काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कृषि क्षेत्रको विकासका लागि अधिकतम १० लाख रुपैयाँसम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैंक कार्यक्रमअन्तर्गत किसान सरल कर्जा प्रोडक्टको शुभारम्भ गरेको छ । १० लाख रकमभित्र १ लाख रुपैयाँ बराबरको किसान क्रेडिट कार्डसमेत लिन सकिनेछ ।
कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेरसम्मका नेपाली नागरिक वा कानुनी रूपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न फर्म वा कम्पनीले कर्जाको लागि आवेदन दिन सक्नेछन् । बैंकले कृषि कर्जा निर्देशिका, २०६९ (संशोधनसहित) अनुसार लगानी गरिने यो कर्जा आवधिक र चालू पुँजी दुवै प्रकृतिको हुनेछ ।
यो कर्जा ग्रेस अवधिसहित अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिने छ । आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने यो कर्जामा खुद व्यापारिक सम्पत्तिको अधिकतम ७० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ ।
ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोको रुपमा रहने छ भने आवश्यकता अनुसार घरजग्गा समेत धितो सुरक्षणको रुपमा स्वीकार गर्न सकिने छ । कर्जाको बीमा गरिने छ । बैंकको देशैभर रहेका सम्पूर्ण शाखा कार्यालयहरुबाट किसान सरल कर्जा प्रदान गरिने छ ।
देशैभर रहेका २ सय ९४ शाखा कार्यालय, ३ सय १२ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टरमार्फत बैंकले सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्