काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेप फेरि बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले अध्यावधिक गरेको पछिल्लो तथ्यांकअनुसार बैंकिङ प्रणालीमा कुल निक्षेप संकलन ६६ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको हो ।
तिहार अघि कुल निक्षेप ६६ खर्ब ३९ अर्ब रुपैयाँ थियो भने अहिले बैंकङ प्रणालीमा निक्षेपको ६६ खर्ब ४७ अर्ब पुगेको हो । पछिल्लो समय लगानीको वातावरण नरहेको भन्दै उद्योगीहरूले कर्जाको माग गरेका छैनन् । सर्वसाधारणले पनि सानोतिनो व्यवसायमा लगानी गरेको अवस्था छैन । यही कारण बैंकमा निक्षेप राखेर व्याज खानेहरू बढ्दै गएका छन् ।
पछिल्लो समय निक्षेपको आकार बढिरहेको छ भने कर्जा विस्तार सुस्त देखिएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाले ५२ खर्ब ७६ अर्ब रुपैयाँ लगानी गरेका छन् । राष्ट्र बैंकको तथ्यांक अनुसा वाणिज्य बैंकहरूले यस अवधिसम्म ५९ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन भने ४६ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । विकास बैंक र फाइनान्स कम्पनीहरूले सात खर्ब ३६ अर्ब निक्षेप संकलन गरेका छन् । उनीहरुले ६ खर्ब ६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
बैंकहरूले कुल निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउँछन । तर अहिले जम्मा ७८.०५ प्रतिशत मात्रै लगानी गरेका छन । सरकारले चालू आर्थिक वर्षमा छ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । त्यसका लागि राष्ट्र बैंकले तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फ उन्मुख गरिने र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धिदर साढे १२ प्रतिशतसम्म रहने प्रक्षेपण गरेको छ । तर कर्जा विस्तारको अहिलेको अवस्था हेर्दा लक्ष्यअनुसार आर्थिक वृद्धि हासिल हुने सम्भावना न्यून देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्