Skip to content
Prabhu

बाढीपहिरोको क्षति : सम्पत्ति बीमाको सबैभन्दा बढी दाबी भुक्तानी

nabil

काठमाडौं । गत असोजको दोस्रो साताको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट अर्बौँको क्षति भयो । दसैँको मुखैमा आएको बाढीका कारण पुगेको क्षतिको बीमा दाबी मात्रै पौने १२ अर्ब परेको छ ।

१४ वटा निर्जीवन बीमा र ३ वटा लघु निर्जीवन बीमा कम्पनीहरुमा उक्त रकमबराबरको दाबी परेको नेपाल बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ । प्राधिकरणका अनुसार कात्तिक २८ गतेसम्ममा ३ हजार ४१८ वटा दाबी परेका छन् । ती दाबीको कम्पनीहरुले ११ अर्ब ८२ करोड ६ लाख रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने भएको छ । कम्पनीहरुले हालसम्ममा ९०२ वटा दाबीको ६१ करोड ७ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।

प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा बढी दाबी सम्पत्ति बीमामा परेको छ । सम्पत्ति बीमामा १ हजार ६५३ वटा दाबीको ८ अर्ब ७५ करोड ८७ लाख रुपैयाँ बराबरको रकम कम्पनीहरुले भुक्तानी गर्नु पर्ने भएको छ । कम्पनीहरुमा दाबी बढी परेको सम्पत्ति बीमाको भुक्तानी पनि सबै भन्दा बढी भएको छ । हालसम्म सम्पत्ति बीमातर्फ कम्पनीहरुले ३९८ वटा दाबीको ४६ करोड ७० लाख रुपैयाँ भुक्तानी गरिसकेका छन् ।

यसैगरी धेरै दाबी पर्नेको दोस्रोमा इन्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ ३०६ वटा दाबीको २ अर्ब ४३ करोड ३ लाख रुपैयाँ दाबी परेको छ । यो शीर्षकमा कम्पनीहरुले हालसम्म कम्पनीहरुले ३८ वटा दाबीको ३ करोड ११ लाख रुपैयाँमात्रै भुक्तानी गरेका छन् ।

यसैगरी मोटर बीमा (निजी)तर्फ ८८७ वटा र मोटर बीमा (सार्वजनिक)तर्फ ३५० वटा दाबी परेको । कम्पनीहरुले निजी तर्फ ३७ करोड ७९ लाख र सार्वजनिक तर्फ २० करोड ५१ लाख रुपैयाँ भुक्तानी गर्नु पर्ने देखिन्छ । हालसम्म कम्पनीहरुले निजी तर्फ २८० वटा दाबीको ६ करोड १६ लाख र सार्वजनिक तर्फ ९१ वटा दाबीको ४ करोड ३० लाख रुपैयाँ भुक्तानी गरेका छन्

प्राधिकरणको तथ्यांकअनुसार हालसम्म सामुद्रिक बीमातर्फ कम्पनीहरुमा २२ वटा दाबीको १ करोड ३७ लाख रुपैयाँ दाबी परेको छ । त्यस्तै कृषि बाली बीमातर्फ १३१ वटा दाबीबाट १ करोड १२ लाख रुपैयाँको दाबी परेको छ । त्यस्तै पशुपन्छी बीमातर्फ ५१ दाबीको १ करोड ६८ लाख रुपैयाँ र विविधतर्फ २० वटा दाबीको ६५ लाख ५२ हजार रुपैयाँ दाबी परेको छ । हालसम्म कम्पनीहरुले सामुद्रिक बीमातर्फ २ वटा दाबीको ७ लाख २१ हजार रुपैयाँ, कृषि बीमातर्फ ६५ वटा दाबीको २८ लाख ४० हजार रुपैयाँ, पशुपन्छी बीमातर्फ २१ वटा दाबीको २४ लाख ९२ हजार रुपैयाँ र विविधतर्फ ७ वटाको १८ लाख १२ हजार रुपैयाँ भुक्तानी गरेका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal