Skip to content
Prabhu

मौद्रिक नीतिको समीक्षा : पुँजी बजारमा न हर्ष न विष्मात

nabil

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको छ । केही रूपमा लचिलो भएर मौद्रिक नीति आउने अपेक्षा गरिएको भए पनि कुनै पनि परिवर्तन नगरेर मौद्रिक नीतिको पहिलो त्रैमासिकको समीक्षा सार्वजनिक भएको हो ।

पछिल्लो समय सेयर बजारका लगानीकर्ताहरुले मौद्रिक नीतिको समीक्षाले नीतिगत सुधारको अपेक्षा गरेका थिए । तर, राष्ट्र बैंकको नीतिमा कुनै पनि नयाँ कदम नचालेरै पुरानै व्यवस्थाअनुसार समीक्षा सार्वजनिक गरेको छ । लगानीकर्ताले केही सहज नीतिको अपेक्षा गरे पनि त्यसो नहुँदा सेयर बजारमा मौद्रिक नीतिको समीक्षाले खासै ठूलो असर पर्ने अवस्था नरहेको नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको भनाइ छ । ‘हामीले अपेक्षा गरेअनुसार केही पनि भएको छैन । त्यसैले हर्षबढाई गर्नुपर्ने पनि छैन् रोइकराई गर्नुपर्ने पनि अवस्था हैन्,’ उनले भनिन् ।

अहिलेको मौद्रिक नीतिको समीक्षाले बजारलाई कुनै पनि असर नगर्ने उनको भनाइ छ । व्यक्तिगत लगानीकर्ताका लागि कायम रहेको क्याप हट्ने आशा गरेको भए पनि त्यसो हनु नसकेको र समीक्षाले लगानीकर्ताको मनोबल बढाउन नसकेको उनको भनाइ छ । त्यस्तै मौद्रिक नीतिको समीक्षाले केही कुरा सम्बोधन गर्छ भनेर आस गरेका लगानीकर्ताहरु केही निराश भएर केही दिन बजार घटे पनि फेरि बजारले आफ्नो लय समात्ने उनको भनाइ छ । व्यवसायी, बैंकर्स र सेयर बजारका लगानीकर्ताले नीतिमा थप लचकता माग गरिरहे पनि केन्द्रीय बैंकले यथास्थितिमा चल्ने निर्णय गरेको हो ।

पहिलो त्रैमासिकको समीक्षाले लगानीकर्ताहरुमा हर्षन विष्मातको अवस्थामा रहेका नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेको भनाइ छ । ‘विगतमा पनि पहिलो तीन महिनाको अवधिमा खासै परिवर्तन हुने गरेको थिएन । यो वर्ष पनि त्यसले निरन्तर्ता पायो,’ उनले भने । केही सामान्य आशा गरिएको भए पनि लगानीकर्ताले यो समीक्षाबाट ठूलो आस नगरेको उनको भनाइ छ । मौद्रिक नीतिको समीक्षाले केही समयका लागि बजार घटबढ भए पनि खासै आतिनु पर्ने अवस्था नरहेको उनले बताए ।

शुक्रबार सार्वजनिक गरिएको त्रैमासिक समीक्षामा अर्थतन्त्रको मौजुदा अवस्था, विदेशी विनिमय सञ्चितिको स्थिति, र मुद्रास्फीतिको विश्लेषणका आधारमा सावधानीपूर्वक लचिलो कार्यदिशालाई निरन्तरता दिने उल्लेख गरेको भए पनि खासै ठूलो परिवर्तन केही पनि गरेको छैन । राष्ट्र बैंकले आफ्नो रणनीति मूल्य स्थिरता, बाह्य क्षेत्रको स्थायित्व, र आर्थिक गतिविधिको विस्तारलाई प्राथमिकतामा राख्दै सरकारको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा सघाउने उद्देश्यका साथ अघि बढाएको जनाएको छ।

समीक्षामा मौद्रिक नीतिका मुख्य दरहरू यथावत राखिएका छन् । नीतिगत दर ५ प्रतिशत, ब्याजदर करिडोरको तल्लो सीमा (निक्षेप संकलन दर) ३ प्रतिशत र माथिल्लो सीमा (बैंक दर) ६.५ प्रतिशत कायम गरिएको छ ।

त्यस्तै विदेशी विनिमय सञ्चिति असोज मसान्तसम्म १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । विप्रेषण आप्रवाहमा सुधार र वैदेशिक रोजगारीमा गएका श्रमिकको संख्यामा वृद्धि भइरहेकाले आगामी महिनाहरूमा पनि सञ्चिति सुदृढ हुने अपेक्षा राष्ट्र बैंकको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal