Skip to content
Prabhu

दैनिक दुई कप चिया घटाउँदा बीमा गर्ने पैसा जम्मा हुन्छ : अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले दैनिक रुपमा २ कप चिया घटाउँने हो भने बीमा गर्ने पुग्ने पैसा जम्मा हुने बताएका छन् । मंगलबार प्राधिकरणले जनकपुरधाममा मधेश प्रदेश सरकारसँग गरेको बीमा सम्बन्धी समसामयिक विषयको छलफल तथा अन्तक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।

अध्यक्ष सिलवालले बीमा जटिल विषय नभएको उल्लेख गर्दै दैनिक दुई कप चिया घटाउने हो भने त्यसको पैसाले बीमा गर्न पुग्ने जिकिर गरेका छन् । ‘बीमाका बारेमा सबैले बुझ्नु पर्छ, अनुदानको चलन पुरानो भयो, अब अनुदानलाई बीमामा रूपान्तरण गर्नु उपयुक्त हुन्छ, जोखिम हेरेर बीमा गर्नुपर्छ, बीमाबाट नै जोखिमको वित्तीय रक्षावरण हुन्छ,’ उलने भने ।

सो कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सरकारले कृषि तथा पशुपन्छी बीमामा थप अनुदान दिन २ करोड रुपैयाँ छुट्याएको जानकारी दिदै अन्य प्रदेशमा शुरू गरिएको घर बीमा र दुर्घटना बीमाको प्रभावकारितालाई अध्ययन गरेर त्यसतर्फ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री सिंहले बीमा गरेपछि बीमा कम्पनीहरू बीमितसँग सम्पर्कमा नरहने गरेको गुनासाहरू आउने गरेको उल्लेख गर्दै बीमा गराउँदा बीमाका शर्तहरूका बारेमा बीमितलाई राम्रोसँग बुझाउनुपर्ने बताए ।

त्यस्तै उनले बीमा सर्भेयर तथा बीमा अभिकर्ताका कामलाई लिएर आउने गरेका गुनासाहरूलाई सम्बोधन गर्न प्राधिकरणले अनुगमनमा जोड दिनुपर्ने आवश्यकता रहेको पनि बताए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक तथा प्रवक्ता सुशीलदेव सुवेदीले प्राधिकरणको काम, कर्तव्य र अधिकार, बीमा क्षेत्रको विद्यमान अवस्था, प्रदेश बीमा नीतिको आवश्यकता र बीमाको विकास एवम् विस्तारमा प्रदेश सरकारको भूमिका सम्बन्धी प्रस्तुती गरेका छन् ।

कार्यक्रममा मधेश प्रदेशका मन्त्री, प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश मन्त्रालयका सचिव तथा सहसचिव, विभिन्न निकायका प्रतिनिधि र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रदेश कार्यालय प्रमुखहरू लगायतको सहभागिता रहेको बीमा प्राधिकरणले जनाएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal