Skip to content
Prabhu

बाढीपहिरोको बीमा दाबी करिब ९ अर्ब, १७ करोड भुक्तानी, कुन क्षेत्रमा कति दाबी ?

nabil

काठमाडौं । गत असोज १० देखि लगातार रुपमा परेको वर्षाका कारण ठूलो जनधनको क्षति भयो । दसैँको मुखैमा परेको अविरल वर्षाले २४६ जनाको मृत्यु भयो । अर्बौँको धनमा क्षति पुग्यो । उक्त बाढी पहिरोबाट भएको क्षतिको क्षतिपूर्ति माग गरेर बीमा कम्पनीमा करिब ९ अर्ब रुपैयाँको दाबी परेको छ ।

निर्जीवन बीमा कम्पनीहरुमा अहिले ८ अर्ब ९८ करोड ३० लाख २६ हजार ६ सय ४४ रुपैयाँको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार अहिलेसम्म बीमा कम्पनीहरुमा ३ हजार २ सय ४४ वटा दाबी परेका छन् । यो अवधिमा १४ निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरुमा उक्त दाबी परेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणमा दाबी परेकामध्ये ९७ वटा दाबीको भुक्तानी भएको तथ्यांकले देखाएको छ । ९७ वटा दाबीको कम्पनीहरुले १७ करोड २८ लाख २८ हजार ६ सय ८६ रुपैयाँ ३५ पैसा भुक्तानी गरेका छन् । प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार ६ वटा कम्पनीहरुले दाबी भुक्तानी गरेका छन् ।

दाबी भुक्तानी गर्नेकम्पनीमा शिखर इन्स्योरेन्स सबैभन्दा अग्रस्थानमा रहेको छ । १८ वटा कम्पनी मध्ये शिखरले मात्रै हालसम्म १७ करोड २४ लाख ७१ हजार ४ सय ४५ रुपैयाँ ०९ पैसा भुक्तानी गरेको छ । शिखर इन्स्योरेन्समा हालसम्म ४०४ वटा दाबी परेका छन् । जसको ९३ करोड ३६ लाख ८ हजार ७ सय २९ रुपैयाँ ६८ पैसा बराबरको दाबी परेको छ । अहिलेसम्म यो कम्पनीले ८९ वटा दाबीको भुक्तानी गरेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।

त्यस्तै हालसम्म सानिमा जिआईसी इन्स्योरेन्सले २ लाख १६ हजार ५ सय ९४ रुपैयाँ २६ पैसाको दाबी भुक्तानी गरेको छ । यो कम्पनीमा हालसम्म १८९ वटा दाबीबाट १७ करोड ७६ लाख ७ हजार ३ सय ३८ रुपैयाँ ५२ पैसाको दाबी परेको छ । कम्पनीले हालसम्म १ वटा दाबीको भुक्तानी गरेको देखिएको छ । अहिलेसम्म शिखर र सानिमासँगै दाबी भुक्तानी गर्ने कम्पनीहरुमा हिमालय एभरेष्ट, नेको इन्स्योरेन्स, आइजिआई प्रुडेन्सियल र प्रभु इन्स्योरेन्स रहेका छन् ।

अहिलेसम्म हिमालय एभरेष्टले एक दाबीको २३ हजार ९ सय ४० रुपैयाँको दाबी भुक्तानी गरेको छ । यो कम्पनीमा बीमितले २ सय २२ वटा पोलिसी दाबी गरेका छन् । जसको कम्पनीले १ अर्ब ८ करोड ८६ लाख २० हजार ६८० रुपैयाँ दाबी भुक्तानी गर्नुपर्ने देखिन्छ । हिमालयन एभरेष्ट दाबी धेरै पर्ने कम्पनीको तेस्रो नम्बरमा रहेको छ ।

त्यस्तै हालसम्म नेको इन्स्योरेन्सले पनि ४ वटा दाबीको ६६ हजार १ सय ३८ रुपैयाँ भुक्तानी गरेको छ । यो कम्पनीमा बाढीपहिरोका कारण भएको क्षतिका २ सय ६३ वटा दाबी परेका छन् । ती दाबीको कम्पनीले ९६ करोड ८५ लाख ९ हजार ४ सय ७९ रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ ।

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले पनि अहिलेसम्म ३८ हजार ८ सय ७८ रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो कम्पनीमा ३१ करोड ५३ लाख २८ हजार १ सय २० रुपैयाँको दाबी परेको छ । प्रभु इन्स्योरेन्सले पनि दाबी भुक्तानी दिन सुरु गरेको छ । अहिलेसम्म यो कम्पनीले ११ हजार ६ सय ९१ रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो कम्पनीमा २ सय १८ वटा दाबी परेको र त्यसबापत १० करोड ९८ लाख ३० हजार रुपैयाँको दाबी परेको थियो ।

प्राधिकरणको तथ्यांक अनुसार यी ६ वटा कम्पनी बाहेक अरु कम्पनीले दाबी भुक्तानी सुरु गरेका छैनन् । बीमा कम्पनीमध्ये सबैभन्दा धेरै दाबी सिद्धार्थ प्रिमियरमा परेको छ । यो कम्पनीमा ४ सय ६१ वटा दाबी परेका छन् । जसको दाबी १ अर्ब ९५ करोड २९ लाख ४१ हजार ३ सय ७५ रुपैयाँको दाबी परेको छ । धेरै दाबी पर्ने कम्पनीको दोस्रो स्थानमा दि ओरियन्टल इन्स्योरेन्स रहेको छ । यो कम्पनीमा १ अर्ब ४५ करोड ६८ लाख रुपैयाँको दाबी परेको छ ।

