काठमाडौं । फोटन नेपालले नेपालका लागि विशेष डिजाइन गरिएको भनिएको माउन्टेन ईभी नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले एकैपटक १०० वटा माउन्टेन ईभी डेलिभरी गर्दै नेपाली बजारमा सार्वजनिक गरेको हो ।
यो गाडी नेपालको भौगोलिक आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीको भनाइ छ । फोन माउन्टेन ईभीमा ५३.५८ किलोवाटको ब्याट्री छ । यसले एकपटक फुल चार्ज गर्दा ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । १३० किलोवाटआवर क्षमताको मोटर रहेको गाडीमा अधिकतम टर्क ३३० र २५ प्रतिशत ग्रेडेबिलिटी छ ।
फोटन नेपालको मुख्य कम्पनी एमएडब्लू वृद्धि समूहका निर्देशक विवेक सिकरियाले गाडी सार्वजनिक गर्दै यसले नेपालको सवारीसाधन क्षेत्रलाई नयाँ दिशामा लैजाने विश्वास व्यक्त गरे । नेपालका चुनौतीपूर्ण सडकलाई मध्यनजर गर्दै माउन्टेन ईभीमा विशेष सुविधा रहेको उनको भनाइ छ । एमएडब्लू वृद्धि समूहका सीईओ तुषार गुप्ताले फोटन लगातार १९ वर्षसम्म चीनको शीर्ष ब्रान्डको रूपमा स्थापित रहेको बताए ।
यो ब्रान्ड भारतमा सबैभन्दा धेरै ईभी बसको रूपमा बिक्री भएको र ९ लाखभन्दा बढी व्यावसायिक सवारीसाधनका रूपमा निर्यात भएर दक्षिण अमेरिकामा अग्र स्थानमा रहेको उनको भनाइ छ । माउन्टेन ईभी १४ देखि १६ सिट क्षमतामा उपलब्ध छ ।यो गाडीमा अटो होल्ड कन्ट्रोल, स्मार्ट पार्किङ, हिल होल्ड कन्ट्रोल, दुई ड्राइभिङ मोड, आर१६ ड्यूरेबल टायर छ । नेपाली बजारमा फोटनको ब्रान्ड मूल्य ३१.४ अर्ब रहेको कम्पनीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्