कठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) ले इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी) सँगको सहकार्य तथा दक्षिण कोरिया सरकारको अर्थ तथा वित्त मन्त्रालयको सहयोगमा सातवटै प्रदेशमा डिजिटल फाइनान्सियल सर्भिसेस (डीएफएस) कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
डिजिटल माध्यमबाट वित्तीय कारोवारको प्रयोग तीव गतिमा बढ्दै गरेको वर्तमान परिवेशमा बैंकका कर्मचारीको डिजिटल वित्तीय साक्षरता बढाउने उद्देश्यले आयोजित तालिम कार्यक्रममा वाणिज्य बैंकका ४०० भन्दा बढी बैंकिङ अधिकारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा डिजिटल वित्तीय सेवाहरूको बुझाईमा थप विकास गर्ने, आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल वित्तीय सेवा प्रदान गर्ने, ग्राहकको चेतनाको स्तर अभिवृद्धि गर्ने, डिजिटल माध्यमबाट वित्तीय समावेशीकरणलाई प्रोत्साहन गर्ने लगायतका बिषयमा केन्द्रित थियो ।
कार्यक्रमले डिजिटल भुक्तानी प्रणाली, भुक्तानी उपकरण, सीमापार डिजिटल कारोवार, बढ्दै गइरहेको साइबर ठगी र त्यससंग सम्बन्धित बढ्दो चुनौतीहरू जस्ता प्रमुख विषयहरू समेटेको थियो ।
त्यसैगरी सहभागीहरूलाई बैंकिङ क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग, त्यसका फाइदा लगायत डिजिटल वित्तीय सेवाहरूका पछिल्ला घटनाक्रमहरूको व्यावहारिक पक्षको बारेमा जानकारी गराउदै साइबर सुरक्षा कसरी बढाउन सकिन्छ भन्ने विषयमा पनि जानकारी गराइएको थियो ।
कार्यक्रमले डिजिटल वित्तीय सेवा बारे बैंकका कर्मचारीले पुर्याउनुपर्ने भूमिकालाई जोड दिँदै कर्मचारीहरूको आवश्यक ज्ञान, सिप र क्षमता अभिवृद्धि गरी डिजिटल वित्तीय सशक्तिकरणतर्फ नेपालको यात्रामा एउटा महत्त्वपूर्ण योगदान पुर्यार्उनुका साथै सुरक्षित र समावेशी डिजिटल वित्तीय वातावरण प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ ।












प्रतिक्रिया दिनुहोस्