Skip to content
Prabhu

धमाधम सेयर बिक्री गर्दै नेपाल रि इन्स्योरेन्सका संस्थापकहरू

काठमाडौं । नेपाल रि इन्स्योरेन्सका संस्थापक सेयरधनीहरुले पछिल्लो समय आफ्नो नाममा रहेको सेयर बिक्री गर्न थालेका छन् । कम्पनीमा पब्लिकसहित २० वटा संस्थापक सेयरधीनी कम्पनी/ग्रुपमध्ये अहिलेसम्म ९ वटा कम्पनीले आफ्नो नाममा रहेको सेयर बिक्री गरेका हुन् ।

संस्थापक सेयरधनीहरुमा अहिलेसम्म सबैभन्दा धेरैपटक विशाल ग्रुपको संस्थापक सेयर बिक्री भएको नेपाल रि इन्स्योरेन्सले जनाएको छ । नेपाल रिको तथ्यांकअनुसार अहिलेसम्म विशाल ग्रुपले दुईपटक आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गरिसकेको छ भने तेस्रोपटक यो ग्रुपको नाममा रहेको ७ लाख कित्ता संस्थापक सेयर बिक्री खुल्ला गरेको छ ।

विशाल ग्रुपले २ पटक गरेर २१ लाख कित्ता आफ्नो नामको सेयर बिक्री गरिसकेको नेपाल रिका कम्पनी सचिव इश्वर प्रधानले जानकारी दिए । अहिले कम्पनीको ७ लाख कित्ता सेयर बिक्रीका लागि असोज ७ गतेसम्मको समय रहेको छ । सुरुमा विशाल ग्रुपले नेपाल रि इन्स्योरेन्सको ३८ लाख ७४ हजार ३ सय ४० कित्ता सेयर लिएको थियो ।

विशाल ग्रुपको यो सेयर बिक्री भएसँग उसको नाममा १० लाख कित्ता सेयर मात्रै बाँकी रहने छ । नेपाल रिमा विशाल ग्रुपको ३.०२३ प्रतिशत सेयर रहेको थियो । नेपाल रि इन्स्योरेन्समा सरकारको ४४.०३९ प्रतिशतसहित ८४ प्रतिशत प्रमोटर सेयर रहेको छ । त्यस्तै आम सर्वसाधारणको सेयर १६ प्रतिशत सेयर रहेको छ । सरकारी स्वामित्वको कम्पनीबाट पछिल्लो समय निजी क्षेत्रका संस्थापकहरु धमधम बाहिरी रहेका हुन् । कम्पनीले लगातार रुपमा लाभांश घटाउँदै गएका कारण संस्थापहरुले सेयर बिक्री गर्न थालेको बुझिएको छ ।

कम्पनीको ९औँ वार्षिक साधारणसभाभन्दा अघिसम्म ८ वटा कम्पनीको १ करोड ३७ लाख १९ हजार ७२८ कित्ता सेयर बिक्री भइसकेको छ । यो २०८१ साल जेठ १७ गतेभन्दा पहिलेको विवरण हो । कम्पनीको ९ औँ वार्षिक साधारणसभा २०८१ को जेठ १७ गते आयोजना भएको थियो । १ करोड ३७ लाख बढी कित्ता संस्थापक सेयरमा अहिले विशाल ग्रुपले बिक्रीका लागि खुला गरेको ७ लाख कित्ता जोडिएको छैन । यो बिक्रीको प्रक्रियामा रहेकाले बिक्रीका लागि दिइएको समयपछि मात्रै बिक्री भएकोमा जोडिने कम्पनीले जनाएको छ ।

नेपाल रिले उपलब्ध गराएको प्रमोटर सेयर बिक्रीको विवरण अनुसार नेपाल इन्स्योरेन्सले आफ्नो नाममा रहेको १९ लाख ७९ हजार ४२४ कित्ता सेयर बिक्री गरिरहेको छ । अब यो कम्पनीको ९४ हजार २२ कित्ता मात्रै सेयर बाँकी हरेको छ । नेपाल रिमा यो कम्पनीको १.६१ प्रतिशत हिस्सा रहेको थियो ।

त्यति नै हिस्सा रहेको प्रभु इन्स्योरेन्सले पनि आफ्नो नाममा रहेको नेपाल रि इन्स्योरेन्सको १९ लाख ७९ हजार ४ सय २४ कित्ता सेयर बिक्री गरिसहेको छ । अब नेपाल रि इन्स्योरेन्समा प्रभु इन्स्योरेन्सको ९४ हजार २२ कित्ता सेयर मात्रै बाँकी रहेको छ । सुरुमा नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको २० लाख ७३ हजार ४ सय ४६ कित्ता संस्थापक सेयर रहेको थियो ।

पछिल्लो समय हिमालयन एभरेष्ट इन्स्योरेन्सले पनि नेपाल रिमा रहेको आफ्नो नामको २० लाख कित्ता सेयर बिक्री गरिसकेको छ । सुरुमा ४१ लाख ४६ हजार ८ सय ९२ कित्ता संस्थापक सेयर रहेको हिमालयन एभरेष्टको अब २१ लाख ४६ हजार ८ सय ९२ कित्ता सेयर बाँकी रहेको छ । नेपाल रि इन्स्योरेन्समा रहेको आफ्नो नामको संस्थापक सेयर बिक्री गर्ने अर्को संस्थापमा आईजीआई प्रुडिन्सियल इन्स्योरेन्स रहेको छ । यसले आफ्नो नाममा रहेको ४१ लाख ४६ हजार ८ सय ९२ कित्ता मध्ये २० लाख कित्ता सेयर बिक्री गरिसहेको छ । यसको पनि अब नेपाल रिमा २१ लाख ४६ हजार ८ सय ९२ कित्ता मात्रै सेयर बाँकी रहेको छ ।

त्यस्तै आईएमई लिमिटेडले पनि नेपाल रिमा रहेको आफ्नो नामको संस्थापक सेयर बिक्री गरेको छ । आईएमईले ७ लाख ५० हजा कित्ता सेयर बिक्री गरिसकेको छ । जम्मा १५ लाख ४९ हजार ७ सय ३६ कित्तामध्ये अब नेपाल रिमा आईएमईको ७ लाख ९९ हजार ७ सय ३६ कित्ता सेयर मात्रै बाँकी हरेको छ । ह्याथवेय इन्भेष्टमेन्ट नेपालले पनि कम्पनीका रहेको आफ्नो ६ लाख ५० हजार कित्ता सेयर बिक्री गरिसकेको छ । १२ लाख ३९ हजार ७८८ कित्ता संस्थापक सेयर रहेको आईएमईको अब ५ लाख ८९ हजार ७८८ कित्ता संस्थापक सेयर मात्रै बाँकी रहेको छ ।

ग्लोबल आईएमई क्यापिटलले पनि नेपाल रिमा रहेको आफ्नो नामको १ लाख ८७ हजार ४ सय ३४ कित्ता सेयर बिक्री गरिसकेको छ । अब आईएमईको २ लाख कित्ता सेयर मात्रै नेपाल रिमा रहेको छ । हालसम्म सिद्धार्थ प्रिमियरले पनि आफ्नो नाममा रहेको २० लाख ७३ हजार ४ सय ४६ कित्ता सेयर बिक्री गरिसकेको छ । ४१ लाख ४६ हजार ८ सय ९२ कित्तामध्ये अब २० लाख ७३ हजार ४ सय ४६ कित्ता सेयर बाँकी रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal