Skip to content
Prabhu

के साँचिक्कै महँगो छ डिजिटल भुक्तानी ?

nabil

काठमाडौं । भदौ महिनाको ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखे । उनले साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा सम्बन्धित अधिकारीसँग छलफल गर्दै छु भनेर सामाजिक सञ्जालमा लेखे । उनले लेखेको स्टाटसमा जाजरकोटका अबिन बिकेले लेखेको कुरालाई सेयर गर्दै प्रधानमन्त्रीले क्युआरमार्फत हुने भुक्तानी निःशुल्क बनाउने बताए । जाजरकोटका अबिनले आफूले दिनमा ५/६ पटक सानो रकमको कारोबार गर्ने र प्रत्येकपटक ११ रुपैयाँ ३० पैसा चार्ज लाग्ने गरेको कुरा उल्लेख गरेका छन् ।

उनले दैनिक रूपमा आफूले ६०/७० रुपैयाँ अतिरिक्त खर्च हुने गरेको बताए । यसरी महिनामा २ हजारदेखि २ हजार २ सय रुपैयाँसम्म खर्च हुने गरेको प्रधानमन्त्रीले राखेको स्टाटसमा उल्लेख छ । प्रधानमन्त्रीले यस्तो कुरा लेखेको भए पनि चालु आर्थिक वर्षको बजेटमा नै डिजिटल भुक्तानीमा १३ प्रतिशत भ्याट लिने व्यवस्था गरिएको छ । बजेटमा व्यवस्था नभएसम्मका लागि बैंकहरूले यस्तो चार्ज ८ रुपैयाँदेखि १० रुपैयाँसम्म लिने गरेका थिए । तर, बजेटले नै १३ प्रतिशत भ्याटको व्यवस्था गरेपछि अहिले एउटा बैंकबाट अर्को बैंकमा क्युआरमार्फत रकम भुक्तानी गर्दा ११ रुपैयाँ ३० पैसा चार्ज लाग्ने गरेको छ । तर, यो व्यक्तिगत क्युआरमा रकम पठाउँदा लाग्ने शुल्क हो ।

यदि कसैको बिजनेस रिसिभर भएको क्युआर राखेको छ भने त्यसमा कुनै पनि शुक्ल लाग्दैन । तर, अहिले होटल तथा पसलहरूमा बिजनेस क्युआर नराख्दा जाजरकोटका अबिन बिकले जस्तो समस्या धेरैले भोगिरहेका छन् । एउटै बैंकको खातामा क्युआरमार्फत रकम भुक्तानी गर्दा र बिजनेस क्युआरमार्फत कुनै शुल्क तिर्दा त्यसमा अहिले पनि कुनै पनि अतिरिक्त शुल्क लाग्दैन । तर, व्यवसाय गर्ने व्यक्तिहरूले बिजनेस क्युआर नराख्दा अबिनले जस्तै धेरैले अतिरिक्त चार्ज तिर्नुपरेको छ । यदि कुनै व्यक्तिले १०० रुपैयाँ क्युआरमार्फत भुक्तानी गरेको खण्डमा उसको खाताबाट अतिरिक्त ११ रुपैयाँ ३० पैसा गरेर १११ रुपैयाँ ३० पैसा काटिन्छ । यदि कसैको बिजनेस क्युआर छ भने यसले १०० रुपैयाँ तिर्दा १०० रुपैयाँ मात्रै काटिन्छ ।

त्यसैले प्रधानमन्त्रीले डिजिटल भुक्तानीमा लाग्ने शुल्क हटाउनका लागि भन्नेभन्दा पनि राजय संयन्त्रलाई प्रयोग गरेर क्युआर राखेका पसल, होटल, रेष्टुरेन्ट लगायतका ठाउँमा बिजनेस क्युआरको व्यवस्था गर्नतर्फ ध्यान दिन जरुरी छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेले शुल्कको विषयमा राष्ट्र बैंकले स्पष्ट व्यवस्था गरेको बताए । अहिलेको शुल्कमा सरकारले बजेटमार्फत नै १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेकाले शुल्क केही बढी भएको उनको भनाइ छ ।

‘राष्ट्र बैंकले बैंकहरूलाई क्युआरमार्फत एक बैंकबाट अर्को बैंकमा रकम भुक्तानी गर्दा ५ रुपैयाँदेखि १० रुपैयाँसम्म शुल्क तोकेको छ, त्यसमा १३ प्रतिशत भ्याट जोड्दा अहिले ११ रुपैयाँ ३० पैसा पुगेको हो,’ उनले भने । राष्ट्र बैंकको भुक्तानी प्रणालिसम्बन्धी एकीकृत निर्देशन २०८० अनुसार अनुमतिपत्रप्राप्त संस्थाले डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसललगायतका मर्चेन्टबाट पोइन्ट अफ सेल (पीओएस) वा पोइन्ट आफ ट्रान्जेक्सन (पिओटी) मेसिनमार्फत गरिएको कारोबारमा ग्राहकसँग कुनै पनि प्रकारको अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था मिलाउनुपर्ने छ । भन्ने उल्लेख गरिएको छ ।

तथ्यांकअनुसार अहिले बिजनेस क्युआर लिनेको संख्या करिब १५ लाखको हाराहारीमा रहेको छ । तर, दध, बिक्री गर्ने तथा किराना पसलहरूमा व्यक्तिगत क्युआरमार्फत रकम भुक्तानी गर्दा ग्राहकले सानो रकममा पनि ११ रुपैयाँ ३० पैसा चार्ज तिर्नु परिरहेको हो । यदि पसल गर्नेहरूले बिजनेस क्युआर लिएको खण्डमा अहिले लाग्दै आएको शुल्काबाट आम उपभोक्तालाई राहत मिल्ने थियो ।

प्रधानमन्त्रीले भनेअनुसार बिजनेस क्युआर नभएको शुल्क घटाउने हो भने यसले औपचारिकभन्दा अनौपचारिक कारोबारलाई प्रोत्साहन दिन्छ । कुनै व्यवसायमा वस्तु तथा सेवा बिक्री गरेको रकम व्यक्तिगत खातामा जम्मा गर्न मिल्दैन । अहिले साना तथा मझौला र ठूला व्यवसायीले पनि व्यक्तिगत खातामा पैसा जम्मा गर्न क्युआर दिएको कारण उपभोक्ताको शुल्क बढेको हो । अर्थ मन्त्रालयका अधिकारीहरूपनि यसरी व्यक्तिगततर्फ हुने भुक्तानीको शुल्क कम गर्दा व्यावसायिक खातामा कारोबारमा नदेखिने बताउँछन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal