काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो महिना भदौमा जीवन बीमा कम्पनीहरुले साढे ११ अर्ब रुपैयाँभन्दा बढीको बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ महिनामा १४ वटा जीवन बीमा कम्पनीहरुले ११ अर्ब ५५ करोड ३ लाख ८१ हजार रुपैयाँको बीमा व्यवसाय गरेका हुन् ।
जीवन बीमा कम्पनीले भदौमा प्रथम बीमाशुल्कबापत २ अर्ब ५७ करोड १८ लाख १३ हजार रुपैयाँ, वैदेशिक रोजगार बीमाशुल्क बापत २४ करोड ५३ लाख ९५ हजार रुपैयाँ र नवीकरण बीमा शुल्क ८ अर्ब ७३ करोड ३० लाख ७५ हजार रुपैयाँ संकन गरेका छन् । भदौ महिनामा जीवन बीमा कम्पनीहरुले ४ लाख २० हजार ६८१ बीमालेख जारी गरेर उक्त बीमा शुल्क संकलन गरेका हुन् ।
प्राधिकरणको तथ्यांक अनुसार भदौमा सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफ इन्स्योरेन्सले संकलन गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सले ६१ हजार ३५ बीमालेख मार्फत ३ अर्ब ३२ करोड ६७ लाख २६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो । प्राधिकरणको तथ्यांकअनुसार भदौ महिनामा सबैभन्दा कम बीमा शुल्क आइएमई लाइफले संकलन गरेको छ । यो कम्पनीले भदौ महिनामा ९ हजार ९६९ बीमालेख मार्फत २८ करोड ९ लाख ८० हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
त्यस्तै यो अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीले २७ हजार ७२३ बीमालेखमार्फत ५९ करोड ५९ लाख ३५ हजार रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सले ४५ हजार ३३३ बीमालेख मार्फत १ अर्ब ३१ करोड ९४ लाख ४० हजार रुपैयाँ, लाइफ इन्स्यारेन्स कर्पोरेशन (नेपाल) ले ४ हजार ९६९ बीमालेख मार्फत १ अर्ब २२ करोड ९४ लाख ११ हजार रुपैयाँ र मेट लाइफले ४१ हजार ३७४ बीमालेखमार्फत ४४ करोड ४७ लाख ४९ हजार रुपैयाँबराबरको बीमा व्यवसाय गरेको छ ।
यस्तै भदौ महिनामा एसियन लाइफ इन्स्योरेन्सले १७ हजार ४२७ बीमालेख जारी गरेर ५४ करोड ४७ लाख ९ हजार रुपैयाँ, सन नेपाल लाइफ इन्स्योरेन्सले २८ हजार ७३५ बीमालेखमार्फत ३३ करोड ७ लाख ५ हजार रुपैयाँ, रिलायवल नेपाल लाइफ इन्स्यारेन्सले १६ हजार २८३ बीमालेखमार्फत ३५ करोड ५० लाख १७ हजार रुपैयाँ र सिटिजन लाइफ इन्स्योरेन्सले ५० हजार ९८९ बीमालेखमार्फत ५१ करोड ३६ लाख ७७ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
साथै सूर्यज्योति लाइफ इन्स्योरेन्सले २९ हजार ४४९ बीमालेख बिक्री गरेर ७१ करोड ६३ लाख ९१ हजार रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ८० हजार ५८८ बीमालेख मार्फत ४३ करोड ४ लाख ५५ हजार रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सले ३ हजार २०९ बीमालेख बिक्रीबाट १ अर्ब १६ करोड ७७ लाख ७ हजार रुपैयाँ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३ हजार ५९८ बीमालेखमार्फत २८ करोड ४५ लाख ८० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्