अहिलेसम्म दाबी भुक्तानी गर्न सुरु नगरेको सगरमाथा लुम्बिुनी इन्स्योरेन्स कम्पनीमा ६६ करोड १३ लाख ९७ हजार ७ सय ११ रुपैयाँको ३ सय ४८ वटा दाबी परेका छन् ।

प्राधिकरणको तथ्यांकअनुसार नेसनल इन्स्योरेन्स कम्पनीमा ८२ वटा दाबी परेका छन् । सो दाबीको कम्पनील ५६ करोड ४६ लाख ८ हजार १ सय ९६ रुपैयाँको दाबी भुक्तानी गर्नुपर्ने देखिएको छ ।

त्यस्तै हालसम्म नेपाल इन्स्योरेनस कम्पनीमा १६१ वटा दाबीको ३४ करोड ७४ लाख २९ हजार ६ सय ४६ रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले १ सय ३६ दाबीको १९ करोड ८ लाख ६४ हजार ५ सय ६९ रुपैयाँ र युनाइटेड अजोडले २ सय ७५ दाबीको १० करोड ९८ लाख ३० हजार रुपैयाँको बीमा दाबी भुक्तानी गर्नुपर्ने देखिएको छ ।

यदा राष्ट्रिय बीमा कम्पनीमा १६ वटा दाबी परेका प्राधिकरणको तथ्यांकले देखाएको छ । जसको दाबी १० करोड ६७ लाख रुपैयाँको भुक्तानी गर्नुपर्ने देखिन्छ ।

त्यस्तै, लघुबीमा कम्पनीहरुमा मध्ये स्टार माईक्रोको ९ वटा दाबीको ३५ लाख १५ हजार रुपैयाँ, टष्ट माईक्रोको ४ दाबीको १५ लाख २० हजार नेपाल माईक्रोकोले ७ दाबीको ८ लाख ५० हजार र प्रोटेक्टिभ माईक्रोको ६ वटा दाबीको ३ लाख ५० हजार रुपैयाँको बीमा दाबी भुक्तानी गर्नुपर्ने देखिएको छ ।

क्षेत्रगत रुपमा सम्पत्तिमा धेरै दाबी

अहिलेसम्म बीमा कम्पनीमा प्राप्त मागदाबीमध्ये सबैभन्दा धेरै सम्पत्ति बीमाअन्तर्गतको क्षतिमा दाबी परेको छ । सो बीमाअन्तर्गत मात्रै ६ अर्ब ६८ करोड ६७ लाख ६ हजार ४७ रुपैयाँको दाबी परेको छ । यो जम्मा दाबीको करिब ७४ प्रतिशतको हाराहारी हुन आउँछ । सम्पत्ति बीमाको १६ कराड १० लाख २१ हजार ७ सय ८४ रुपैयाँको दाबी भुक्तानी भएको छ । सम्पत्ति बीमामा १ हजार ६ सय २० वटा दाबी परेकोमा अहिलेसम्म ४९ वटा दाबीको भुक्तानी भएको प्राधिकरणको तथ्यांकले देखाएको छ ।

त्यस्तै, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा अन्तर्गत २५९ दाबी बाट १ अर्ब ८४ करोड ७ लाख ४० हजार ५०० रुपैयाँको माग दाबी परेको छ । यो बीमाको अहिलेसम्म कुनै पनि दाबी भुक्तानी हुन सकेको छैन । निजी मोटर बीमामा ८ सय १६ वटा दाबी परेका छन् । जसको दाबी भुक्तानी २३ करोड ७२ लाख ९० हजार ७ सय ७ रुपैयाँ रहेको छ । उक्त माग दाबीमध्ये हालसम्म ३५ वटा दाबीमा ७८ लाख ३४ हजार १ सय ८६ रुपैयाँ भुक्तानी भइसकेको छ ।

सार्वजनिक मोटर बीमाअन्तर्गत हालसम्म ३ सय ४० वटा दाबी परेका छन् । उक्त दाबी संख्याको लागि १६ करोड ९४ लाख ६९ हजार ५ सय ८९ रुपैयाँ दाबी परेको छ । त्यसमध्ये अहिलेसम्म ५ दाबीको ३५ लाख ५६ हजार १५ रुपैयाँ दाबी भुक्तानी भइसकेको छ । सामुन्द्रिक बीमामा २ करोड २० लाख ९९ हजार रुपैयाँ बराबरको २३ वटा दाबी परेका छन् ।

जसमध्ये एउटा दाबीको ९ हजार रुपैयाँ भुक्तानी भएको छ । हालसम्म कृषि बाली बीमामा १२३ वटा दाबी परेका छन् र त्यस बापतको ११ करोड १२ लाख २ हजार रुपैयाँ दाबी भुक्तानी गर्नु पर्ने देखिन्छ । त्यस्तै पशुपक्षी बीमामा १० करोड ११ लाख ३८ हजार रुपैयाँको ४८ वटा दाबी परेका छन् । जसमध्ये ७ वटा दाबीको ४ लाख ७ हजार ७० रुपैयाँ भुक्तानी भएको छ ।

अन्य बीमामा ५ करोड ४८ लाख ५ हजार रुपैयाँको १५ वटा मागदाबी परेका छन् । यसमा पनि कुनै भुक्तानी भएको छैन ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal