काठमाडौं । निर्देशक थानेश्वर आचार्यलाई बर्खास्त गर्ने नेपाल राष्ट्र बैंकको निर्णय प्रशासकीय अदालतले बदर गरेको छ । अदालतका अध्यक्ष डिल्लीराज घिमिरे, सदस्यद्वय रिता मैनाली र कृष्णप्रसाद पौडेलको इजलासले मंगलबार आचार्यलाई सेवाबाट बर्खास्त गर्ने राष्ट्र बैंक सञ्चालक समितिको निर्णयलाई बदर गर्ने फैसला गरेको हो ।
बैंकमा कार्यरत एक उच्च पदस्थ महिलामाथि यौन दुर्व्यवहार गरेको निष्कर्ष निकाल्दै आचार्यलाई बैंकको सञ्चालक समितिको बैठकले २०८० चैत ६ गते भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । तर बैंकको निर्णय बदर गरी पाउँ भन्दै आचार्यले असार २ गते सिंहदरबारस्थित प्रशासकीय अदालतमा मुद्दा दर्ता गरेका थिए ।
नगरकोटस्थित होटल माउन्टेन मिस्टिकमा २०८० पुस २७ गते बैंकद्वारा आयोजित तनाव व्यवस्थापनसम्बन्धी कार्यक्रमका क्रममा हलमा खाजा खाइरहेका बेला आचार्यले यौन दुर्व्यवहार गरेको पीडित महिलाको आरोप छ । पीडित महिलाले आफूलाई दुर्व्यवहार गर्ने बेला आचार्यसँगै बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र तथा कार्यकारी निर्देशक देवकुमार ढकाल पनि रहेको बताउँदै आएकी छन् ।
प्रतिक्रिया दिनुहोस्