काठमाडौं । पछिल्लो कुनै पनि सामान किन्नका लागि नगद बोकी राख्नुपर्ने झनझट कम हुँदै गएको छ। प्रविधिको विकाससँगै कुनै पनि कारोबार गर्नका लागि नगदको आवश्यता कम हुँदै गएको छ । सहरी क्षेत्रमा नगदभन्दा डिजिटल रुपमा हुने कारोबार बढ्दै गएको देखिन्छ ।
अहिले मानिसले मोबाइल बैंकिङ तथा क्युआरमार्फत रकम पठाउने तथा सामानको लागि पनि भुक्तानी गर्ने गरेका छन् । पछिल्लो समय क्युआरमार्फत हुने भुक्तानी रकममा पनि उल्लेख्य मात्रामा वृद्धि भएको छ । गत आवको साउन महिनामा भन्दा चालु आवको साउन महिनामा क्युआरमार्फत हुने भुक्तानीमा उल्लेख्य वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको साउन महिनासम्म क्युआर मार्फत हुने भुक्तानी शतप्रतिशले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यस्तो भुक्तानी चालु आवको पहिलो महिना साउनसम्ममा गत आवको सोही अवधिको तुलनामा शतप्रतिशतभन्दा बढीले बढेको हो ।
गत आवको साउन महिनासम्म २९ अर्बभन्दा बढी रकम क्युआरमार्फत भुक्तानी भएको थियो भने चालु आर्थिक वर्षको साउनसम्ममा यस्तो रकम ६२ अर्ब भन्दा बढी पुगेको छ । गत आवको साउन महिनासम्म क्युआरमार्फत २९ अर्ब ९९ करोड ६ लाख रुपैयाँको भुक्तानी भएको थियो । चालु आवको साउन महिनासम्ममा यस्तो भुक्तानी ६२ अर्ब २८ करोड ६ लाख पुगेको छ ।
गत आवको साउन महिनासम्ममा क्युआरमार्फत १ करोड १२ लाख ५७ हजार ३८८ पटक ट्रान्जेक्सन भएको थियो। चालु आवको साउन महिनासम्ममा यस्तो ट्रान्जेक्सनको संख्या २ करोड २९ लाख ३४ हजार ६२७ पुगेको छ ।
पछिल्ला वर्षहरुमा क्युआरमार्फत हुने ट्रान्जेक्सन र कारोबार रकम लगातार रुपमा बढीरहेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार २०७९ सालको असार महिनासम्ममा क्युआर मार्फत हुने ट्रान्जेक्सन ४२ लाख ८१ हजार ९९४ थियो । त्यो सख्या २०८० सालको असारमा आइपुग्दा ९७ लाख ६६ हजार २१६ पुगेको थियो।
प्रतिक्रिया दिनुहोस्