काठमाडौं । वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि पनि ब्याजदर घटाएका छन् । बैंकहरुले प्रकाशित गरेको सूचनाअनुसार ब्याजदर पुनः घटेको हो ।
कात्तिक महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसतमा ६.१८७८ प्रतिशत विन्दुका दरले ब्याज दिइरहेका २० वाणिज्य बैंकहरुले मंसिर महिनामा औसतमा ५.९७०३ प्रतिशतविन्दुका दरले ब्याज दिने भएका छन् । बैंकहरुको औसत ब्याजदर मंसिर महिनामा ०.२१७४ प्रतिशतविन्दु घटेको हो ।
कात्तिक महिनाको तुलनामा मंसिरमा १२ बैंकले ब्याजदर घटाएका छन् भने ८ वाणिज्य बैंकले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । एक वाणिज्य बैंकले भने ब्याजदर थोरै बढाएको छ । मंसिर महिनामा सबैभन्दा बढी ब्याज दिने बैंक एनआईसी एसिया बैंक रहेको छ । सो बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ६.७९ प्रतिशतका दरले ब्याज दिने भएको छ । सबैभन्दा कम ब्याज भने लक्ष्मी सनराइज बैंकको रहेको छ । यस्तो निक्षेपमा सो बैंकले अधिकतममा ५.५ प्रतिशतका दरले ब्याज दिनेछ ।
सर्वाधिक ब्याज घटाउने बैंक भने माछापुच्छ्रे बैंक रहेको छ । कात्तिक महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ७ प्रतिशत ब्याज दिएको यस बैंकले मंसिरमा ६ प्रतिशतका दरले ब्याज दिने भएको छ । राष्ट्रिय वाणिज्य बैंकले भने यस्तो निक्षेपको ब्याजदर ०.२ प्रतिशत विन्दुले बढाएको छ । मुद्दती निक्षेपमा यो बैंकले ६ प्रतिशत ब्याज दिने भएको छ ।
बैंकहरुले प्रकाशित गरेको मंसिर महिनाको ब्याजदरअनुसार एनएमबी बैंकले व्यक्तिगत मुद्दतीमा ५.७ प्रतिशतल ब्याज तोकेको छ । यो बैंकको गत महिना यस्तो ब्याज ६.५ प्रतिशत रहेको थियो । त्यस्तै नेपाल बैंकले यो यो शीर्षकमा ५.७५ प्रतिशत ब्याज निर्धारण गरेको छ । कात्तिक महिनामा यो बैंकले ६.२५ प्रतिशत ब्याज निर्धारण गरेको थियो । त्यस्तै कात्तिक महिनामा ६.२५ प्रतिशत ब्याज निर्धारण गरेको ग्लोबल आइएमई बैंकले पनि मंसिर महिनाका लागि ५.७५ प्रतिशत ब्याज निर्धारण गरेको छ ।
कात्तिकमा ६ प्रतिशत ब्याज तोकेको प्राइम कमर्सियल बैंकले मंसिरका लागि ५.७५ प्रतिशत ब्याज तोकेको छ । त्यस्तै स्टाण्डर्ड चार्टड बैंकले मंसिर महिनाका लागि ६.२५ प्रतिशत ब्याज तोकेको छ । कात्तिक महिनाका लागि यो बैंकले ६.५ प्रतिशत ब्याज तोकेको थियो । कृषि विकास बैंकले मंसिर महिनाका लागि ५.५३६३ प्रतिशत ब्याज कायम गरेको छ । कात्तिक महिनामा यो बैंकको यस्तो ब्याज ५.७५६ प्रतिशत रहेको थियो ।
मंसिर महिनामा सिटिजन्स बैंकले व्यक्तिगत मुद्दती खातामा ५.६५ प्रतिशत ब्याज निर्धारण गरेको छ । कात्तिक महिनामा यो बैंकले ५.७५ प्रतिशत ब्याज निर्धाण गरेको थियो । त्यस्तै कुमारी बैंकले मंसिर महिनाका लागि ५.९१ प्रतिशत ब्याज निर्धारण गरेको छ । त्यस्तै नेपाल बैंकले ५.९५ प्रतिशत, सिद्धार्थ बैंकले ६ प्रतिशत, नेपाल एसबीआई बैंकले ६ प्रतिशत, एभरेष्ट बैंकले ६ प्रतिशत, प्रभु बैंकले ६.१ प्रतिशत, हिमालयन बैंकले ६.२५ प्रतिशत र नेपाल इनभेस्टमेन्ट मेघा बैंकले ६.५ प्रतिशत ब्याज निर्धारण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्