काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको आम्दानीसँगै नाफामा पनि वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरको चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको आम्दानी र नाफामा सुधार देखिएको हो ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २३.७२ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा ५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो । चालु आवमा नाफा बढेर ६ करोड ६१ लाख रुपैयाँ पुगेको छ । नाफासँगै कम्पनीको आम्दानी पनि ३७ करोड २१ लाख रुपैयाँबाट बढेर साढे ७२ करोड रुपैयाँ पुगेको छ ।
चालू आवको असोज मसान्तसम्म कम्पनीले ५६ करोड ४७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा कम्पनीको यस्तो रकम १९ करोड २५ लाख रुपैयाँ मात्रै थियो । समीक्षा अवधिमा कम्पनीको खर्च पनि २९ करोड ५७ लाख रुपैयाँबाट बढेर ६३ करोड रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ छ । चालु आवको पहिलो त्रैमासिकसम्म कम्पनीले जगेडा कोषमा ८७ करोड रुपैयाँ, महाविपत्ति कोषमा ५ करोड ८७ लाख रुपैयाँ र स्पेशल रिजर्भमा १ अर्ब ४४ करोड रुपैयाँ सञ्चित गरेको छ ।
नाफा लगायतका वित्तीय सूचकहरूमा वृद्धि भएसँगै कम्पनीको प्रतिसेयर आम्दानी समेत बढेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३० पैसा रहेकोमा चालू आवमा बढेर १० रुपैयाँ ५९ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवथर् २०५ रुपैयाँ ४१ पैसा छ ।
प्रतिक्रिया दिनुहोस्