काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले चार अर्बभन्दा बढीको दाबी भुक्तानी गरेका छन् । कम्पनीलेहरुले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणअनुसार निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब २४ करोड ११ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन् ।
१४ वटा निर्जीवन बीमा कम्पनीहरुले असोज मसान्तसम्मा आफ्ना बिमितहरुलाई उक्त रकम बराबरको दाबी भुक्तानी गरेका हुन्। चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा निर्जीवन बीमा कम्पनीले गरेको दाबी भुक्तानी गत आवको सोही अवधिको भन्दा १८.६९ प्रतिशतले कम हो । गत आवको सुरुको तीन महिनामा निर्जीवन बीमा कम्पनीहरुले ५ अर्ब २१ करोड ६२ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेका थिए ।
असोज मसान्तसम्मको अवधिमा ५ वटा निर्जीवन बीमा कम्पनीहरुको मात्र बीमा दाबी भुक्तानी बढेको छ । अन्य कम्पनीको दाबी भुक्तानी घटेको तथ्यांकले देखाएको छ । समीक्षा अवधिमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले सबैभन्दा बढी दाबी भुक्तानी गरेको छ । यो कम्पनीले तीन महिनाको अवधिमा ६७ करोड २७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो गत आवको सोही अवधिको भन्दा ५१.७० प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा कम्पनीले ४४ करोड ३४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।
त्यस्तै, शिखर इन्स्योरेन्सले यस अवधिमा ६४ करोड ४४ लाख रुपैयाँ बराबरको कुल बीमा दाबी भुक्तानी गरेको छ । यो गत आवको सोही अवधिको भन्दा ३१.६७ प्रतिशतले धेरै हो । गत आवको पहिलो तीन महिनाको अवधिमा यो कम्पनीले ४८ करोड ९४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।
पछिल्लो समय यो कम्पनीले छिटो र छरितो रुपमा दाबी भुक्तानी गर्ने कम्पनीको परिचय समेत स्थापीत गरिरहेको छ । बाढी पहिरो पीडितका लागि पनि यो कम्पनीले अन्य कम्पनीको तुलनामा छिटो दाबी भुक्तानी गरिरहेको छ ।
त्यस्तै यो अवधिमा द ओरियन्टल इन्स्योरेन्सले आफ्ना बिमितलाई १८ करोड ८६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ३०.९१ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा यो कम्पनीले १४ करोड ४० लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको थियो । त्यस्तै चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा दाबी भुक्तानी बढाएको कम्पनी हो नेपाल इन्स्योरेन्स ।
यो कम्पनीले गत आवको सोही अवधिको तुलनामा १६.३२ प्रतिशतले बढेको छ । यो कम्पनीले गत आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा ११ करोड ४७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो भने चालु आवको पहिलो त्रैमासिकसम्ममा १३ करोड ३४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
यो अवधिमा नेको इन्स्योरेन्सले ३२ करोड १० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो गत आवको सोही अवधिको भन्दा ९.६१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीको यस्तो दाबी भुक्तानी २९ करोड २८ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा दाबी भुक्तानीमा सबैभन्दा धेरै गिरावट युनाइटेड अजोड इन्स्योरेन्सको छ ।
यो कम्पनीको दाबी भुक्तानी गत आवको भन्दा ५६.५४ प्रतिशतले कमी देखिएको छ । यो कम्पनीले गत आवको तीन महिनामा ८० करोड ३५ लाख रुपैयाँ दाबी भुक्तानी दिएको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीले जम्मा ३४ करोड ९२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
त्यस्तै दाबी भुक्तानीमा धेरै गिरावट आएको कम्पनीको दोस्रो नम्बरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको छ । यो कम्पनीको दाबी भुक्तानीमा ५२.१० प्रतिशतको गिरावट आएको छ । कम्पनीले गत आवको असोज मसान्तसम्ममा ९३ करोड ७८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो भने चालु आवको सोही अवधिमा ४४ करोड ९२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा नेसनल इन्स्योरेन्सले १६ करोड ९० लाख रुपैयाँ रुपैयाँ दाबी भुक्तानी गरेको छ । यो गत आवको सोही अवधिको भन्दा ३९.९९ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा यो कम्पनीले २८ करोड १६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।
त्यस्तै, यो अवस्थामा हिमालय एभेरेष्ट इन्स्योरेन्सको दाबी भुक्तानी ३६.२० प्रतिशतले घटेको छ । गत आवको सुरुको तीन महिनामा यो कम्पनीले ३८ करोड २२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो भने चालु आवको सोही अवधिमा २४ करोड ३८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
सानिमा जिआइसी इन्स्योरेन्सको १५ करोड २ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा यो कम्पनीले १९ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी दिएको थियो । चालु आवको पहिलो त्रैमासिकको अवधिमा यो कम्पनीको दाबी भुक्तानी २४.२३ प्रतिशतले घटेको छ ।
त्यस्तै, यो अवधिमा प्रभु इन्स्योरेन्सको दाबी भुक्तानीमा ३६.१९ प्रतिशतले कमी आएको छ । यो कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा १४ करोड ८५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो भने चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ९ करोड ४७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
त्यस्तै सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीले यो अवधिमा ४ करोड ८७ लाख रुपैयाँको कुल बीमा दावी भुक्तानी गरेको छ । यो गत आवको सोही अवधिको भन्दा २०.९५ प्रतिशतले कम हो । यो कम्पनीले गत आवको सोही अवधिमा ६ करोड १६ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको थियो ।
यस अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४२ करोड १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १६.८४ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा यो कम्पनीले ५० करोड ६३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । यो अवधिमा एनएलजी इन्स्योरेन्सले ३५ करोड ४७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
यो गत आवको भन्दा १३.८८ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा यो कम्प्नीले ४१ करोड १८ लाख रुपैयाँ दाबी भुक्तानी दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्