काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा जीवन बीमा कम्पनीको व्यवसायीमा सामान्य सुधार देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन बीमा कम्पनिहरुको व्यवसाय ०.६८ वृद्धि भएको हो ।
प्राधिकरणको तथ्यांकअनुसार बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ३ महिनासम्मको अवधिमा ४१ अर्ब ८ करोड बढीको बीमा शुल्क संकलन गरेका छन् । तथ्यांकअनुसार कम्पनीहरुको प्रथम बीमा शुल्कमा सुधार देखिएको छ भने नवीकरण बीमा शुल्कमा गिरावट देखिएको छ । प्राधिकरणका अनुसार प्रथम बीमा शुल्क आर्जनमा कम्पनीहरुले १२.२० प्रतिशतले वृद्धि गरेका छन् भने नविकरण बीमा शुल्क संकलनमा कम्पनीहरुको व्यवसाय ३.४० प्रतिशतले घटेको छ ।
नयाँ बिमितहरु थपिएको कारण प्रथम बीमाशुल्क आर्जनमा वृद्धि देखिएको छ । त्यस्तै नविकरणका हकमा भने केही बीमा पोलिसि सरेण्डर भएका तथा केही म्याचुअड भएकाले पनि त्यसमा कमी आएको बताइएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्क बापत ७ अर्ब ५३ करोड रुपैयाँ संकलन गरेका छन् । कम्पनीहरुले गत आवको सोही अवधिमा भने ६ अर्ब ७१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।
असोज महिनासम्ममा वैदेशिक रोजगारमा भने ६१ करोड ८८ लाख रुपैयाँ संकलन भएको छ । वैदेशिक रोजगारसहित भने कम्पनीहरुले ८ अर्ब १५ करोड रुपैयाँ आर्जन गरेका छन् ।
यस अवधिमा सबैभन्दा धेरै सुधार राष्ट्रिय जीवन बीमा कम्पनीको देखिन्छ । कम्पनीले प्रथम बीमा शुल्क बापत संकलन गरेको रकममा १८५ प्रतिशतले वृद्धि गरेको छ । कम्पनीले प्रथम बीमा शुल्कबापत ३५ करोड ७४ लाख रुपैयाँ संकलन गरेको छ । सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनीमा भने नेपाल लाइफको रहेको छ । यो कम्पनीले प्रथम बीमा शुल्कबापत १ अर्ब ९० करोड रुपैयाँ संकलन गरेको छ ।
नेसनल लाइफले प्रथम बीमा शुल्कबापत १ अर्ब १० करोड रुपैयाँ संकलन गरेको छ । त्यस्तै लाइफ इन्स्योरेन्स कपोरेसन (नेपाल) ले चालु आर्थिक वर्षको तीन महिनाको अवधिसम्ममा ५१ करोड ६६ लाख मेट लाइफले ३२ करोड २४ लाख, एशियन लाइफले ३५ करोड २३ लाख र आइएमई लाइफले २४ करोड ८८ लाख रुपैयाँ प्रथम बीमा शुल्क बापत संकलन गरेका छन् ।
त्यस्तै सन नेपाल लाइफले प्रथम बीमा शुल्क बापत २० करोड ७१ लाख, रिलायबल नेपाल लाइफको २९ करोड, सिटिजन्स लाइफले २९ करोड ५६ लाख र सूर्यज्योति लाइफले ५८ करोड ३९ लाख रुपैयाँ आर्जन गरेका छन् । त्यस्तै सानिमा रिलायन्स लाइफले प्रथम बीमा शुल्क बापत ३४ करोड १६ लाख, हिमालयन लाइफले ५९ करोड ६९ लाख र प्रभु महालक्ष्मी लाइफले २६ करोड १६ लाख रुपैयाँ संकलन गरेका छन् ।
नवीकरण बीमाशुल्क गिरावट
चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्मको तथ्यांकअनुसार बीमा कम्पनीहरुको नवीकरण बीमा शुल्क भने ३.४० प्रतिशतको घटेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ३ अर्ब २९ करोड रुपैयाँ बीमा शुल्क बीमा पोलिसी नविकरणबाट आर्जन गरेका छन् । जबकी गत वर्षको यही अवधिमा कम्पनीहरुले ४ अर्ब ४० करोड रुपैयाँ नवीकरण बीमा शुल्क आर्जन गरेका थिए ।
३ महिनासम्मको अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब १ करोड ४९ लाख रुपैयाँ नवीकरण बीमा शुल्क संकलन गरेको छ । यो अवधिमो नेसनल लाइफ इन्स्योरेन्सले नवीकरण बीमा शुल्कबापत ३ अर्ब ७४ करोड ८० लाख रुपैयाँ संकलन गरेको छ ।
त्यस्तै नवीरण शुल्कबापत नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १० अर्ब १ करोड ९५ लाख रुपैयाँको नवीकरण बीमा शुल्क संकलन गरेको छ । नेपाल लाइफ सबैभन्दा धेरै बीमा व्यवसाय र प्रथम तथा नवीकरण शुल्क आर्जन गर्ने कम्पनी हो । त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले नवीकरण बीमा शुल्कबापत ४ अर्ब ५ करोड ७० लाख, मेट लाइफले १ अर्ब ११ करोड ९६ लाख, एशियन लाइफले १ अर्ब ६४ करोड २ लाख र आइएमई लाइफले ९० करोड ४५ लाख रुपैयाँ नविकरण बीमा शुल्क संकलन गरेको छ ।
त्यस्तै सन नेपाल लाइफले नविकरण बीमा शुल्कबापत ६२ करोड ५१ लाख, रिलायबल नेपाल लाइफले ८६ करोड ६४ लाख र सिटिजन्स लाइफले १ अर्ब २५ करोड ८७ लाख रुपैयाँ संकलन गरेको छ । यो अवधिमा सूर्यज्योति लाइफले १ अर्ब ८५ करोड ९९ लाख रुपैयाँ नविकरण शुल्कबापत आर्जन गरेको छ । त्यस्तै सानिमा रिलायन्स लाइफले १ अर्ब १८ करोड १४ लाख, हिमालयन लाइफले ३ अर्ब ६८ करोड १२ लाख र प्रभु महालक्ष्मी लाइफले ९४ करोड ४४ लाख रुपैयाँ नविकरण शुल्क संकलन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्