Skip to content
Prabhu

प्रत्येक नेपालीको टाउकोमा ८४ हजार ऋण, चालु आवको पहिलो महिनामै थपियो ४१ अर्ब सार्वजनिक ऋण

काठमाडौं । नेपालको ऋणको भार थप बढेको छ । आम्दानीको तुलनामा खर्च बढी भएपछि सार्वजनिक ऋणको भार बढ्दै गएको हो ।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन मसान्तसम्म प्रत्येक नेपालीको थाप्लोमा ८४ हजार ऋण रहेको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा ४१ अर्ब ११ करोड सार्वजनिक ऋण थपिएसँगै नेपालको सार्वजनिक ऋणको आधार २४ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ पुगेको हो ।

यो अवधिमा सरकारले तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब ३ अर्ब ९० करोड रुपैयाँ छ । बाह्य ऋण भने १२ खर्ब ६८ अर्ब ५४ करोड रुपैयाँ छ । असार मसान्तसम्म तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड र वाह्य ऋण १२ खर्ब ५० अर्ब ४३ करोड थियो ।

कुल ग्राहस्थ उत्पादनको आधारमा सार्वजनिक ऋण ४३.३४ प्रतिशत कायम भएको छ । कुल ग्राहस्थ उत्पादनको आधारमा आन्तरिक ऋण २१.१० तथा बाह्य ऋण २२.२४ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा साउनमा ४३ अर्ब ५९ करोड ऋण प्राप्ति भएको छ । यस अवधिमा ४० अर्ब आन्तरिक ऋण र ३ अर्ब ५९ करोड बाह्य ऋण प्राप्ति भएको हो ।

तथ्यांकअनुसार चालु आव साउन मसान्तसम्ममा प्रतिव्यक्ति ऋण हिस्सा ८४ हजार ७ सय ७२ रुपैयाँ पुगेको छ । यस अवधिसम्मको कुल २४ खर्ब ७२ अर्ब ४४ करोड सार्वजनिक ऋणलाई नेपालको २०७८ सालको आधिकारिक जनसंख्या २ करोड ९१ लाख ६५ हजार ५ सय ७८ मा भाग लगाउँदा त्यति रकम पर्न आउँछ ।

पछिल्ला केही वर्षयता सार्वजनिक ऋणको साँवाब्याज भुक्तानी दायित्व निरन्तर बढ्दै गएको छ । जसका कारण सरकारले पुँजीगत खर्चभन्दा वित्त व्यवस्थापनमा धेरै बजेट विनियोजन गर्नुपरेको छ । सरकारले चालु बजेटमा पनि पुँजीगत खर्चभन्दा वित्त व्यवस्थापनमा झण्डै १५ अर्ब धेरै बजेट विनियोजन गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal