काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रका शिक्षित युवालाई ‘डिजिटल’ सीप प्रदान गरी स्वदेशमा नै सूचना प्रविधिका क्षेत्रमा रोजगारीका अवसर प्राप्त गर्न सक्ने वातावरण तयार गर्ने नीति लिएको छ । सोही नीतिलाई कार्यान्वयन गर्न नगरपालिकाले पहिलोपटक सोमबारदेखि डिजिटल तालिम सुरुआत गरेको छ ।
नगरपालिकाले रोजगार सेवा केन्द्र समन्वयमा पहिलोपटक सञ्चालित सो तालिममा करिब ९० दिन सहभागीले आफूअनुकूल दैनिक तीन घण्टा सूचना प्रविधिका विभिन्न ११ आयाम (मोलड)का बारेमा ज्ञान हासिल गर्नेछन् ।
‘स्किल ल्याब’को सहयोगमा सञ्चालित सो तालिममा नगरका १५ वटै वडाका ५० युवा सहभागी छन् । तालिमपछि सोही संस्थाले तालिमका सहभागीलाई रोजगारीका लागि विदेशी संस्थासँग समन्वय गरिदिने जनाइएको छ ।
सीप र रोजगारीलाई जोड्ने सो तालिमपश्चात सहभागीले स्वदेशमै बसेर सूचना प्रविधिसम्बन्धी काम गर्न सक्ने जनाइएको छ । पछिल्लो समय नगरपालिकाले युवालाई विभिन्न क्षेत्रमा स्वदेशमा नै रोजगारीका अवसर प्राप्त गर्न सक्ने वातावरण तयार गर्न आवश्यक सीप मूलक तालिम, प्रशिक्षण तथा अन्य कार्यक्रम उच्च प्राथमिकता दिँदै आएको छ ।
सोमबार आयोजित तालिमको शुभारम्भ गर्दै चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाको सेवालाई क्रमशः प्रविधिमैत्री बनाउँदै लैजाने नीति नगरपालिकाको रहेको जानकारी दिए । उनले भने, ‘स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्न नगरपालिकाले युवा केन्द्रित कार्यक्रम, प्रशिक्षण तथा तालिम सञ्चालन गरिहेको छ ।’
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले नगरपालिकाले सञ्चालित रोजगारमूलक तालिमपछिको आबद्धता बढाउन पहिलोपटक डिजिटल तालिम सुरुआत गरेको र यसले सीप र रोजगारीलाई एकापसमा जोड्ने बताए । उनले भने, ‘डिजिटल तालिमपछि स्वदेशमा नै बसेर काम गर्न सक्ने रोजगारी प्राप्त हुने हुँदा नगरपालिकाले यस्ता तालिमलाई उच्च महत्व दिइएको हो । सूचना प्रविधिका क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई तालिबाट पूर्ति गर्न पनि सहयोगसमेत मिल्छ । डिजिटल तालिमपछि सहभागीलाई रोजगारदातासंग कम्पनीसंग समन्वय पनि हु्ँदा यसको महत्व उच्च छ ।’
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गी, रोजगार सेवा केन्द्रका प्रमुख पुष्पराज शर्माले तालिमका महत्वका बारेमा जानकारी गराएका थिए।
प्रतिक्रिया दिनुहोस्