायनियक मलको उपलब्धताले धान रोपाइँको क्षेत्रफल बढेको बताएको हो ।

कुल रोपाइँ हुने क्षेत्रफलको ९९ प्रतिशतभन्दा धेरै रोपाइँ भइसकेको छ  । देशभर १३ लाख ९८ हजार ९ सय हेक्टरमा रोपाइँ हुने गरेकोमा यसवर्ष हिजोसम्म १३ लाख ७७ हजार २ सय हेक्टरमा रोपाइँ भएको छ । गएको वर्षको तुलनामा ६ प्रतिशत बढी रोपाइँ भएको कृषि विकास मन्त्रालयले जनाएको छ ।

रोपाइँ हुने क्षेत्रफल बढेसँगै यस वर्ष धानको उत्पादन बढ्ने अपेक्षा गरिएको छ । मन्त्रालयका अनुसार सुदूरपश्चिममा १ लाख ७४ हजार ५ सय ७६ हेक्टरमा धान रोपाइँ हुने गरेकोमा शतप्रतिशत रोपाइँ भएको छ । कर्णालीमा ४१ हजार ९ सय ४ हेक्टरमा रोपाइँ हुने गरेकोमा ९९ प्रतिशत भइसकेको छ ।

मधेशमा ३ लाख ८६ हजार १ सय ५० हेक्टरमा धान खेती हुने गरेकोमा यस वर्ष ९७ प्रतिशत रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा ३ लाख ११ हजार ६ सय ४३ हेक्टरमा रोपाइँ हुने गरेकोमा ९८ प्रतिशत रोपाइँ सकिएको छ । कोशीमा २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमा रोपाइँ हुने गरेकोमा ९९ प्रतिशत भइसकेको छ ।

बाग्मतीमा १ लाख १२ हजार २ सय ७३ हेक्टरमा रोपाइँ हुने गरेकोमा ९९ प्रतिशत रोपाइँ सकिएको छ । गण्डकीमा ९६ हजार ५३ हेक्टरमा रोपाइँ हुने गरेकोमा ९८ प्रतिशत भइसकेको छ । कृषि मन्त्रालयका अनुसार करिब ६२ प्रतिशत परिवारको मुख्य पेशा कृषि रहेको छ र कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal