Skip to content
Prabhu

कन्ट्री रेटिङबाट प्राप्त ‘बीबी माइनस ग्रेड’ सञ्जिवनी बुटी बन्छ : सिबिफिन

nabil

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालले नेपालको पहिलो सार्वभौम साख मूल्यांकनमा प्राप्त बीबी माइनसको ग्रेड नेपालका लागि सञ्जिवनी बुटी बन्ने बताएको छ । रेटिङप्रति आफ्नो धारण राख्दै सिबिफिनले अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच रेटिङ’ ले गरेको सोभरेन क्रेडिट रेटिङमा सन्तोषजनक नतिजा प्राप्त गरेकोमा आफू उत्साहित भएको बताएको हो ।

‘दक्षिण एशियाका अन्य मुलुकहरुमध्ये छिमेकी मित्रराष्ट्र भारतभन्दा पछिको दोस्रो उच्च सार्वभौम साख मूल्यांकनको प्राप्तिले नेपालको साख र विश्वसनीयता बढाएको मात्र छैन,’ परिसंघको भनाइ छ, ‘यसले अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल सुरक्षित, विश्वसनीय र भरपर्दो स्थान भएको प्रमाणित समेत गरेको छ ।’

मुलुकको अर्थतन्त्रका बाह्य सूचकहरु निकै बलियो स्थितिमा रहेको, पर्याप्त तरलतासहित न्यून ब्याजदर कायम हुँदाहुँदै पनि अपेक्षितरुपमा लगानी÷कर्जा विस्तार हुन नसकि आर्थिक गतिविधिहरुले तीव्रता लिन नसकिरहेको वर्तमान सन्दर्भमा भएको यस मूल्यांकनले समग्र निजी क्षेत्रमा समेत विश्वासको वातावरण सिर्जना गरेको र लगानी विस्तार, कर्जा प्रवाह तथा पूँजी परिचालनको लागि ठूलो अवसर पनि बनाएको सिबिफिनको बुझाइ छ ।

त्यसैगरी यस मूल्यांकनले बैंक÷वित्तीय संस्थाहरूलाई बाह्य जगतबाट सहुलियत दरमा ऋण ल्याउन, पुनर्बिमा कम्पनीले अन्य देशमा व्यवसाय विस्तार गर्न, धितोपत्र बजारलाई अन्तर्राष्ट्रियकरण गर्न, विदेशी बजारमा ऋण लिन÷ऋणपत्र बिक्री गरी वित्तीय साधन जुटाउनका लागि सञ्जिवनी बुटीको कार्य गर्ने सिबिफिनले विश्वास लिएको छ ।

नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भई विकासशील राष्ट्रमा दर्ज हुँदै गरेको सन्दर्भमा साख मूल्यांकनको क्रममा देखिएका कमीकमजोरीहरुलाई तत्काल सुधार तथा स्तरोन्नतिसहित मौजुदा नीति तथा वातावरणलाई अझ सहज एवं अनुकूल बनाउन, समग्र निजी क्षेत्रलाई साथमा लिएर मुलुकलाई लगानी केन्द्रको रुपमा स्थापित गर्न र दिगो एवं फराकिलो आर्थिक एवं बैंकिङ विकाससहित आर्थिक समृद्धिको नवीन यात्रा प्रारम्भ हुने अपेक्षा सिबिफिनको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal