Skip to content
Prabhu

धौलागिरिको धारापानी–झिनडाँडा सडक स्तरोन्नति सुरु

nabil

म्याग्दी । धौलागिरि गाउँपालिका–७ धारापानीदेखि ताकम–शिवाङ हुँदै झिनडाँडासम्मको सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी– ताकम–मुना सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न लागिएको हो ।

डेढ दशकअघि मार्ग खुलेको सडक स्तरोन्नति थालिएको धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्रीले जानकारी दिए । स्थानीयको सहमति र आग्रहअनुसार धारापानी तथा ताकम गाउँभित्रको सडकलाई पक्की बनाउने गरी डिजाइन (नक्शाङ्कन) भएको छ ।

धारापानीमा विसं २०६६ मा सडक पुगेको थियो । यो सडक धौलागिरिको वडा नं ५ का बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो । सडक स्तरोन्नति हुन थालेपछि स्थानीय उत्साहित भएका छन् ।

चार किलोमिटर दुरीको यो सडक स्तरोन्नतिका लागि विसं २०८१ जेठ २० गते रामसागर–बिएस धौलागिरि जेभी र पूर्वाधार विकास कार्यालयबीच रु १४ करोड ६१ लाख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो । कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले दुई वर्षको ठेक्का अवधि भएको योजनाको निर्माण कम्पनीले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माणको काम थालेको बताउनुभयो । आठ मिटरका दरले सडकलाई फराकिलो बनाइने भएको छ ।

यो सडक हाल चारदेखि पाँच मिटर फराकिलो छ । म्याग्दीदेखि ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ७० किलोमिटर छोटो पर्ने जिल्लाका जनप्रतिनिधिले बताएका छन् ।

म्याग्दी १ ९२० बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले यो सडक आयोजनाअन्तर्गत झिनडाँडादेखि मुनातर्फ र हालै ग्राभेल भएको दरवाङ–धारापानी खण्डमा कालोपत्रेसहित स्तरोन्नति गर्न प्रदेश तथा सङ्घीय सरकारको लागत साझेदारीमा रु. एक अर्ब बजेटको आयोजनाको यसै आर्थिक वर्षदेखि सुरु हुने जानकारी दिए।

हाल मरेनी पुगेको कच्ची सडकलाई विस्तार गरेर ढोरपाटन जोड्न सडक डिभिजन कार्यालयमार्फत कार्यान्वयन हुने गरी थप रु. ६ करोड ५० लाख विनियोजन भएको जुग्जालीले बताए । प्रदेश सरकारको लगानीमा दरवाङदेखि धारापानी जोड्ने करिब सात किलोमिटर सडक गत वर्ष ग्राभेल भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal